तनहुँको भागर गाउँकी शोभाले साउदी अरबमा मृत्युदण्ड पाएको ठीक २ वर्ष भयो । त्यतिबेला अनलाइन र पत्रपत्रिकामा उनीबारे अनेकन समाचारहरू आए । त्यसमा केही फिचरहरू समावेश थिए । त्यस्तै फिचरमा कारुणिक र दुःखका शब्द उनेर पत्रकार जनकराज सापकोटाले शोभाको घटनासहित अन्य ७ जनाको विषयलाई ‘कहर’मा उतारेका छन् ।
शोभाजस्ता थुप्रै प्रतिनिधि पात्रको नियति केलाइएको ‘कहर’ एक साताअघि काठमाडौंमा विमोचन भयो । विदेशमा रहेका नेपाली कामदारको अवस्था, नेपालको पारिवारिक विखण्डन, मृत्यु, घाइतेदेखि लिएर सामाजिक प्रभावलाई जिल्ला–जिल्ला पुगेर लेखिएको पुस्तक वैदेशिक रोजगारमा चासो राख्नेलाई उपयोगी छ । तर, एक पाटोका लागि मात्र । ‘कहर’ विशुद्ध वैदेशिक रोजगारीले पारेको नकारात्मक पाटोमा मात्र लेखिएको छ । यो पुस्तकमा वैदेशिक रोजगारीले पारेका सकारात्मक प्रभावलाई छोइएको छैन ।
