Pages

Sunday, April 6, 2014

बागलुङ: उदाउँदो सहर, गर्विलो जिल्ला

२०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।
दुई दशकमा बागलुङले मुहार मात्र फेरेको छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि, व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्।