Pages

Sunday, April 6, 2014

बागलुङ: उदाउँदो सहर, गर्विलो जिल्ला

२०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।
दुई दशकमा बागलुङले मुहार मात्र फेरेको छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि, व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्। 

जिल्लालाई मोटरबाटोले बाँकी देशसँग जोडेपछि स्थानीय अर्थतन्त्रको रुप फेरिएको साहित्यकार तथा अन्वेषक प्रेम छोटा बताउँछन्। अति विकट बागलुङलाई मोटरबाटोले जोडेपछि धेरै कुरा सहज भयो। मोटर आउनुअघि नै २०३८ सालमा स्थानीय काठेखोलाबाट बिजुली निकालेर बालेपछि बागलुङवासीले विकासको अनुभव गरेको छोटाको अनुभव छ। 'बिजुली र सडक नै विकासको आधार रहेछ, बिकट मानिएको जिल्लालाई त्यसपछि परिवर्तित आँखाले हेर्न थालियो,' उनले भने।
विकासले पाइला टेकेको २ दशकमै बागलुङले उदीयमान सहरको रुप लियो। २००८ सालमा हस्तलिखित पत्रिका सहीबाटो प्रकाशन भएको बागलुङ सदरमुकाममा अहिले ३ वटा दैनिक, त्यत्ति नै साप्ताहिक पत्रिका र ३ वटा एफएम छन्। गलकोटमा एउटा पत्रिका र एफएम छ। अलि बिकट खरवाङमा पनि एउटा एफएम छ। बुर्तिवाङमा २ वटा एफएम र एउटा पत्रिकाले स्थानीयलाई सुसूचित गराइरहेका छन्। २०४० सालततिर बागलुङमा भूतपूर्व भारतीय लाहुरेलाई पेन्सन बाँड्न आएका भारतीय सेनाका कर्णेल डानियलको प्रयासमा डिस एन्टेना राखेर टिभी हेरेका बागलुङवासी अहिले केबल र डिटिएचमार्फत विश्व गतिविधिमा अपडेट हुन्छन्। सदरमुकाममा खुलेको धवलागिरि टेलिभिजन च्यानलमार्फत स्थानीय खबर र मनोरञ्जन लिन्छन्।
२०२८ सालमै धौलाश्री साप्ताहिक प्रकाशन गरेका विदुर खड्का भन्छन्, 'विकट बागलुङलाई विकासले घेर्दै छ। देशका अरु सहरमा पहिला विकास पुगे पनि बागलुङ तिनलाई आत्मसात गर्दै स्थापित हुँदैछ।' उनको भनाइमा अञ्चल सदरमुकाम र पोखरा नजिक भएकाले हरेक विकास बागलुङले छिटो पाउने गरेको छ।
बागलुङबासीलाई २ दर्जन बैंकले सेवा दिइरहेका छन्। आधुनिक बैंकहरु ग्रामीण क्षेत्रमा पनि पुगेका छन्। २०४६ सालमा पर्यटकलक्षित होटल हिलभ्यू खुलेको बागलुङमा अहिले २ सय होटल छन्।
२०१७ सालमा पाल्पाबाट आएका २ जना कम्पाउन्डरले स्वास्थ्य सेवा दिएको यो ठाउँमा २००७ सालमा अमेरिकी डाक्टर आएर स्वास्थ्य शिविर राखेर सेवा दिएका थिए। बागलुङमा २०१७ सालतिरै डा. सच्चेकुमार पहाडीले पहिलो डक्टरको रुपमा सेवा दिएका थिए। त्यसपछि डा. राघवप्रसाद धितालले २०३४ सालतिर स्वास्थ्य क्षेत्रमा सम्झनयोग्य सेवा दिएको स्थानीय बताउँछन्। सदरमुकाममा अहिले २२ चिकित्सकसहित सय शैऒ्ढयाको सुविधासम्पन्न अञ्चल अस्पताल छ। निजी अस्पताल, पोलिक्लिनिक र औषधी पसल पनि खुलिरहेका छन्।
१९९८ सालमा गुल्मीबाट आएका कृष्णप्रसादले स्थानीय ३४ युवालाई पढाएको साहित्यकार प्रेम छोटा बताउँछन्। 'शिक्षामा त्यसअघि नै बागलुङ अगाडि थियो,' उनले भने। १९७६ पुस ९ गते सरकारी भाषा पाठशाला खुलेको थियो। विद्यामन्दिर हाइस्कुल १९९७ मा खुलेपछि शिक्षाको पहुँच बढ्यो। संस्थागत रुपमा २००३ सालमा विद्यामन्दिर पुस्तकालय खुलेपछि धेरैले शिक्षामा अवसर पाए। बागलुङको शिक्षा क्षेत्रमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नाम सबैले सम्झने छोटाको भनाइ छ। २०१९ साल भदौ २ गते महेन्द्र क्याम्पस खुलेपछि उच्च शिक्षा पनि सहज भयो। अहिले दर्जनौं कलेज र निजी विद्यालय छन्।
'भानुभक्तअघिका कवि वीरशाली पन्तको जन्म भएकाले जिल्ला साहित्यिक क्षेत्रमा पनि अगाडि छ,' छोटाले भने। मोतिमण्डलीमा बसेका लक्ष्मीदत्त पन्त 'इन्दु'देखि थुप्रै साहित्यकार बागलुङले जन्माएको छ। अहिलेसम्ममा बागलुङले सय हाराहारी कृतिकार जन्माइसकेको छोटाले जानकारी दिए।
२००७ सालअघि यसको प्रशासनिक र आर्थिक केन्द्र पाल्पा थियो। २००८ साल फागुन ७ गते पाल्पाबाट मुक्ति पाएपछि स्वायत्त बनेको बागलुङ अहिले आफैं आर्थिक केन्द्र बनेको अधिवक्ता काजी गाउँले श्रेष्ठ बताउँछन्। यहाँको आर्थिक कारोबार राजधानीदेखि पोखरा, वीरगन्ज, बुटवल, भैरहवा र भारतसम्म फैलिएको छ। 'बागलुङ बजारबाट धवलागिरिका विभिन्न जिल्ला र गाउँमा सामान पुग्ने र कारोबार हुने क्रम बढ्दो छ,' उनले भने। बागलुङे अर्थतन्त्रको आधार रेमिटेन्स, कृषि, व्यापार, पशुपालन र जागिर रहेको उनले बताए।
श्रेष्ठ प्रथम विश्वयुद्ध समाप्त हुनुअघिनै बागलुङ आर्थिक केन्द्र रहेको बताउँछन्। विसं. १९०० तिरे बागलुङचौरले हटिया बजारको रुप लिइसकेको थियो। १९५३ अघि नै बागलुङचौरमा भन्सार रहेको देखिँदा यो उतिबेलै व्यापारिक केन्द्र रहेको देखिन्छ। '२०१६ सालअघिसम्म कालिगण्डकी किनार हुँदै भोट र मधेसको व्यापार हुन्थ्यो। तिब्बतबाट डोल्पा हुँदै नुन आउँथ्यो। बागलुङबाट अनाज तिब्बत जान्थ्यो,' श्रष्ठले भने। मुस्ताङको दाना र टुकुचे वस्तु विनिमयको केन्द्र थियो भने त्यसको शाखाको रुपमा बागलुङमा काम हुन्थ्यो।
बागलुङ अञ्चलकै सदरमुकाम भएकाले यहाँ तीव्र रुपमा विकासका खाका कोरिँदै छन्। सम्भावना प्रशस्त छ। बागलुङको पर्याय धेरै छ। त्यसैले भनिन्छ, 'बागलुङ भाग्यमानी छ।' सुन्दर पहाडी जिल्ला बागलुङको पहिचान थपिँदै र अग्लिँदै छ। नेपालको नक्सासँग मिल्ने यसलाई नेपालभित्रको सानो नेपाल पनि भन्ने गरिन्छ। करिब ३ लाख जनसंख्या रहेको बागलुङको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किलोमिटर छ।
यसलाई झोलंुगे पुलको जिल्ला पनि भनिन्छ। सदरमुकाम र आसपासका गाउँ जोड्ने अग्लोदेखि बलेवा र पर्वतको कुस्मा जोड्ने यान्त्रिक पुल यहीँ छ। पर्वतको पाङ र बागलुङको रामरेखा जोड्न अर्को अग्लो पुल बनाउन सर्वेक्षण भइरहेको छ। बजारदेखि भकुण्डेसम्म केबलकार निर्माण गर्ने सोच अघि आएको छ। बुट्टे नली पनि जिल्लाको पहिचान हो। लघु जलविद्युत निर्माण धेरै भएको बागलुङले गाउँमा लघुजलविद्युत उत्पादन गर्दै सहरलाई उज्यालो बेचिरहेको छ। शालिग्राम जिल्लालाई दुई वर्षअघि देशकै सफा र सुन्दर सहर घोषणा गरिएको थियो।
यहाँ दर्जनभन्दा बढी प्रख्यात धार्मिकस्थल छन्। सदरमुकामको कालिका भगवती मन्दिर, अमलाचौरको भैरवथान, कुश्मिशेराको जमिनीश्वर, बोबाङको ढोरपाटनताल बराह, विहँुको रामकोट मन्दिर, कुँडुलेको तिरुपति बालाजी, सर्कुवा र जैदीको थन्थापी माई, देविस्थान गाविसको देविस्थान, तित्याङको शिवालय, बाटाकाचौरको सत्यवती, राजकुतको नृसिंह, घुम्टेको सिद्देश्वर मन्दिरका साथै सदरमुकामको ज्ञानोदर बुद्ध विहार र निरहेघाटको जंगेश्वर मन्दिर यहाँका प्रमुख धार्मिक गन्तव्य हुन्।
 
धार्मिक रुपमा जति धनी छ बागलुङ त्योभन्दा धनी प्राकृतिक सुन्दरतामा पनि छ । यहाँको सुन्दरताले जसको पनि मन लोभ्याउँछ । मनै लठिठ्ने प्राकृतिक सुन्दरतालाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गराउने खोजिरहेका छन बागलुङवासीहरु

प्राकृतिक सुन्दरताले भरिएका पर्यटकिय स्थल जहाँ अथाह सम्भावना छ त्यसलाई उजागर गर्ने बागलुङ लागिपरेको छ । सदरमुकामसँगैको भकुण्डे गाउँदेखी ३६ कोष टाढा ढोरपाटन शिकार आरक्षसम्म पर्यटनमा व्यापक सम्भावना छ । त्यस्तै दमेकमा पर्ने गाजाको दह तथा धुरी, ४ कोष उत्तरपश्चिममा रहेको संसारकोट, जैदीको हाडीकोट धुरी, पैयुपाटाको पाञ्जाकोट धुरी, ग्वालीचौरको चमरे गुफा, हरिचौर, हिल र पाण्डवखानीको विचको घुम्टेको लेक, रणसिंहकिटेनी र पाण्डवखानीको शिवधुरी, रणसिंहकिटेनी, पाण्डवखानी, सिसाखानी, र मल्लको विचमा रहेको लोङाको धुरी,बोबाङ्गको फागुने धुरी, भिमपोखराको थाप्लेको धुरी, विहुँको घोडाबाँधे बागलुङ जिल्लाका पर्यटकिय क्षेत्र तथा प्राकृतिक सुन्दरताले भरिएका स्थानहरु हुन् ।
ग्रामीण भेगको सोरठी, सिस्नो खोस्ने, मारुनी र थाली नाचदेखि सहरको जोगी, सिकारी, भदौरे, नागनागिना, घोडे, कटुवाल, हनुमान र बास्सा नाँचले सांस्कृतिक पक्षको महŒव बढाएको छ। सालैजो, यानीमाया, लालुमायै, हाइगोरी, झाम्रे, रेलिमाई, निरमाया ठूली, सुनमयाँली, बारुलै, रेरेरे साँहिलो, नामी रलै, नैना रेशम, तिम्लाई मालुम छैन थेगोका लोकसंगीतले पनि बागलुङ सांस्कृतिक पक्षमा धनी रहेको पुष्टि गर्छ। झाम्रे गीतको उद्गमस्थल नै बागलुङ रहेको अन्वेषक प्रेम छोटा बताउँछन्। १८७४ मा बलेवा नेपानेका मनवीर खत्री र राङखानीका गोराया श्रीषले सर्वप्रथम झाम्रेगीत सुरु गरेको छोटाले बताए। 

धार्मिक, साँस्कृतिक, पर्यटकीय रुपमा जति धनी छ, बागलुङ स्थानीय उत्पादनमा पनि उस्तै छ। लोक्ताबाट बनेको नेपाली हाते कागजले देशविदेशमा ख्याति कमएको छ। ताराखोला, तमान, बुंगादोभानमा बन्ने हाते कागज अहिले विस्तारै अन्य गाउँमा फैलिएको छ। अमरभूमि, जलजलाबाट सुरु भएको बुट्टे नली अहिले सदरमुकाममा पनि बन्छ। गजाङ लौरोमा कलात्मक बुट्टा भरेर ख्याति कमाएपछि यो बागलुङको कोसेली भएको छ।
पाण्डवखानी, बुंगादोभान, निसी र रणसिंहकिटेनीमा बन्ने राडीपाखीको विदेशमा समेत माग छ। तारा, अर्गल, अमरभूमि, नरेठाँटी, हरिचौर, जैदी, रेस, निसी, मल्म, दमेकमा पाइने स्लेट ढुंगा जिल्लाबाहिर निर्यात हुन्छ। कुश्मिशेरा, अमलाचौरको कार्भिङ ढुंगाको माग उस्तै छ। बोबाङ, ताराखोलाको आलु सिंगापुर निर्यात हुन्छ। भुस्कात, ताराखोलामा उत्पादन हुने भाँगोले चट्नी/अचार पारखीलाई स्वाद पुर्या एको छ। खुंखानीमा रहेको तामाखानी, खुँगामा रहेको फलामखानी, सिसाखानी गाविसको सिसाखानी सम्भावनाका स्रोत हुन्। खर्वाङ, काडेवास, गलकोटका असला माछादेखि अर्गानिक उत्पादन च्याउ, टिमुर, सिस्नु, लसुन, सिमी, बोडी पनि जिल्लाका पहिचान हुन्। सोली, डाला, नाङ्लाका लागि उस्तै प्रख्यात छ बागलुङ।
युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म पुगेका युवाले पठाउने रेमिटेन्सले पनि बागलुङ चिनिँदै गएको छ। धेरै रेमिटेन्स आउने जिल्लामध्ये पर्ने बागलुङका धेरै गाउँ रेमिटेन्स भिलेजमा रुपान्तरण भएका छन्।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोर र पूर्व पाँचथरको चियोभन्ज्याङ र पश्चिम बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग बागलुङ हुँदै जाने हुँदा भविष्यमा 'ट्रान्जिट'मार्फत फड्को मार्ने ध्याउन्नमा यो सहर छ। 
 
कालिका भगवती मन्दिर र चैत्राष्टमी मेला
बागलुङ कालिका भगवती मन्दिर र चैत्राष्टमी मेलाको आफ्नै इतिहास छ । बागलुङ भगवती मन्दिर विं.सं. १५९१ सालमा स्थापना भएको पाइन्छ । सो समयमा पाल्लाका राजा मणीमुकुन्द सेनले आफ्नी राजकुमारी पर्वतका पाँचौ राजा प्रतापीनारायण मल्लसँग विवाह गरी दिएपछि दाइजोको रुपमा राजकुमारीको साथमा ल्याइएको महाकाली,महालक्ष्मी र महासरस्वतीको मूर्ति बागलुङको कालिगण्डकी र काठेखोलाको दोभानमाथीको प्राकृतिक थुम्कोको जंगलको विचमा स्थापित गरिएको पाइन्छ । त्यस मूर्तिको निम्ती राजा प्रतापीनारायण मल्लले गुठी सञ्चालनको व्यवस्था गरेको इतिहास भएको प्राज्ञ प्रेम छोटा बताउँछन् । त्यसवेलादेखी नै बागलुङमा चैत्राष्टमी मेला सुरुवात भएको देखिन्छ । यसरी हेर्दा चैत्राष्टमी पर्वको सुरुवात ४ सय ७७ बर्षअघि देखी भएको पाइन्छ ।

स्वतस्फूर्त रुपमा बागलुङ कालिकामा लाग्ने चैत्राष्टमी मेला विगतमा १५ दिनसम्म लाग्ने गथ्र्याे छोटा भन्छन् ।  मेलामा भारतदेखी तिब्बतसम्मका व्यापारी पनि व्यापार गर्ने आउथ्यो । यसबाहेक नेपालका हुम्ला, जुम्ला,रुकुमका स्थानिय उत्पादनदेखी बुटवल, पाल्पा,काठमाण्डौं, पोखराका व्यापारीहरु पनि आफ्नो उत्पादनलाई विक्री गर्ने चैत्राष्टमी मेलाको अवसर छोप्ने गरेको पाइन्छ । व्यापारबाहेक विभिन्न थेगोका लोकगीत र लोकनृत्यले पनि चैत्राष्टमी मेलालाई ठूलो महिमा र महत्व बढाएको पाइन्छ तर पछिल्लो समय चैत्राष्टमी मेला व्यवस्थित नहुँदा रौनक हराउने सम्भावना रहेपछि बागलुङ उद्योग बाणिज्य संघको पहलमा चैत्राष्टमी मेला व्यवस्थित बन्दै महोत्सवमा अनुवाद हुँदै आएको पनि छ । अहिले त कालिका भगवती गुठीले छुट्टै चैत्राष्टमी मेला पनि गरेको छ ।
 

No comments:

Post a Comment