भनिन्छ, अहिलेको बजार निर्दयी छ । तर, के पनि सत्य हो भने बजारमा अहिले सबैभन्दा धेरै र पहिले आँसु बिक्री भइरहेको छ । कम्तीमा पनि नेपाली साहित्यका लागि यो प्रमाणित सत्य मान्न सकिन्छ । यस्तो किन पनि भने अहिले साहित्यमा दु:ख र करुणामाथि लेखिएका पुस्तकको संख्या बढ्दो छ । यही ‘ट्रेन्ड’मा थपिएको छ उपन्यास– मुदिर ।
अहिले आप्रवासी कामदारको हक र अधिकारबारे विश्वभर बहस भइरहेका छन् । वैदेशिक रोजगारीले अर्थतन्त्र, समाज र संस्कृतिमा पारेको प्रभावबारे छलफल भइरहेका छन् । यीसँगै रेमिट्यान्टसको मुद्दा पनि बलियो भएर आएको छ । नेपाल पनि यी मुद्दा र विषयबाट अछुत रहन सकेको छैन । वैदेशिक रोजगारीको एउटा पाटो रेमिट्यान्स भए पनि विदेशमा काम गर्न पुगेका कामदारका समस्या आफ्नै ठाउँमा छन् । यिनै विषयमा केन्द्रित युवाहरूको कथा हो– मुदिर । र, अरबी भाषामा मुदिरको अर्थ हुन्छ– मालिक ।