सिनेमा आँखा र कान दुवैका लागि हो । दृश्यात्मक भाषा ध्वनीका माध्यमबाट चेतनामा पसेन भने त्यसले सायदै सार्थकता ल्याउँला । तर, यतिखेर सहरका पर्दामा चलिरहेको चलचित्र मौन त्यस्तो चलचित्र हो जसमा लिड रोलमा नै रहेका पात्रहरु चुपचाप छन् । सिनेमाको शिर्षकलाई सार्थकता प्रदान गर्ने होइन कथालाई न्याय दिन जुराइएको मौनले चलचित्रको मौनतालाई त्यतिखेर भंग गर्छ जतिखेर ठिक उल्टो दर्शक सोचिरहेका हुन्छन् ।
प्रेमको अभिव्यक्ति कुन भाषामा सरल रुपमा बुझिन्छ ? मौनले दर्शाउँछ – सांकेतिक भाषा । सिनेमाको आफ्नै व्याकरण होला तर मौनभित्रको सांकेतिक भाषामा प्रेमको अभिव्यक्तिले संकेत भाषाको व्याकरणलाई पनि फराकिलो बनाएको छ । हो, पहिलो कारण यही हो मौन हेर्नुपर्ने कि नेपाली सिनेमामा नयाँ विषय, नयाँ प्रयोग संकेतको भाषा जुन विश्वव्यापी बुझिन्छ ।
अमन पात्रको रुपमा रहेका अर्पण थापा र बर्षा पात्रको रुपमा रहेकी नम्रता श्रेष्ठ सिनेमाको मुख्य अभिनयमा रहेका छन् । आफ्नो अभिव्यक्ति व्यक्त गर्ने नसक्ने र सुन्न पनि नसक्ने यी दुई पात्र सिनेमामा संवाद नगर्दा सिनेमा खल्लो लाग्न सक्छ । भनिन्छ, सिनेमाको पहिलो ५ मिनेटसम्म बाँध्यो भने अन्तिमसम्म बाँध्न सक्छ तर मौनले पहिलो १५ मिनेटसम्म पनि बाँध्न सक्दैन कतिखेर संवाद सुन्न पाइन्छ भनेर अत्यार लाग्न सक्छ तर त्यसपछि दर्शकले यति मनोरञ्जन लिन्छन् की फिल्मी डायलग गौण लाग्छ । हलिउड सिनेमा द आर्टिस्ट र बलिउड सिनेमा बर्फिको धुमिल या ताजा स्मरण गर्नेलाई पनि मौनले नविनता प्रदान गर्दछ । कतिपय अवस्थामा अभिनयलाई संंवादले जिवन्त प्रदान गर्दछ । अभिनयको हिस्सा बन्छ संवाद तर बिना संवादको अभिनयमा जमेका छन् अर्पण र नम्रता । त्यसैले अर्काे कारण हो मौन हेर्नुपर्ने की म्युट पात्रको जोडदार अभिनय ।