Pages

Sunday, September 7, 2014

मलेसियामा मरेतुल्य ! (तस्विर र भिडियोसहित)

अध्यागमन पार गरेर मलेसिया जान तयारी अवस्थामा रहेका नेपाली कामदार
 नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको मलेसियामा अहिले दैनिक तीन सय नेपाली जाने गरेका छन् । त्यहाँ नेपाली कामदारले भोग्ने समस्या हुन्– गलत कम्पनी, कम तलब र फरक काम । अपमान र शोषणको त कुनै हिसाब छैन । कामदारहरू गाउँदेखि ठगिइन थाल्छन्, राजधानीमा पनि ठगिइन्छन् । र, मलेसियामा पनि ठगिइन्छन् । त्यो पनि नेपाली एजेन्टबाटै । मलेसिया पुगेर फर्केपछिको रिपोर्ट

‘ए मलेसिया...’ हातमा हरियो पासपोर्ट र टिकट समातेका सुर्खेतका जगत शाहीलाई नेपालको अध्यागमनका कर्मचारीले लाइनमा बोलाए । रोजगारीको लागि मलेसिया जान लागेका शाही गत बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका थिए ।
मलेसियामा सम्झौताअनुसार काम र तलब नदिएपछि कम्पनी छोडेर भाग्ने कामदार बढ्दै गएकाले अवैधानिक बनेका कामदारलाई कोपरासी मलेसिया र नेपाली दूतावासले नेपाल फिर्ता पठाउन दैनिक तीन सय जनाको ट्राभल डकुमेन्ट बनाइरहेको समयमा नेपालबाट एयर एसियाको विमानमा तीन सयभन्दा बढी कामदार मलेसिया हानिँदै थिए ।
सुर्खेतका जगत शाही
पहिलो पटक विदेश जान लागेका २० वर्र्षीय शाहीले नेपालमा म्यानपावरलाई डेढ लाख रुपैयाँ बुझाएका थिए । गन्तव्य मुलुकमा जानुपूर्व नै उनलाई नरमाइलो लाग्यो । अध्यागमनका कर्मचारीले ‘मलेसिया’ भनेर सम्बोधन गर्दा । प्लेनको सिटमा संवाददातासँगै परेका शाहीले भने, ‘ए भाइ भने पनि हुने नि । तपाईं नै भन्नुपर्छ भन्ने छैन । कस्तो हेपेर बोलेको ।’ उनको मुहारमा खिन्नता थियो । उड्नलाई तयारी भएको प्लेनमा ‘दाइ मेरोमा ब्यालेन्स छैन’ भन्दै मोबाइल मागे । ‘बा म उडँे है, उता पुगेपछि फोन गर्छु’ उनले आफ्ना घर फोन गरे ।
नेपाली कामदारको लागि पहिलो गन्तव्य बनेको मलेसियामा अहिले दैनिक दुई सयदेखि तीन सय नेपाली कामदार जाने गरेका छन् । श्रम सम्झौताको तयारी रहेको मुलुकमा नेपाली कामदारले सेवा सुविधा नपाउने, नेपाल र मलेसिया दुवै देशका कम्पनी र एजेन्टबाट ठगिने गरेको व्यापक गुनासोसमेत आइरहेको छ । सम्झौताअनुसार काम र तलब नहुँदा दैनिक सयको हाराहारीमा कामदारले कम्पनी छोड्ने र अवैधानिक रूपमा बस्ने क्रमसमेत बढेको छ । नेपालमा रोजगारीको अवसर नपाएर विदेशिने कामदारहरू गाउँको एजेन्टदेखि काठमाडौँ र त्यसपछि अध्यागमन हुँदै कम्पनीमा पुग्दा प्रत्येक पाइलामा ठगिने र अपमानित हुने गरेका छन् ।

एयर एसियाको विमान चढ्दै कामदार माथी र विमान भित्र कामदारहरु
एयर एसियाको विमान मलेसियाको केएलआईए टूमा अवतरण भयो । नेपालीले भरिएको विमानबाट ओर्लने कामदार आगमनको छाप लगाउन अध्यागमनमा बढे । त्यहाँ पनि ‘नेपाली...नेपाली दिस लाइन’ भन्ने कर्कश स्वर सुनियो । जगत शाहीसहित करिब तीन सय जनाले आगमनको छाप लगाएपछि एउटा सानो कोठामा कोचाकोच गरेर कामदारलाई राखियो ।
०००
दुई साताअघि बिरामी कामदारको उपचारमा कम्पनीले लापर्बाही गर्दा मृत्यु भएको भन्दै मलेसियाको जोहोर क्षेत्रमा रहेको जेसीवाई इन्टरनेसनल कम्पनीमा नेपाली कामदारले तोडफोड र आगजनी गरेको आन्दोलन मत्थर भएको थियो । झापा, दहचोकका हर्कबहादुर निरौलाको उपचारको क्रममा मृत्यु भएको थियो । बिरामी निरौलालाई कम्पनीले उपचारमा ध्यान नदिएको र कामदार आफैँले अस्पताल भर्ना गर्दा पनि बेवास्ता गरेको भन्दै आक्रोशित नेपाली कामदारसहित अन्य विभिन्न मुलुकका कामदारले कम्पनीमा तोडफोड र आगजनी गरेका थिए । तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३९ नेपाली कामदारलाई पक्राउ गरेर हिसासतमा राखेको थियो ।
असी हजार लागत रहेको मलेसियामा एजेन्ट र म्यानपावरले डेढदेखि दुई लाख रुपैयाँसम्म लिएर नेपाली कामदारलाई धमाधम मलेसिया पठाइरहँदा मलेसियामा रहेका कैयौँ कामदारको सपना टुटिरहेको थियो । चर्काे ब्याजमा ऋण खोजेर विदेशिने कामदार मलेसिया पुगेपछि फस्छन्, जेनतेन काम गर्छन् र फर्केने बेला पनि निराशै फर्कन्छन् ।

मलेसियाको एक सपिङ मलमा सुरक्षागार्डमा कार्यरत एक नेपाली कामदार
मलेसिया आएको दुई महिनामा नै नेपाल फर्कन दूतावासमा ट्राभल डकुमेन्ट बनाउँदै भेटिए, उर्लाबारी, मोरङका दिनेश डाँगी । ‘१ लाख ५० हजार तिरेर आएको हुँ । केही कमाउँला भनेर आइयो तर यहाँ त बाँच्नै गाह्रो भयो,’ दिनेशले भने, ‘मोबाइलको पाटपुर्जा कम्पनी भनेर म्यानपावरले पठायो । यहाँ आएपछि त आगोबाट निस्केको ५० किलोको फलाम सार्ने र उचाल्ने काममा पारिदियो । कसरी गरिसक्नु ? बन्धक बनाएर काममा लगाउँछन् ।’
‘नेपालबाट  आउँदा पनि मलेसियाको एयरपोर्टमा २४ घण्टासम्म कम्पनीको मान्छे लिन आएन । कोही लिन नआएसम्म एयरपोर्टबाट जान पनि दिएन,’ दिनेशले थपे, ‘एउटा सानो कोठामा तीन सय जनालाई कोचेर राख्यो । न हाँस्न दिन्छ, न बोल्न । पानी खानसमेत पाएनौँ । जनावरलाई जस्तै व्यवहार गरे उनीहरूले ।’
दिनेशजस्तै पीडित भए बेसीशहर, लम्जुङका गणेश थापा । ‘न तलब न काम । दुवै सम्झौताअनुसार पाइएन । दुई महिनासम्म तलब पनि दिएन । न केही खानलाई एड्भान्स नै दियो । एक महिनासम्म ट्वाइलेटको पानी र बिस्कुट पाउरोटी खाएर बाँचियो,’ गणेशले भने, ‘कतै खबर गरिस् भने लाश गायब पार्दिन्छु भन्ने धम्की आउने । यो देश हो कि जेल हो ? आफैँ रनभुल्लमा परेँ । बल्लतल्ल कम्पनीबाट भागेर दूतावास आएको छु । ट्राभल डकुमेन्ट बनाएपछि नेपाल पुगिन्छ होला ।’

नेपाल फर्कनका लागि ट्राभल डकुमेन्ट बनाउन दुतावासमा जम्मा भएका अवैधानिक नेपाली कामदार

नेपालमा भनिएभन्दा फरक काम गरे पनि कम तलब पाएका कामदारले न्यूनतम सेवासमेत पाउँदैनन् । बिरामी हुँदा उपचार खर्चसमेत नपाउने कामदारहरूले दुर्घटनामा घाइते हुँदा नेपालीको चन्दाको भर पर्नुपर्छ ।
सार्वजनिक र साप्ताहिक बिदामा नेपालीलगायत अन्य मुलुकको ठूलो भीड लाग्ने कोतरायामा नेपाल पठाउन सेटिङ मिलाउने भन्दै एजेन्टहरूले कामदारलाई फकाइरहेको दृश्य देखिए ।
‘मलेसियाको एयरपोर्टमा २४ घण्टासम्म कम्पनीको मान्छे लिन आएन । एउटा सानो कोठामा तीन सय जनालाई कोचेर राख्यो । न हाँस्न दिन्छ, न बोल्न । जनावरलाई जस्तै व्यवहार गरे । एक महिनासम्म ट्वाइलेटको पानी र बिस्कुट पाउरोटी खाएर बाँचियो ।’
नेपालबाट जाने अधिकांश कामदार फरक कम्पनी, तलब र काम भएपछि भागेर अवैधानिक हुने बढिरहेको नेपाली दूतावासको तथ्यांक छ । दूतावासमा अहिले पासपोर्ट साथमा नभएका दैनिक दुई सयदेखि तीन सय कामदार नेपाल फर्कन ट्राभल डकुमेन्ट बनाउन आउने गरेका छन् । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले नेपाली कामदारलाई गाउँकै एजेन्टले ठग्ने गरेको बताए । ‘गाउँबाट प्रलोभन दिएर काठमाडौँ पु¥याउने र काठमाडौँबाट पनि झुक्काएर पठाउने गरेको पाइन्छ,’ राजदूत बस्न्यातले भने, ‘दूतावासमा आउने अधिकांश कामदारको गुनासो गलत कम्पनी, कम तलब र फरक काम भएको रहेको छ ।’
फरक काम गरे पनि कम तलब पाएका कामदारले न्यूनतम सेवासमेत पाउँदैनन् । बिरामी हुँदा उपचार खर्चसमेत नपाउने कामदारहरूले दुर्घटनामा घाइते हुँदा नेपालीको चन्दाको भर पर्नुपर्छ । एक महिनाअघि गाडीले हानेर गम्भीर घाइते भएका तनहुँका तेजबहादुर थापालाई उपचारका लागि साथीभाइको चन्दामा भर पर्नुप¥यो । कम्पनीले उपचार गर्न मानेन । ह्विलचियरमा रहेका उनी नेपाल फर्कने तयारीमा छन् ।
अवैधानिक कामदार चरणबद्ध रूपमा फर्काइँदै
मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई नेपाल फर्काउन सुरु गरिएको छ । नेपाली राजदूतावासले कोपेरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा अवैधानिक नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन थालेको हो ।
दूतावासले सेप्टेम्बर १ देखि अवैधानिक नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन सुरु गरेको हो । दूतावासले गत हप्ता मलेसियामा अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारले तुरुन्त दूतावासमा सम्पर्क गरी नेपाल फर्कनका लागि यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउने सूचना जारी गरेको थियो । मंगलवार सूचना जारी गर्दै दूतावासले आगामी डिसेम्बर ३१ सम्म मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने कार्य सुरु भएकाले तत्काल यात्रा अनुमतिपत्र बनाउने सूचना जारी गरेको थियो ।
दूतावासले यात्रा अनुमतिपत्रको क्रम संख्याको आधारमा प्राथमिकता निर्धारण गर्ने र कोपरासीमार्फत अध्यागमनबाट फिर्ता हुने पास लिएपछि कोपरासीले हवाई टिकट उपलब्ध गराउने दूतावासले जनाएको छ । यो अभियानमा सहभागी हुन कामदारले कोपरासीलाई हवाई भाडा, अध्यागमनको जरिवाना÷शुल्कसहित बढीमा मलेसियन रिंगेट १३ सय ४० (करिब ४० हजार २ सय रुपैयाँ) बुझाउनुपर्ने पनि दूतावासले जनाएको छ ।
यही अभियानमा भाग लिएर लम्जुङका गणेश थापा, मोरङका दिनेश डाँगी नेपाल फिरेका छन् । त्यही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा करिब तीन सय जना मलेसिया जान आतुर देखिन्थे । बिहीवार मलेसिया पुगेका जगत शाहीले फेसबुकमा म्यासेज पठाए । ‘दाइ, २४ घण्टापछि लिन आयो । भोलि मेडिकल गरेर काममा जाने हो । मलेसिया एयरपोर्टमा लास्टै दुःख दियो ।’ 
ट्राभल डकुमेन्टमा ठगी
अवैधानिक रूपमा बसेका नेपाली कामदारलाई नेपाल पठाइदिने भन्दै नेपाली एजेन्टले मलेसियामा रहेका अवैधानिक कामदारलाई ठग्न सुरु गरेका छन् । दूतावासले १३ सय ४० रिंगेट लाग्ने भने पनि एजेन्टहरूले दुई हजारदेखि २५ सय रिंगेटसम्म उठाउन थालेका छन् ।
मलेसियामा रहेका अवैधानिक कामदारलाई सहज रूपमा नेपाल फिर्ता पठाउन दूतावासले तयारी गर्दै सूचना जारी गरिरहेको बेला मलेसियाको आइतवार कोतरायामा जम्मा भएका नेपालीलाई नेपाल पठाउने भन्दै एजेन्टहरू सलबलाइरहेका थिए ।
विदाको दिन मलेसियाको कोतरायमा जम्मा भएका कामदारहरु
सार्वजनिक र साप्ताहिक बिदामा नेपालीलगायत अन्य मुलुकको ठूलो भीड लाग्ने कोतरायामा नेपाल पठाउन सेटिङ मिलाउने भन्दै एजेन्टहरूले कामदारलाई फकाइरहेको दृश्य देखिए । ‘छ महिनादेखि कम्पनी छोडेको पासपोर्ट पनि साथमा छैन । त्यसैले घर जाऊँ भनेको दुई हजार रिंगेट (६० हजार रुपैयाँ) लाग्छ रे !  पहिला पनि यिनी दाइले काम गरिदिएका थिए । अहिले त पैसा थोरै छ भन्दा पनि जम्मा गर्दै गर भनेका छन्,’ एजेन्ट र कामदारको कुरा सकिएपछि ‘नमस्ते फेन्सी पसल’ नजिक भेटिएका उर्लाबारी, मोरङका दिलीप थापाले भने । दूतावासको १३ सय ४० रिंगेटको सूचना उनलाई अहिलेसम्म थाहा छैन । १३ सय ४० मा जान सकिने थाहा पाएपछि उनी एजेन्टलाई सराप्दै थिए– ‘कस्तो पापी होला । नेपालमा पनि ठगेर नै पठाए, यताबाट जाँदा पनि ठगेर नै पठाउँदै छन् । दलालले कतै नछोड्ने भए’ ।
कोपरासीलाई समन्वय गरिरहेका नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यÔ हरि भट्टराईले कामदारलाई सहज रूपमा नेपाल पठाउन हामीले पहल गरिरहेको बताए । ‘तर, ठाउँ–ठाँउमा एजेन्टहरूले सेटिङको नाममा कामदारलाई ब्लक गरेर राखिरहेका छन् । एजेन्टहरूले धेरै पैसा असुलेर कामदारलाई ठगिरहेको गुनासो आइरहेको छ,’ उनले भने ।

डा. निरञ्जनमानसिंह बस्न्यात
मलेसियाका लागि नेपाली राजदूत


मलेसियामा नेपाली कामदारको समस्या बढ्दै गएको छ । कामदारलाई ठग्ने काम नेपालबाट नै सुरु हुन्छ । गलत कागजपत्र बनाएर, नक्कली सम्झौता बनाएर कामदारलाई नेपालबाट मलेसिया पठाउने गरिन्छ । फरक कम्पनी, फरक काम भएपछि कामदारले सोचेजस्तो हुँदैन । अनि, कम्पनी छोड्ने, कम्पनी परिवर्तन गर्ने र कम्पनीबाट भाग्ने शृंखला सुरु हुन्छ । एउटा काम भन्ने अर्काे काममा पठाउने, एउटा तलब भन्ने अर्के तलब हुने । समयमा तलब नदिने, सामाजिक सुरक्षा र बिमा नहुनुले कामदार मर्कामा परेका छन् । यी सबै कुराका समाधानका लागि मलेसियासँगको श्रमसम्झौता अनिवार्य भएको छ । श्रमसम्झौताको लागि हामीले सक्दो पहल गरिरहेका छौँ । तर, खै किन ढिलो भएको छ भन्ने थाहा हुन सकेको छैन ।
कामदारको पासपोर्ट र अन्य कागजपत्र कम्पनीले राखिदिन्छ । कामदारले कम्पनीमा राम्रो भएन भन्दै पासपोर्ट छोडेर नै भाग्छन् । त्यसपछि कामदार अवैधानिक हुनुपर्छ । कुनै कागजपत्र नहुँदा र पासपोर्ट नहुँदा प्रहरीले पक्राउ गर्छ । अहिले यहाँ करिब ५० हजार अवैधानिक कामदार रहेका छन् । १० हजारजतिले त घर फर्कनका लागि ट्राभल डकुमेन्ट बनाइसकेका छन् । कामदार ठगिनबाट जोगाउन नेपालबाटै पहल गर्नुपर्छ ।

पीडितका बयान

गणेश थापा
बेसीशहर, लमजुङ

प्याराडाइज ओभरसिजबाट म मलेसिया आएको हुँ । आएको जम्मा दुई महिना भएको छ । १ लाख ५५ हजार तिरेर आएको हुँ । पिज्जा हट कम्पनी भनेर मलाई यहाँ पठाएको हो तर यहाँ सप्लाई कम्पनीको सस फ्याक्ट्रीमा काममा लगाइदियो । नेपालमा भनेजति तलब पनि यहाँ दिएन । नेपालमा सम्झौतामा १४ सय रिंगेट हुन्छ भनेको थियो । यहाँ आएपछि १३ सय रिंगेट भन्यो । अनि, काममा दबाब दिन थाल्यो । ‘नेपालमा फोन गरिस्, म्यानपावरलाई खबर गरिस् भने तेरो लाश यहीँ गायब होला’सम्म भनेपछि कम्पनीबाट भाग्नुको विकल्प रहेन । नेपालमा एजेन्ट समन अधिकारीलाई फोन गर्दा वास्तासमेत गरेन । लमजुङकै चिनेको भनेर विश्वास गरियो । एजेन्ट र म्यानपावर मिलेर ठग्नुसम्म ठगे ।
मैले म्यानपावरमा ‘काम फरक छ, म जान्न । पैसा फिर्ता देऊ’ भन्दा प्याराडाइजको म्यानेजरले ‘तँलाई इच्छा छ भने जा, छैन भने नजा, पैसा फिर्ता हुन्न’ भन्यो । पैसा फसिसकेपछि बाध्य भएर आइयो । यहाँ आएपछि झन् दुःख पाइयो । एक महिनासम्म ट्वाइलेटको पानी र पाउरोटी खाएर बसियो । कम्पनीले खाने पैसा पनि दिएन । दुई महिना तलब पनि दिएन । दुई महिनाको जम्मा चार सय रिंगेट तलब दियो । म हुँदै तीन जना भागिसकेका थिए । झलझली नेपाल सम्झनुको विकल्प थिएन । त्यसैले ट्राभल डकुमेन्ट बनाएर नेपाल जान लागेको हुँ । घरबाट एक लाख रुपैयाँ मगाएर नेपाल फर्कैंदै छु ।

दिनेश डाँगी
उर्लाबारी, मोरङ

मलेसिया आएको जम्मा तीन महिना भयो । संयोग ओभरसिज, तीनकुनेबाट आएको हुँ । म्यानपावरको बिर्तामोड शाखाबाट एप्लाई गरेको हुँ । त्यहाँ मोबाइलको पाटपुर्जा कम्पनीमा भनेर एप्लाई गरियो । पछि काठमाडौँ मुख्य अफिसमा आउँदा नटबोल्ट कस्ने ठाउँमा भन्यो । मलेसिया आएपछि त ठूलो–ठूलो आगोबाट झरेको तातो फलाम तान्नुपर्ने कम्पनी पो रहेछ । ५०÷६० किलोसम्म उचाल्नुपर्ने भयो । ‘कम्पनी परिवर्तन गर्दिन्छु’ भन्दै १५÷२० दिनसम्म राखिदिए । मैले नेपालमा एजेन्ट र म्यानपावर कम्पनीलाई पनि फोन गरेँ । उनीहरूले फोन उठाउन छाडे । मलेसिया जान ८० हजार लाग्छ भन्ने सुनेको थिएँ तर मैले डेढ लाख तिरेँ । रसिद दिने बेला ८० हजारकै दियो । यता आएपछि बल्ल आफू ठगिएको चाल पाएँ । पासपोर्ट कम्पनीले नै राखिदिएको छ । त्यसैले भागेर आएर घर जान दूतावासमा ट्राभल डकुमेन्ट बनाएँ । आएको तीन महिनामा नै फर्किंदै छु । नेपालबाट आउँदा मलेसियाको एयरपोर्टमा २४ घण्टासम्म कम्पनीको मान्छे लिन आएन । कोही लिन नआए एयरपोर्टबाट जान दिँदैन । एउटा सानो कोठामा तीन सय जना कोचेर राख्छ, हाँस्न पनि दिँदैन, बोल्न पनि दिँदैन । पानी खानसमेत पाइँदैन । लात हानिरहन्छन् । जनावरलाई जस्तै व्यवहार गर्छन् ।

अशोक विष्ट
मकालु, संखुवासभा

म डेढ वर्षअघि मलेसिया आएको हुँ । ऋण खोजेर आएको हुनाले धेरै दुःख गरेर यहाँ काम गरे तर ऋण तिर्न सकिएन । १ लाख ७० हजार तिरेर आएको हुँ । फरक काम भए पनि साह्रै दुःख गरेर काम गरेँ तर सोचेजस्तो भएन । नेपालमा म्यानपावरलाई फोन गर्दा फोन नै उठाउँदैन । अहिले अल्सर छ मलाई । काम गर्न सकिँदैन । पेटमा पनि घाउ आएको छ । उपचार गर्ने पैसा पनि छैन । खान पनि राम्रोसँग पाएको छैन । न उपचार, न खाना, न तलब । यसरी नै बसिएको छ । चिनेजानेकाले अलि–अलि सहयोग गरेका छन् । दूतावासले केही गर्ला कि भनेर यहाँ आएको हुँ । यहाँ पनि आज र भोलि भन्छन् । पाँच दिन भयो धाउन थालेको ।

तेजबहादुर थापा
तनहुँ

कम्पनीलाई जानकारी दिएर साथीलाई भेट्न बाहिर जाँदा गाडीले अचानक हान्यो । त्यसपछि अचेत भएको म उठ्दा अस्पतालमा थिएँ । खुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटना भएको एक महिना भयो । कम्पनीले मतलब गरेन । डाक्टरले कम्पनीलाई जानकारी दिँदा कम्पनीले थाहा छैन भन्ने जबाफ दियो  । उपचारसमेत गरेन । साथीभाइले चन्दा उठाएर मलाई उपचार गराएका छन् । उपचारमा पाँच हजार रिंगेट खर्च भइसक्यो । अहिले साथीहरूसँग बस्छु । दिसापिसाब गर्दा पनि साथीभाइको सहयोग चाहिन्छ । दिउँसो साथीहरूले आफूले काम गर्ने ठाउँमा लगेर राख्छन् । बेलुका सँगै कोठामा ल्याउँछन् । डाक्टरले ‘अब उपचार नेपाल गएर गर्दा हुन्छ’ भनेको छ । त्यसैले नेपाल जान प्रक्रिया पूरा गर्न दूतावासमा आएको हुँ । बिरामी हुँदा, घाइते हुँदा कम्पनीले उपचार गर्छ भनेको सुनेको थिएँ । नेपालमा पनि त्यही भन्थ्यो म्यानपावरले तर आज यस्तो गम्भीर दुर्घटनामा पर्दासमेत कम्पनीले हेरेन ।
(यो रिपार्ट नागरिक शुक्रवारका लागि २०७१ भदौं १९ गते प्रकाशित भैसकेको छ । )

पीडित के भन्छन भिडियोमा हेर्नुस् ।

 

 

No comments:

Post a Comment