Pages

Friday, September 27, 2013

'मौन' हेर्नुपर्नेका केही कारणहरु


सिनेमा आँखा र कान दुवैका लागि हो । दृश्यात्मक भाषा ध्वनीका माध्यमबाट चेतनामा पसेन भने त्यसले सायदै सार्थकता ल्याउँला । तर, यतिखेर सहरका पर्दामा चलिरहेको चलचित्र मौन त्यस्तो चलचित्र हो जसमा लिड रोलमा नै रहेका पात्रहरु चुपचाप छन् । सिनेमाको शिर्षकलाई सार्थकता प्रदान गर्ने होइन कथालाई न्याय दिन जुराइएको मौनले चलचित्रको मौनतालाई त्यतिखेर भंग गर्छ जतिखेर ठिक उल्टो दर्शक सोचिरहेका हुन्छन् ।
प्रेमको अभिव्यक्ति कुन भाषामा सरल रुपमा बुझिन्छ ? मौनले दर्शाउँछ – सांकेतिक भाषा । सिनेमाको आफ्नै व्याकरण होला तर मौनभित्रको सांकेतिक भाषामा प्रेमको अभिव्यक्तिले संकेत भाषाको व्याकरणलाई पनि फराकिलो बनाएको छ । हो, पहिलो कारण यही हो मौन हेर्नुपर्ने कि नेपाली सिनेमामा नयाँ विषय, नयाँ प्रयोग संकेतको भाषा जुन विश्वव्यापी बुझिन्छ ।

अमन पात्रको रुपमा रहेका अर्पण थापा र बर्षा पात्रको रुपमा रहेकी नम्रता श्रेष्ठ सिनेमाको मुख्य अभिनयमा रहेका छन् । आफ्नो अभिव्यक्ति व्यक्त गर्ने नसक्ने र सुन्न पनि नसक्ने यी दुई पात्र सिनेमामा संवाद नगर्दा सिनेमा खल्लो लाग्न सक्छ । भनिन्छ, सिनेमाको पहिलो ५ मिनेटसम्म बाँध्यो भने अन्तिमसम्म बाँध्न सक्छ तर मौनले पहिलो १५ मिनेटसम्म पनि बाँध्न सक्दैन कतिखेर संवाद सुन्न पाइन्छ भनेर अत्यार लाग्न सक्छ तर त्यसपछि दर्शकले यति मनोरञ्जन लिन्छन् की फिल्मी डायलग गौण लाग्छ । हलिउड सिनेमा द आर्टिस्ट र बलिउड सिनेमा बर्फिको धुमिल या ताजा स्मरण गर्नेलाई पनि मौनले नविनता प्रदान गर्दछ । कतिपय अवस्थामा अभिनयलाई संंवादले जिवन्त प्रदान गर्दछ । अभिनयको हिस्सा बन्छ संवाद तर बिना संवादको अभिनयमा जमेका छन् अर्पण र नम्रता । त्यसैले अर्काे कारण हो मौन हेर्नुपर्ने की म्युट पात्रको जोडदार अभिनय ।

मौनको कथा भन्छ, बोल्न सुन्न नसक्ने अमन एकोहोरो पाराको हुन्छ, ड्रेसअप प्राय रफ हुने अमनलाई एउटा कुराले सताइरहेको हुन्छ, जुन उसले बारम्बार सपनामा देख्ने गर्छ र विपनामा सम्झने गर्छ । एउटै कुराले डिस्टर्ब भैरहेको अमन एकान्त रुचाउने स्वभावको हुन्छ, साथीभाई, घरपरिवारसँग पनि बस्न मन नपराउने अमन लागूऔषधको दृश्र्वसनीमा फस्दै जान्छ । अमनको यस्तो व्यवहारले उनको आमा चिन्तित बन्दै गैरहेकी हुन्छिन् । जब अमनका बुबाले बोल्न र सुन्न नसक्नेहरुका लागि आयोजित वर्कसपमा अमनलाई पठाउँछन त्यसपछि फिल्मले उत्सुकता, रोमाञ्कता प्रदान गर्छ । वर्कसपमा बर्षाको पनि सहभागिता हुन्छ । गम्भिर स्वभावको अमनलाई चञ्चले बर्षाले विस्तारै मन पराउँदै जान्छे । प्रेमको शिलशिला निरन्तर अघि बढ्छ । बर्षाले अमनलाई परिवर्तन गर्दै लान्छे । अमनमा परिवर्तन देखा पनि पर्छ । तर, सपिङमलमा जब सपिङ गर्ने बेलामा बर्षाले अमनलाई मन परेको कपडा चोरेर झोलामा हाल्छे, अमन त्यसो गर्ने हुँदैन भन्छ, त्यसपछि अमन बिक्रेता जुन महिला हुन्छिन् उसँग संगै कुरा गरेको अवस्थामा जस्तै बर्षाले देख्छे । बर्षाले केटीसँग कुरा गरेको भन्दै इश्र्या व्यक्त गरेर झगडा शुरु गर्र्छे । अमनले सोही बेला सपनामा देखेको पात्रलाई मलको लिफ्टमा देख्छ अनि कथाले नयाँ मोड लिन्छ । त्यो लिफ्टमा देखिएको व्यक्ति को हुन्छ ? खासमा त्यो व्यक्तिले के गरेको हुन्छ ? किन अमन त्यो व्यक्तिकै कारण डिस्टर्ब भैरहेको छ ? के उसमा बदलाको भावना हुन्छ ? दर्शक यस्तै सोच्न बाध्य हुन्छन् ।

सिनेमाको कथा अघि बढ्दै जान्छ, बर्षाका बुबा अमेरिकाबाट आएका हुन्छन् । बर्षालाई अमेरिका लैजान तर बर्षाको ब्बायफ्रेण्ड छ भन्ने थाहा हुन्छ त्यसैले विवाह गरेर दुबै अमेरिका जाने सल्लाह हुन्छ । बर्षाले यहि प्रस्ताव अमनलाई राख्छे, अमनले नजाने भन्छ । यो विचमा अमनले सपिङ मलको लिफ्टमा देखेको मान्छेलाई पछ्याइरहेको पनि हुन्छ । उसकहाँ बस्छ ठेगाना पनि पत्ता लगाएको हुन्छ । त्यो व्यक्तिलाई मार्ने अमनले आफ्नो महँगो गितार बेचेर पेस्तोल किन्छ । पेस्ताल बोकेर र मास्क लगाएर अमन त्यो मान्छेको घरमा छिर्छ । क्लाइमेक्सको सिन यहीनेर छ जुन प्लासब्याक सिनपछि हुन्छ ।  के अमनले त्यो मान्छेलाई मार्छ नै होला ? प्राय पछिबाट देखिरहेको मान्छे त्यही नै हुन्छ जुन उसले पछ्याइरहेको छ ? कि उल्टो अमनकै मृत्यु हुन्छ त्यहाँ ? र, क्लाइमेक्ससँगै जोडिएको अर्काे पाटो के अमनले बर्षालाई विवाह गर्छ ? यतिसम्म थाहा पाउन त सिनेमा भने हेर्नेैपर्छ । सिनेमामा बर्षा लेखिका हुन्छे । मौनको कथाभित्रको कथा बर्षाले लेखेको मौन पुस्तककै हुन्छ ।
छड्केपछि मौनमा उदाएकी नम्रता र धन्दापछि मौनमा जमेका अर्पण दुबैको अभिनय शसक्त छ । भर्सेटायल नायक अर्पण र गर्जियस गर्ल नम्रताको जोडिले दर्शकलाई पूर्ण साथ दिन्छन् । निर्देशक सुरज भूषालले सिनेमालाई न्याय दिन पूर्णकोसिस गरेका छन् । उनको कामको तारिफ भने हुन्छ । सिनेमाको अर्काे पक्ष भनेको संगीत पनि हो । गीतकार भूपेन्द्र खड्काले कथाको प्लटमै गीत कोरेका छन् । प्रसङवसका गीतले कथालाई न्याय गरेको छ । शब्द चयन र कथात्मक कुरा गीतमा आउँदा सुन्न र दृश्यमा उतार्दा दर्शक रमाउन सक्छन् । सुगम पोखरेल र स्वपनिल शर्माको संगीत पनि दमदार छ । मौनका सहायक पात्रहरुको अभिनय पनि तारिफ योग्य छ । बर्षाकी बहिनी र अमनको वर्कसपको साथीको रोलले बर्षा र अमनलाई सहयोगी मात्र बनाएका छैनन दर्शकका लागि मसलेदार पनि बनेका छन् । सञ्जय लामाले चलाएको क्यामेरा प्रशंसनिय छ ।
के छ कमजोरी ।
सिनेमा मौनमा धेरै कुरा आधुनिकता देखाइएको छ । आधुनिकतामा पात्रहरु डुलिरहेका हुन्छन् तर जब अमनले बर्षालाई डेटमा कुरिरहेको हुन्छ । बर्षा ढिलो गरिरहेकी हुन्छे त्यो बेलामा मोबाइलको प्रयोग जुन सुन्न र बोल्न नसक्नेले पनि एसएमएसमार्फत गर्न सक्छन् त्यसको प्रयोग गरेका भए हुने भन्ने दर्शकलाई लाग्छ । त्यस्तै नायकनायिकाको संवाद नभएर होकी कथा पहिलो हाफमा छिटोछिटो बग्छ त्यसको असर जम्प सिनमा देखिन्छ । वर्कसपमा अमन र बर्षाको अभिनय देखाइरहँदा त्यो समयसम्म सहजकर्ताको भूमिका देखिदैन र त्यो सिन जम्प गर्दै अघि बढ्छ । दर्शकले सिनेमा हेरिरहँदा सपिङ मलको झगडा सामान्य लाग्छ तर त्यही विषयलाई लिएर बर्षाले हातको नशा काटेर आत्महत्याको प्रयास गर्छे जुन चित्तबुझ्दो छैन । त्यही बेला अमन पनि ठूलो तनावमा हुन्छ । बर्षासँगको झगडाले हो या सपिङमलको लिफ्टमा देखिएको मान्छेको कारणले हो यसमा दर्शक अन्योल हुन्छन् । अन्तिम क्लाइमेक्स जुनमाथी सपेन्स राखिएको छ त्यहाँ अमनको अन्तिम अभिनय छ त्यो बढि नै क्लोजअप भयो की भन्ने दर्शकले प्रश्न गर्ने सक्छन । अमनले बारम्बार एउटै सपना देखेको हुन्छ तर यथार्थमा उमाथी अर्काे नै घटेको हुन्छ । बेडमा घाँटी थिचेको सपना बारम्बार देखाइनु र यथार्थ घटना अर्काै हुनुले प्रतिकात्मक देखाउन खोजेपनि सामान्य दर्शक यो बुझ्दैनन् । प्रत्येक सिनेमा फरक अभिनय गर्दै जमेका अर्पणले मौनभित्र अमन पात्रमा बोल्न र सुन्न नसक्ने अभिनयमा केही कमजोरी देखिन्छ, उनले अभिनय सम्हाल्न नसक्दा हात बारम्बार नाकमा पुग्छ । जुन दर्शकलाई अस्वाभिक लाग्छ । एकचोटी हात नाकमा पुगेपछि दर्शकले नोट गरे भने अब हात नाकमा जान्छ भन्ने गेस गरिहाल्छ । बरु त्यसलाई पात्रको बानीको रुपमा देखाउन खोजेको भए राम्रो हुन्थ्यो ।
सिनेमा हलमा जे देखियो ।
सिभिल मलको क्यूएफएक्समा शुक्रबार साँझ ५ः४५ को सोमा दर्शकले मध्यान्तरमा पछि ताली बजाए र अन्त्यमा पनि तालि लगाए । निर्देशक दीपेन्द्र के खनालले धेरै पछि तारिफयोग्य नेपाली सिनेमा रहेको बताए । त्यस्तै अर्काे निर्देशक आशिफ शाहले अब्बल नेपाली सिनेमाको दर्जा दिए । मेघा चलचित्रकी निर्देशक सम्झना उप्रेती रौनियारले सिनेमा धेरै राम्रो बनेको बताइन् । हलबाट बाहिरिदा धेरै दर्शकले यसको पब्लिसिटी नपुगेको बताए पनि ।
मौन
निर्देशकः सुरज भुषाल
निर्माणः क्वार्क फिल्म, आकाश आदित्य इन्टरटेनमेण्ट मुभी
स्टोरी लाइनः मौन प्रेम, रिभेन्ज
अभिनयः अर्पण थापा, नम्रता श्रेष्ठ
लेखनःअर्पण थापा
सिनेम्ट्रोग्राफीः सञ्जय लामा
गीतः भूपेन्द्र खड्का
संगीतकारः सुगम पोखरेल, स्वपनिल शर्मा

(पुनश्चः यो समिक्षा होइन ।)

4 comments:

  1. ramro chha,yasaka arka sangeetkaar sanup poudel pani hun.

    ReplyDelete
  2. यसको टिजर हेर्दा चलचित्र राम्रै बनेको होला भन्ने अडकल काटेको थिएँ । अब अनलाइन मार्फत किनेरै भएपनि हेर्नुपर्ला भन्ने विचारमा छु । अनि साँच्चि समीक्षा नभएपनि चलचित्र हेरेर आफ्नो अनुभव साटेकोमा मित्र प्रकटलार्इ हार्दिक धन्यवाद !

    ReplyDelete
  3. फिल्म राम्रो बनेको छ । नीराजन । जसरी पनि हेर अनि धन्यवाद पढ्नलाई पुरै समय दिएकोमा ।

    ReplyDelete