Pages

Sunday, September 1, 2013

सुनगाभा विवाद : लगनपछिको पोते

राजनीतिभन्दा पनि चरम संक्रमणमा छ नेपाली चलचित्र क्षेत्र। प्रसव पीडामा छटपटिएर कतिखेर काख न्यानो पार्छ त कतिबेला खेर फाल्छ, आफ्नै सन्तान। ६ दशकसम्म पनि स्पष्ट रेखा नकोरिएको आरोप नेपाली चलचित्रलाई छ। अहिलेसम्म आइपुग्दा औंलामा गन्न सक्ने चलचित्रलाई सफल भनिरहेका छौं। यस्तो स्थितिमा गुज्रेको नेपाली चलचित्र क्षेत्रमा ओस्कार रौनक आफैमा गद्गद्को विषय हो। तर, ओस्कार मनोनित चलचित्रमाथि उठेको विवादले सम्भावनालाई नै धरापमा पारेको छ।

८६ औं एकेडमी अवार्डका लागि विदेशी भाषा चलचित्र अर्न्तगत नेपालका तर्फबाट ४ चलचित्र छनोट गरी नेपाली समितीले चलचित्र सुनगाभालाई ओस्कारमा सिफारिश गर्‍यो। सुनगाभा सिफारिश भएलगत्तै विवाद देखिएको छ। ओस्कारको नियमभित्र सुनगाभा चलचित्र छैन भनेर यसलाई मुद्दाको दायरामासमेत ल्याउन खोजिएको छ। हो, यो ठिक छ। नियमसंगत छैन भने त्यसमाथि प्रश्न उब्जाउनुपर्छ। कानुनी उपचार पनि खोज्नुपर्छ। तर, विवाद फिल्म छनौट भएर सिफारिश गरेको बेला आयो। जब बधशाला, साँघुरो, शिरिषको फूलसँगै सुनगाभालाई प्रतिस्पर्धी बनाइयो त्यति बेला 'निर्देशक सुवर्ण थापा फ्रान्सेली नागरिक हुन् यो ओस्कारका लागि उपयुक्त छैन,' भनेर किन प्रश्न उठाइएन? अहिले एउटा नेपाली चलचित्र जसले विभिन्न मुलुकमा नेपाली चलचित्रकै हैसियतले महोत्सवमा भाग लिएको छ, त्यसलाई चलचित्रकर्मीले नै विरोध गर्नु आफ्नो स्वार्थ आफु अनुकुल नभएको मात्र देखिन्छ।

विश्वको जुनसुकै कुनामा नेपाली वा नेपाली मुलका लागि कुनै सहयोग, अप्ठ्यारो पर्दा एकतामा जुट्ने नेपालीले १ बर्षअघि मात्र फ्रान्सको नागरिकता लिएका सुवर्ण थापालाई आफ्नो देखेनन्। सुनगाभा चलचित्र निर्माण हुने बेलामा उनले फ्रान्सको नागरिकता नलिएको बताइसकेका छन्। भारत बाहेकका देशमा अहिले २९ लाख नेपाली छन्। उनीहरु आफ्नो आर्थिक सुरक्षाका लागि आकर्षक मुलुकमा कार्ड लिने क्रम पनि बढेको छ। तर, यो एउटा बाध्यतालाई पेचिलो बनाउँदै उनीहरु नेपाली होइनन् भन्न मिल्दैन। सुवर्ण थापासँग मात्र होइन प्रत्येक गैरआवासीय नेपालीसँग दोहोरो नागरिकता छ। धेरै उद्योगीको लगानी नेपाल भित्रेको पनि छ। ती धेरैमध्ये अधिकांश नेपालीकै हैसियतमा छन्। बाध्यतालाई यतिखेर धराप बनाउन मिल्दैन र बदनाम गर्न समय कुर्नु हुँदैन। यसको मतलब समयमै बदनाम गर्नुपर्छ भनेको होइन। समयमा नै समाधान हुने विषयलाई नियतवश कुरेर बदनाम गराउनु हुँदैन।

सुनगाभा नेपाली निर्देशकले निर्देशन गरेकै चलचित्र हो। अष्ठ्यारोमा पारेर उनलाई नै आफू फ्रान्सको नागरिकता लिएको भन्न लगाउनु र त्यही कुरालाई उठाउँदै भविष्यको विषयलाई फुलस्टप पार्ने खोज्नु नियोजित हो। 

डायस्पोराको बजार खोजिरहेको नेपाली चलचित्रले गैरनेपाली प्रसंग उठाउनु उद्योगलाई घातक छँदैत छ त्यसमाथि भोलीका दिनमा पैसा बटुल्न च्यारिटी सो र आकस्मिक लाभ लिन अन्य सो चलाउन नेपाली भएको ठाउँमा जान खोज्ने अन्य चलचित्रकर्मीलाई के भन्ने? उनीहरुको चलचित्र त्यो 'टेरिटोरी'मा चलाउने कि नाई। किन कि त्यहाँ अधिकांश गैरआवासीय नेपाली हुन्छन्। साधारण कुरा होला तर यस्तै प्रश्नहरु जन्मन सक्छन्।

अब यो विषय जटिल बनेको छ। यसले ओस्कारमा सिफारिशको प्रसंगलाई मात्र उठान गरेन। सुनगाभा निर्माण भएको अवस्थादेखि नेपाली समितिले के आधारमा ४ चलचित्रसँगै राख्यो भन्ने पनि प्रश्न आउँछ। त्यस्तै सुनगाभाले ओस्कारमा केहीमात्र पनि सफलता पायो भने यो प्रसँगले जटिलता पनि जन्माउँछ। त्यसैले नेपाली चलचित्रको हितका लागि तत्काल सुनगाभा विवादलाई सहज रुपमा मिलाउन जरुरी छ।

No comments:

Post a Comment