Pages

Wednesday, November 27, 2013

विजययात्रामा पूर्णविराम । सम्झनामा विजयबाबु ।

“तिमीले घर र परिवार भन्यौं भने प्रगती कहाँबाट गर्छाैं भन त प्रगती गर्नलाई तिमीले तिम्रो ठाउँ छोड्नुपर्छ, काठमाण्डौं आऊ यो भिडमा स्थापित भयौं भने भविष्य बन्छ ।” कारोबार दैनिकको बागलुङ संवाददाता भएर काम गरिरहेको समयमा अचानक समाचार सम्पादक विजयबाबु खत्रीले काठमाण्डौं आएर काम गर्न आग्रह गरेपछि मैले मेरो बाध्यता सुनाउँदा माथीका उद्गारबाट विजयबाबुले मलाई सम्झाउनु भएको थियो । आज विजयबाबु हामी माझ नभएको (आज मंसिर १२ गते ) २ बर्ष भयो । तर यी उद्गार अझै मेरो कानमा गुन्जिरहेको छ ।

जिन्दगीको दोस्रो मौका मिल्ने भए सायद कोही गएर फरक पदैन तर एउटै जिन्दगी एकैचोटी हुने भएकोले कसै कसैको अवसानले ठूलो फरक पार्दछ । जिन्दगीलाई विभिन्न विशेषणसँग तुलना गर्ने गरिन्छ । जीवनलाई मोड र घुम्तीमा पनि उभ्याउने गरेको पाइन्छ । जीवन निरन्तर चलिरहने प्रक्रिया अन्तर्गत यात्रामा अनुवाद पनि गर्ने गरिन्छ । जीवनयात्राको अन्तिम गन्तव्य मृत्यु हो जुन ध्रुव सत्य छ । एउटा यस्तै यात्रा टुङ्गिएको छ, जुन जीवनमा विजय प्राप्त गर्न चाहन्थ्यो । समय र जीवन एकनाश हुँदैन यस्तै लाग्छ समयले १२ को जनाउ गर्दा जीवनमा शून्यको आभाष पनि मिल्दछ, त्यसैले समय र जीवनलाई परस्पर विरोधीको रुपमा पनि बुझ्न पर्दाेरहेछ । एउटा जीवनमा अनेक भूमिका निर्वाह गर्दागर्दे कहिले के कहिले के बन्नुपर्छ किनकी अर्काे जीवनको निश्चित हुने भएको भए यसपाली यो बन्छु र अर्काे पाली अर्के भन्ने निर्णय हुन्थ्यो होला तर त्यसो त कल्पना मात्रै न त हो । परिस्थिती र वाध्यताले भूमिका निर्वाह गर्दे जाँदा जीवन कहाँनिर पुगेर टुङ्गिन्छ पत्तै चल्दैन ।

२०६८ मंसिर १० गते शनिवार यात्रा पश्चिमको थियो । कारोबार दैनिकको विभिन्न जिल्लामा रहेका संवाददातासँगको भेटघाट, व्यापारिक सहरमा उद्योगी व्यापारीसँग अन्तरक्रिया र त्यसको रिपोटिङ्गका लागि विजयबाबु खत्रीको नेतृत्वमा वितरण विभाग प्रमुख युवराज कार्की, संवाददाता लीला घिमिरे, राधिका ढकाल र प्रकटकुमार शिशिरको टोली ९ दिनको यात्रा तय गरेर राजधानी छाडेका थियौं । जिल्ला व्यूरो प्रमुख डीआर आचार्य सोही दिन विहान बसबाट नारायणघाट जाने र त्यहाँ भेट्ने कुरा थियो । शुक्रवार तय भएको योजना अनुरुप हाम्रो यात्रा शनिवारको थियो । टेकु पुल नजिक भेट भएर विजयसरकै कारमा हामी हिड्ने योजना बनाएका थियौं तर म पुग्न केही ढिला भएका कारण उहाँहरुले मलाई कालिमाटी चोक माथि कुर्नुभएको थियो । त्यसपछि हाम्रो यात्रा त्यहाँबाट पौने आठ बजे शुरु भयो ।
हामी थानकोट काटेर नागबेली सडक हुँदै अगाडी बढिरहेका थियौं । विजयबाबु अली गम्भिर स्वभावको हुनुहुन्थ्यो मैले प्रत्यक्ष रुपमा ६ महिनाको सामिप्यतामा जानेको उहाँको बारे, कम बोल्ने, गम्भिर र निडर स्वाभावले ममा उहाँप्रति एक प्रकारको डर थियो । कार आफैले चलाउनुभएको विजयबाबु बेला बेला रमाइलो कुरा गर्दा यात्रा सहज भएको मैले महशुस गरेको थिए किनकी विजयबाबुसँग लामो दुरीको यात्रा त्यो समुहमा मेरो लागि पहिलो थियो । प्रसङ्गबस उहाँले छोरा वैभवको चञ्चलता उसको अञ्जान बदमासीका केही कुरा गर्नुभयो । हामी विस्तारै गुडिरहेका थियौं । बाटोमा पानी पिउने, आराम गर्ने, खाजा खाने गर्दे हामी मुग्लिनबाट नारायणघाटतर्फ मोडियौं ।
जीवन नदी हो यस्तै परिभाषा हुन्छ प्राय, निरन्तर बग्ने नदी र निरन्तर चल्ने जीवन एकै धारमा राख्ने गरिन्छ । नदीमा आउने वहाव र जीवनमा आउने उतारचढावले बग्ने खोलाको प्रवृत्ति र प्रकृतीलाई औल्याइदिन्छ तर जीवन नदी जस्तो त कहाँ हुँदो हो किनकी नदी सँधै ओरालोमा मात्र बग्ने गर्छ तर जीवनमा उकालो पनि हुन्छ ओरालो पनि हुन्छ । मुग्लिनबाट नारायणघाटतर्फ जादै गर्दा किनारा तिर बग्ने नदीलाई छोडदै हामी अघि बढ्यौ । केहीबेरमा हामी नारायणघाटको पुलचोक नजिकै पुलको छेउको चौतारीमा रोकियौं यतिखेर मध्यान्ह भैसकेको थियो । त्यहाँ चितवनका संवाददाता विनोदबाबु रिजाललाई भेट्ने योजना थियो । काठमाण्डौंबाट विहानै हिड्नुभएको डीआर सर पनि त्यहाँ नै आइपुग्नुभयो । केहीछिनको छलफलपछि विजयबाबु आफ्नो कार लिएर बाहिरिनुभयो र एकैछिनमा कारोबार दैनिकका प्रबन्ध निर्देशक शिशिर भट्ट सरसँग आउनुभयो । शिशिरसर आउँदा ल्याउनुभएको स्करपियो जीपमा चढेर हामी बुटवलतर्फ लाग्यौं । शिशिर सर विजयबाबुको कार लिएर हेटौडातर्फ जानुभयो । अब हाम्रो समुहमा डीआर सर र चालक वीरबहादुर तामाङ्ग पनि थिए । विजयबाबुलाई ड्राइभिङ्गप्रति रुचि थियो त्यसैले त्यस यात्रामा पनि विजयबाबु आफैले गाडी कुदाउनुभयो । त्यस रात हामी बुटवल र भैरहवाको विचमा रहेको द मदरल्याण्ड रिसोर्टमा बस्ने तय भएपछि हामी त्यहाँ लाग्यौं त्यहाँ कोठामा हामीले हाम्रो सामान राखेपछि त्यहाँ भेटघाट गर्नुपर्नेसँग भेटघाट भयो ।
विहान नेपालगन्जको यात्रा शुरु भयो । चनौटा पुगेपछि त्यहाँ मुस्लिम समुदायले गरेको चक्काजाममा हामी आधाघण्टा रोकिनुपर्यो । विजयबाबुले त्यहाँका आयोजकसँग कुराकानी गरेपछि प्रेसको परिचयपत्र देखाएर गाडीमा प्रेस लेखेर हामी फेरी अगाडी बढ्यौं । शम्शेरगन्जको जंगल आइपुग्दा विजयबाबु गाडी साइड गर्नुभयो र हामी गाडीबाट निस्कियौं त्यहाँ हामीले कागती पानी खायौं र केही फोटोहरु खिच्यौं । मैले विजयसरको फोटो धेरै लिइरहेको थिए । त्यसको आभाष विजयबाबु थाहा पाएपछि मैले ठट्टा गर्दे भने यो देशमा बच्चु कैलाश र विजयसरको फोटोहरु दुर्लभ छन् त्यसैले आज खिच्नुपर्छ यसो भन्दा विजयबाबुको मुस्कान केही बढ्यो र भन्नुभयो ल ल राम्रो राम्रो फोटो खिच त मेरो फोटो खासै धेरै छैनन् । त्यसपछि मैले उहाँको केही फोटोहरु लिए ।

नेपालगन्ज पुगेपछि हामी होटल स्नेहामा बस्यौं । साँझमा पुगेका कारण व्यस्त समयका बाबजुद धेरैसँग छलफल भयो । धनगढी जाने हाम्रो योजनालाई हामीले छोटो बनाउँदै हामी हेटौडा बस्नुपर्ने हुनाले उतै जानपर्छ विजयबाबु यस्तै भनेपछि हामी विहान नेपालगन्जबाट हेटौडा गन्तव्य बनाएर हिड्यौं । देउखुरी भन्ने ठाउँमा गएर हामीले खाना खायौं । त्यहाँ विजयबाबु हरियो साग टिप्न लगाएर आफै पखाली आफै पकाउनुभयो ।
विजयबाबु हरियो साग खुब मन पराउनुहुन्थ्यो । खानाको साथमा उहाँलाई हरियो साग चाहिने अनिवार्य जस्तै थियो । खाना खाएर हाम्रो यात्रा अगाडी बढ्यो । हामी नवलपरासीको मणीग्राममा बस्ने की हेटौडा जाने भन्ने विषयमा पनि सल्लाह गर्यौ । बाटोमा पर्ने हुनाले सञ्जय दाईकोमा फेरी पस्ने की भन्नुभयो विजयसरले मैले सिधा जाउ भो हिजो पसेको सकभर आज हामी हेटौडा पुग्नुपर्छ किनकी भोलीबाट काम गर्नुपर्छ भने विजयबाबुले पसेर जाउ भनेपछि हामी सञ्जय दाईकोमा पस्यौं । एकैछिन बसेर हामी त्यहाँबाट निस्क्यौं । यसपछि विजयबाबुले गाडीको चापी चालक वीरबहादुरलाई दिनुभयो । वीरबहादुरले गाडी अगाडी बढाए विजयबाबु चालकसिटको पछाडीको सिटमा बस्नुभयो र हेटौडाको संवाददाता रुपेश दुलाललाई भोली हुने कार्यक्रमको बारे सोध्दै हुनुहुन्थ्यो । गाडी सालझण्डीमा पुग्दा एउटा साइकलले बाटो काट्यो हाम्रो गाडी साइकलसँग ठोकियो मैले साइकल र मान्छे उछिटिएको देखे त्यसपछि हाम्रो गाडी पाँच छ पटक पिच सडकमा पल्टियो ।

ठूलै हुरी आएजस्तो आभाष भयो, जताततै कोलाहल भयो, एकैछिन अन्धकारले संसार नै ढाक्यो । पल्टिएको गाडीबाट म बाहिर निस्के बाहिर निस्किदा मान्छेहरु कराउँदै जम्मा भैसकेका थिए । केही पर विजयबाबु पल्टिनुभएको थियो उहाँको टाउकोबाट धेरै रगत बगेको थियो । लीलाले उहाँको टाउको समातेर विजयदाई विजयदाई  भन्दै हुनुहुन्थ्यो गाडीबाट डीआर सर कराएको आवाज सुने उहाँलाई बाहिर निकाले, झोलालगायतको सामानहरु निकालेर एक ठाउँमा राखे र राधिकालाई बाहिर निस्कन सहयोग पुराए । वीरबहादुर आफै निस्किए । यति भैसकेपछि मैले दुर्घटनाको केही फोटो खिचे केही छिनमा प्रहरी आइपुग्यो उसले एउटा स्कुल बस रोक्यो र हामीले विजयबाबु, लीला, राधिका, डिआर सरलाई राखेर उपचारका लागि बुटवल पठायौं । विजयबाबुलाई ठुलै चोट थियो, डिआर सरको कम्मरमा चोट थियो । राधिकालाई छाती र खुट्टामा लागेको थियो भने लिलालाई टाउको र कानमा लागेको थियो । चालक कता गयो थाहा भएन । युवराज र मलाई रगत नआएकोले एकैछिन त्यहाँ बस्यौं पछि प्रहरीले एउटा कार रोक्यो र हामीलाई पनि अस्पताल पठायो । अस्पताल पुगेको एकैछिनमा डाक्टरले विजयबाबुलाई मृत घोषित गर्यो । सन्नाटा छाएजस्तै भयो । निरिह बन्यौं हामी, आँखाभरी आँसु आए । एउटा यात्रामा पूर्णविराम लाग्यो । सधै नयाँ केही गर्ने खोज्ने अभिभावक गुमायौं । मनभरी विजयबाबुको अनुहार आइरहेको थियो । वैभव र भाउजुको सम्झनाले झन मन पोल्दै गयो ।
भोलीपल्ट विहान काठमाण्डौंबाट शिशिरसर सहित कारोबारको प्राय सदस्य र अन्य आर्थिक पत्रकारहरुको टोली आउनुभयो । विजयबाबुको पोष्टमार्टमपछि उहाँको पुख्यौली घर स्याङ्जाको राम्दीघाटमा दाहसंस्कार गर्ने कुरा भयो । म पनि अन्तिम संस्कारको कार्यक्रममा सहभागी बन्न र त्यसैबाट घर बागलुङ जाने सोचेले अघि बढे । डिआरसर सहित अन्य साथीहरु प्लेनबाट काठमाण्डौं जाने पक्का भयो । राम्दी पुगेपछि विजयबाबुको शवलाई जलाइयो । हेर्दाहेर्दे विजयबाबु खरानी बन्दै जानुभयो । मेरा आँखा टिलपिल टिलपिल गरिरहे । कहाँको यात्रा कहाँ पुगेर टुङ्गियो । खरानी उडेर शरिरमा आयो मैले टकटकाए । फेरी अर्काे चोटी टकटकाउने बेला अब यही खरानी त हो त्यही पनि जान्छ किन टकटकाउनु भन्ने सोचे र फर्के मलामीहरुसँग विजयबाबुको मृत्युको साझी बनेर । सम्झनामा सधै रहनुहुुन्छ ।। श्रद्धासुमन विजयबाबु ।

विजयबाबुले आफुले आफ्नो समयमा गरेको पत्रकारिताका धेरै अनुभव मलाई सुनाउनुभएको थियो । बैदेशिक रोजगार र सुचना प्रविधी उहाँका मनपर्ने विट र धेरै समय गरेका पत्रकारिता थियो । आज, म कारोबारपछि नागरिक दैनिकमा पनि यही विटमा काम गरिरहेकोछु । विजयबाबुको सम्झना लिएर ।

No comments:

Post a Comment