Pages

Wednesday, October 30, 2013

जगदिश घिमिरे: जीवन बुझ्ने लेखक

‘माइलोमा' भन्ने रक्तक्यान्सर जब भयो उनी थला पर्दै गए । तर, रोगलाई जितेर पनि विभिन्न कार्यक्रम र समारोहमा जगदिश घिमिरेको उपस्थिती हुने गरेको थियो । घिमिरेबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा हो । आत्मबल । जो रोगसँग लडेर आफ्नो जीवनलाई पुस्तकमा उतारे । पुस्तकलाई जीवन र जीवनलाई पुस्तक बनाउने लेखक घिमिरे ६८ बर्षको उमेरमा अन्तिम कृति सकस हामीमाझ छोडेर बिहिवार प्रस्थान गरेका छन् ।



लेखकसँगै सामाजिक कार्यकर्ताको छबी बनाएका घिमिरेका दर्जनौं पुस्तकहरु प्रकाशित भएपनि आफ्नो जीवन भोगाइका विषयमा अस्पतालको शैश्याबाट लेखिएको कृति 'अन्तर्मनको यात्रा'ले थप उचाइमा पु¥यायो । यो आत्मवृतान्तको कृति लेख्दा घिमिरेलाई बेला बेला घोचेपनि उनले नेपाली पाठकलाई पुस्तकमार्फत आफुलाई चिनाएका छन् । आफ्नो गाउँ रामेछापमा तामाकोशी सेवा समितीमार्फत सामाजिक क्रियाकलापमा लागेको घिमिरेले भेटमा युवाहरुलाई हौसला प्रदान गर्दै लेख्नका लागि मनोबल बढाउँथ्थे ।
घिमिरेले 'लीलाम', 'साबिती' उपन्यास लेखेका छन् भने उनले कविता, कथा, आत्मकथाका कृतिहरु पनि प्रकाशित गरेका छन् । २०६३ मा माइलोमा देखिएपछि पनि उनले 'अन्तर्मनको यात्रा' र 'सकस'सहित 'अग्निसुत्र' कविता र 'स्थान काल पात्र' विविध गद्य संग्रह प्रकाशित गरेका छन् । पछिल्लो पटक रोजा कथा र टिप्पणीहरुका लागि सक्रिय रहेका उनी क्यान्सर बल्झिएपछि ३५ दिनअघि ओम अस्पतालमा भर्ना भएका थिए ।
पत्नी दुर्गा घिमिरेले हरेक समय र पलमा उनलाई साथ दिइरहिन् । जगदिशको हरेक काममा महत्वपूर्ण भूमिका खेलिरहेकी दुर्गाले जगदिश बिरामी हुँदा पनि घरदेखी अस्पतालसम्म नियमित रुपमा उनको हेरचाह गरिरहिन् तर अस्पतालमा उनलाई उपचार गराइरहँदा भने पछिल्लो पटक नजिक भने जाने आँट नगरेको खबर आयो । अस्पतालमा समय हेरेर घिमिरेलाई सहज भएको बेला आफन्तलाई बाहेक अन्यलाई भेट्न भने दिइएको थिएन् । दुर्गा घिमिरे नेपाली चेलिबेटी बेखविखन विरुद्ध सक्रिय सामाजिक कार्यकर्ता पनि हुन् ।
मदनपुरस्कार बिजेता घिमिरेले टिव्टरमा आफ्नो अन्तिम टिव्टमा भनेका छन् "किताबको साटो महँगा रक्सीमा रित्तिएका बोतलमा फिका चिया भनेर पनि बैठक सजाउँछन् । अपवाद पाठकहरु मेरा किताब बोकेर अटोग्राफ गराउन भने आएका छन् ।" घिमिरे टिवटरमा अन्तिम प्रतिउत्तर भने बसन्त बस्नेतलाई दिएका छन् ।
उनले अर्काे टिवटमा भनेका छन् । "किताब किनेर पढ्न सक्नेहरु पनि मागेर पढ्छन । धनीहरु मसँग मेरा किताब माग्न आएका छन् । किताब किन्ने र सजाउने सँस्कृती अपवाद जस्तै छ ।"
घिमिरेले लेखेको अर्काे टिव्टले भने मान्छेको रुप देखाउँछ । उनी भन्छन्, "मान्छे भन्नु उसको औकात हो । हरेकले आफ्नो औकात अनुसार बाँच्छ, गर्छ, मर्छ, बोल्छ, लेख्छ, मित्र र शत्रु बनाउँछ, सिंगौरी खेल्छ, अंकमाल गर्छ ।"
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको अनुभव भएका घिमिरेले आफ्नो साहित्यिक र अखबारी लेखनीसँगै विकास र सामाजिक उत्थानमा आफ्नो समय पनि खर्चिएका छन् । आफ्नो जीवन छोटिदै गएको थाहा पाएका घिमिरेले आफ्नो समयलाई सकभर भरपुर उपयोग र प्रयोग गरे । त्यसैको परिणाम हो । नेपाली साहित्यको ओजनदारकृति 'अन्तर्मनको यात्रा' र 'सकस' ।
'सकस'ले नेपाली राजनैतिकको अवस्थालाई चित्रण गरेको छ । यो पुस्तक अझ भविष्यमा सान्दर्भिक हुने देखिन्छ । उत्तम शान्ति पुरस्कार समेत पाएका घिमिरेले आफ्नो जीवनलाई नै पुस्तकमा बदले ।
लेखक सष्ट्रा राष्ट्रका निधी हुन् । उनीहरुले आफ्नो कृतिमार्फत देशलाई धेरै कुरा दिएका हुन्छन् तर राष्ट्रको उपेक्षामा सधै यस्तै लेखक सष्ट्रा र समाजसेवी पर्ने गरेका छन् । घिमिरेले पछिल्लो पटक देशको चिन्ता व्यक्त गर्दै आफ्नो अखबारी लेखनमा नियमित लेख्ने काम गर्दै आएका थिए । तर, देशले सर्वाधिक सम्झनलायक लेखकलाई मृत्यु शैश्यामा हुँदासमेत सम्झेन ।
घिमिरेको प्रस्थानले क्षतविक्षत भएको नेपाली साहित्यलाई केही मल्हम भने उनले लेखेर छोडेका रचनाले दिनेछ । जुन सिकिस्त हुनुभन्दा पहिला उनले लेखिरहेका थिए । आशा गरौं । घिमिरे फर्केर नआएपनि उनका प्रकाशोन्मुख कृति चाँडै आउनेछन् । र, हामीले स्पर्श गर्दै सुम्सुमाउन पाउने छौं ।

1 comment:

  1. हार्दिक श्रध्दाञ्जलि, उहाँको आत्मालाई चीर शान्ति मिलोस्। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ....

    ReplyDelete