Pages

Thursday, July 10, 2014

नमस्ते हराउला होसियार...

पहाडकी रानीको उपमा पाएको दार्जिलिङ पुग्न मोड र घुम्ती त्यती पार गर्नुपर्छ की टिस्टा बजारबाट उकालो लागेपछि हातमा रहेको पानीको एक बोत्तल दार्जिलिङ नपुगेसम्म पुरै सकिन्न । जब पानी खान मुखमा राखिन्छ, घुम्ती आइहाल्छ अनि पोखिन्छ ।

थुम्को थुम्कोको सहर दार्जिलिङ पुग्दा भिरालो जमिनमा अडिएका घर र हरियाली चियाको बगानले मात्र आकर्षित गर्दैन् । नेपालबाहिरको नेपाल दार्जिलिङ नेपाली सम्भता, भाषा, साहित्यको विम्वको रुपमा पनि उस्तै अडिग छ । नेपालीपन सिक्न पनि दार्जिलिङ खुल्ला ऐना नै भएको छ । प्रायःको बोल्ने शैली, अतिथीलाई प्रदान गर्ने सत्कार र नेपाल चासोले सजिलै जोकोही घुलमिल हुन्छन् ।  दार्जिलिङका नेपालीहरु आफुहरु नेपालीभाषी मात्र होइन नेपाली नै हो भन्न रुचाउँछन् । उनीहरुलाई दिल्लीभन्दा काठमाडौं प्यारो लाग्छ । नेपालको चिन्ता पनि उस्तै गर्छन् ।

गोर्खाल्याण्डको मागको कारण आन्दोलनबाट भर्खर तङ्ग्रिएको दार्जिलिङमा भेटिएका लक्ष्मीनारायण अधिकारी नेपाललाई माया गर्ने, नेपालको चासो लिने र चिन्ता व्यक्त गर्ने एक त्यस्तै पात्र हुन् । दार्जिलिङ छिन्पोसका ५३ बर्षिय अधिकारी सेन्ट पाल स्कुलका एक सामान्य गार्ड हुन् । विभिन्न उच्चपदस्थ व्यक्तिहरुले अध्ययन गरेको र बलिउड चलचित्र समेत सुटिङ भएको सेन्ट पालमा भ्रमण गर्ने बाक्लिदै गएका छन् । त्यहाँ पुग्ने जोकोहीले अधिकारीलाई मुल गेटमा नै भेट्छन् । पहिलो अनुमती उनको लिएपछि मात्र स्कुलमा प्रवेश गर्ने पाइन्छ । यदी त्यहाँ पुग्ने कोही नेपाली छ भने उनले नेपालप्रतिको आफ्नो भावना सुनाइहाल्छन् । यदी कुनै गुनासो र सन्देश छ भने काठमाडौंलाई गएर भनिदिनु भन्न समेत उनले छुटाउँदैनन् । “नेपालीले दार्जिलिङलाई छेहत्तरे भन्ने गरेका छन् । हामी नेपाली नै हो । हामी सिमाभित्र अटेनौ तर कृपया भौगोलिक दुरी नबढाइदिनु ।” स्कुलभित्रको प्रवेश अनुमती माग्ने बेलामा उनले भने । यही कुराले आकर्षित गरेपछि हामी रोकियौं उनी गफिदै अघि बढे नेपालमा किन स्थिरता छैन । एउटा सामान्य गार्डले नेपालप्रति गम्भिरता प्रकट गरेपछि मुलद्धारको छेउमा गफिदै जाँदा उनी कवि ह्ृदयको पनि पाइयो ।
हाय हाय कठैबरी आज नेपाल रुनु न हाँस्नु भयो ।
बहुदलको दलले दलेर त्यो नेपाल मर्नु न बाँच्नु भयो ।
प्रजातन्त्र, मन्त्र र यन्त्रहरुको लाग्दैछ सातो गयो ।
हाय हाय कठैबरी किन नेपाल यति धेरै विरानो भयो ।
शार्दुलबिक्रिड छन्दमा छकी छैन थाहा भएन तर उनले लय र स्वर उस्तै बनाएर भने । नेपालमा धेरै दल भएको र त्यही दलको आपसी खिचातानीमा नेपाल विरानो बन्दै गएको अर्थाउन समेत उनले भ्याए । नेताहरु जनतालाई थिचेर मिचेर हिँडिरहेको र सबै नेताले आफै मात्र जित्नुपर्ने हारेर त्याग गर्ने नसक्ने बताउँदै अधिकारीले अर्काे टुक्रासमेत सुनाउन भ्याए ।
किचेर र मिचेर
के के हुन्च थिचेर
एकदिन हामी जानुपर्छ
संसारबाट बितेर
के के हुन्छ जितेर
हतारमा रहेका जोकोही पनि उनको कुरा र कविता सुन्नलाई धैर्य भने राख्छन् । सामान्य तरिकाले प्रस्तुत हुने उनका प्रत्येक कुरामा र कवितामा नेपालीपन मात्र झल्कदैन घोचपेच र व्यङ्गमार्फत पनि आफ्नो अभिव्यक्ति प्रस्तुत गर्छन् । राजाले देश चलाउन खोज्दा र जनताप्रति उत्तरदायित्व नहुँदा पनि उनले प्रतिकात्मक शब्द कोरेका रहेछन् । विगतमा पुग्दै उनले भने मैले त्यो बेलामा पनि राजालाई भनेको थिए ।
नमिली बज्ने के बाजा
पेटै नभरी नी के खाजा
त्यो गुन्द्रुक के ताजा
दया बिनाको के राजा ।
तेह्थुमबाट पुस्ताको बसाई सराई गरेपछि दार्जिलिङ पुगेका अधिकारी सेन्ट पाल स्कुलमा एउटै पदमा काम गरेको ३० बर्ष भयो । ३ छोरा १ छोरीको बुबा समेत रहेका उनी  अहिलेसम्म काठमाडौं भने पुगेका छैन् । जान मन त लागेको छ तर साइत जुरेको छैन । उनले भने । केही बेर गफिदै गएपनि बेला बेलामा उनको कविता भने झरिहाल्थ्यो । एउटा अर्काे सुनाइहालौ यो अवस्थामाथीको व्यवस्थाको विषयमा छ, ।
घरबुढो म भैराको
घरको पत्नी भने रोइराको
छोराछोरी त्यहीमाथी हेर लबम्यारिज गर्दै डिस्कोतिर गैराको
हेर्दा त मलाई लाग्दैछ । सप्पै खेर गैराको
मुर्ख की सज्जन के भन्नु
जातित्व बचाउने भैराको
सम्पत्ती पाइ केही नसोची पशुले जस्तै खाइ राको
रगतको नाता भुलेर हेर पागल जस्तै भैराको
उनको कुरा र कविता सुन्दै जाँदा सेन्ट पाल स्कुल भित्र प्रवेश गर्न नै भुलियो । एकैछिनपछि स्कुल घुमेर फर्किदा उनले भने
हजुरको बोली हलो भो त्यही त मलाई खल्लो भो ।
आफ्नो भेषभूषा भनौं भने कुन कुनामा डल्लो भो ।
आफ्नो भेषभुषा भुलेर कुन कुनामा जाँदा भलो भो ।
हजुरको बोली हलो भो त्यही त मलाई खल्लो भो ।

गाडी चढ्दै गर्दा उनले कवितालाई अर्थाउँदै भन्न थाले हामी नेपालीको एउटा पहिचान नमस्ते हो भेटिदा र छुटिदा नमस्तेले हामीलाई अझ नजिक बनाउँछ । म त पदले सानो मान्छे हुँला मलाई नमस्ते पर्देन तर हामीकहाँ आफुभन्दा बडालाई भेट्दा पनि हलो भन्ने चलन बढेको छ नमस्ते हराउदै गएको छ, त्यसैले होसियार नमस्ते हराउला । उनले यति भनेपछि गाडी गुड्यो मनमा आफुभन्दा ठूला व्यक्तिलाई भेटिदा र छुटिदा नमस्ते नभनेकोमा थकथक भने लागिरह्यो ।

No comments:

Post a Comment