Pages

Wednesday, May 7, 2014

सधै मुस्कुराउँछ घलेगाउँ (तस्विरसहित)

हाँस्दा देखिने दन्तलहरजस्तै लहरै मिलेका सेता हिमाल, कालिगढले कुँदेरै मिलाएर बनाएको जस्तो चटक्क मिलेका गाउँहरु । लमजुङको घलेगाउँको विशेषण यति थपेर मात्र पुग्दैन । मौलिक परम्परादेखि रहनसहन अनि हावापानीले घलेगाउँ नपुग्नेलाई पनि आफ्नो गन्तव्य सुचिमा पार्दै आइरहेको छ ।


सार्क भिलेजको समेत उपाधी पाएको घलेगाउँ स्वदेशी विदेशी पर्यटकको गन्तव्य बनिरहेको छ । हिमाल मुन्तिर रहेको यो गुरुङ गाउँमा पुख्यौली परम्परामा नै पाहुनाहरुलाई स्वागत र विदाइ गरिन्छ । कुनै होटल नभएको यो गाउँमा होमस्टेको अवधारणाबाट पाहुनालाई स्वागत र सत्कार गर्ने चलनले नेपालमा होमस्टेको अवधारणालाई व्यापकतासमेत बनाइदिएको छ । चुल्होमा बसेर गृहणीले पकाएको स्थानिय परिकार खान पाउनु र घरमा अतिथीलाई सत्कारसँग राख्नु घलेगाउँको संस्कार हो । गाउँमा पहिलो पटक पुग्नेलाई आजै यतै बसौं न, थाक्नुभएको होला भन्दै सत्कार गरेर गाउँकै स्थानिय खाना खुवाउने गाउँलेले भोलीपल्ट विहान टिका र माला लगाएर राम्रोसँग जानु भन्दै विदाई गर्छन् ।

माछापुच्छ्रे्र, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश लगायतका हिमश्रृखलाहरु एक नजर डिलाउँदा देख्न सकिने घलेगाउँ वास्तवमै अनुपम र मनोरम छ । मस्र्याङदी, मिदिम, तथा खुदी लगायतका जलाधारले घलेगाउँ र आसपासलाई अझ सुन्दरता थपेको छ ।
ग्रामिण पर्यटनको कारण गाउँमा रोजगारीको अबसर सिर्जना हुनुको साथै आय आर्जन हुन थालेको छ । ग्रामिण पर्यटनको कारण गाउँमा बुढापाका, आमा समुह र युवायुवती सबैले काम गर्ने अबसर समेत पाएका छन् । दैनिक सयौंको हाराहारीमा घलेगाउँमा पर्यटक पुग्ने थालेपछि घलेगाउँलाई अझ प्रचारप्रसार गर्ने स्थानिय लागेका छन् । 

ग्रामिण पर्यटनसंगै गाउँ सार्क राष्ट्रको नमूना गाउँमा छनोट भएपछि निरन्तर रुपमा गाउँमा नयाँ नयाँ तरिकाले काम हुन थालेको ग्रामिण पर्यटन विकास समिती घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । हामी अहिले गाउँमा के गर्ने सकिन्छ र पर्यटक कसरी भित्राउन सकिन्छ भनेर लागिरहेका छौं,उनले भने । घलेगाउँमा यो छ त्यो छ भन्दा पनि सम्रग घलेगाउँलाई नै ब्राण्ड बनाउँदै छौं, एकचोटी जो आउँछन् रमाएर फर्केन्छन्, उनले भने ।
अहिले विस्तारै घलेगाउँमा मोटरबाटो, बिजुली, टेलिफोन र अन्य भौतिक सुबिधा थपिदै गएको छ यसले गर्दा स्थानियदेखि पर्यटकलाई समेत सहज भएको गाउँलेहरु बताउँछन् ।

२०५६ सालमा ग्रामिण पर्यटनको अबधारण शुरु गरेपछि घलेगाउँमा लाखौं पर्यटक पुगिसकेका छन् । गाउँलाई प्रचारप्रसार गर्ने वर्षवर्षमा घलेगाउँ महोत्सव समेत हुने गरेको छ ।
साँघुरो बाटोबाट गाउँ घुम्ने, सधै चिसो मौसमको मज्जा र आँखा ठोक्किने हिमालले छोटो समयमा गएका पर्यटकको बसाई समेत लम्बाइदिने गर्छ, वरिपरि लालीगुराँसको जंगल, १५ रोपनीमा फैलिएको चियावारी र पुरै गाउँ रहनसहनको म्युजियम लाग्दा जो कोहीलाई आहा भन्न करै लाग्छ । हाइकिङ, ट्रेकिङ गर्नेको प्राथमिकतामा पर्दै आएको घलेगाउँ पछिल्लो पटक हनिमुन मनाउने जोडीको पनि रोजाई बन्दै छ ।

वेसिसहरबाट पर्यटकहरु पैदलमार्फत मनाङ ट्रेकिङ जाने हुँदा एक दिनका लागि घलेगाउँ पुग्ने आफ्नो तालिका मिलाउन समेत थालेका छन् । गन्तव्य मनाङ भएपनि घलेगाउँ पस्ने अधिकाँशको चाहना हुन्छ् । वेसिसहरबाट २५ किलोमिटरमात्र टाढा घलेगाउँको भौगोलिक वनावट र मौलिक संस्कृतीले नपल्कने कमै हुन्छन् ।
काठमाडौं बालाजुकी सुनिता श्रेष्ठले घलेगाउँ अहिलेसम्म घुमेको ठाउँमध्ये अति मनोरम रहेको बताइन्, नेपालमा नै यति धेरै सुन्दर ठाउँहरु छन्, घलेगाउँको मौलिक लवज, संस्कृती, खानादेखि प्राकृतिक सुन्दरता सबैले मन छोयो, उनले भनिन् । अब वर्षको एकचोटी यो गाउँ आउने निधो गरेको छु, उनले योजनासमेत सुनाइन् ।

समुन्द्री सतहबाट २ हजार ७० मिटरको उचाइमा रहेको घलेगाउँमा १ सय २० घरधुरी भएपनि ३२ घरले होमस्टेबाट सेवा दिइरहेका छन् । गाउँमा बस्ने पाहुनाले झ्याउरे, सेर्का, घाटु, दोहोरी, कृष्ण चरित्र, झाँक्री नाचलगायत साँस्कृतिक स्वाद पनि लिन पाउनेछन् ।


No comments:

Post a Comment