Pages

Sunday, January 4, 2015

उचाइ नभएको सहर (पुस्कर शाह घुमेको तर पुस्तकमा उल्लेख नभएको एउटा सहरको बर्णन )

भोलीको यात्रा नेपालतिर । यति सोचेर म सुते ।
बिहान भारतको सुनवलबाट नेपालको सुनौली छिर्न अध्यागमन पुगे । यहाँ पनि अध्यागमनका प्रहरीले मेरो पासपोर्ट ओल्टाइपल्टाइ हेरे । आनाकानी गरिरहेका थिए । मसँग अमेरिकी एक डलर र भारतीय ५० थियो । कुन दिउ कुन राखौं सोचमा परे । भएको पैसा नै यत्ति । गोरखपुरमा हरिविलासले हिजो राती डिस्को नजाउ भनेको भए त कम्तीमा गोजीमा २ हजार भारतिय रुपैयाँ त हुन्थ्यो । तरपनि २ हजार गएर मन दुखी छैन । ३ वटा वियर खाएर इण्डियन आइटमसँग जो नाचियो ।
५० आइसी दिएर नेपाल छिरे । छिर्ने बेला यता र उता साइकलमा सामान ओसार्नेको उस्तै भिड दुवै देशका प्रहरी पाँच दस घुस खाँदै सामान लैजान दिइरहेका थिए । गरिबीले इमानदारिता देखेन या पैसाले । प्राय देशका पुलिसको व्यवहार उस्तै ।


पायडल मच्चाउँदै तराइको समथर पिचमा साइकल कुदाउन मज्जा नै आयो । नेपाल छिरेकै दिन लुम्बिनी गएर गौतम बुद्ध जन्मेको ठाउँ हेरे । बुद्धको बारेमा सानैदेखि सुनेको । नेपालमा जन्मेका रे । भग्नाअवशेष र जिर्णेउद्धार बुद्ध जन्मेको ठाउँ घुमेर नवलपरासीतर्फ मोडिए । नवलपरासी आएपछि साइकललाई बसको माथी राखेर काठमाडौ हिडे । बस कलंकी भन्ने ठाउँमा रोकियो ।
साइकलबाट काठमाडौं सहर घुम्न थाले । सुन्दर देश भनेर सुनेको अहो कस्तो भ्रममा रहेछु । अस्तव्यस्त ट्राफिक, धुलो धुँवा उस्तै । सडकमा साइकल कुदाउने ठाउँ पनि छैन । मान्छे, गाडी, गाइभैसी, साइकल सबै एउटै लेनको बाटोमा । फुटपाथमा नाङ्लोमा पसल राखेर बस्ने र माग्नेहरुको भिड । अझ माइकमा चिच्चाइ चिच्चाइ मागिरहेका । सडकमा खाल्टाखुल्टी, हिलो पनि । तारहरु अव्यवस्थित रुपमा राखिएको । पर्खाल फिल्मका पोष्टरहरुले भरिएको । भारतिय फिल्म पनि चल्दो रहेछ । पोष्टर छ्याप्पछ्याप्ती । सगरमाथाको उचाइ जस्तो सहरको उचाइ रहेनछ । संसारको अग्लो हिमाल सगरमाथा यही देशमा पर्छ ।
माओवादी युद्धबाट भर्खर मूलधारको राजनीतिमा आएको रहेछ । सरकार पनि चलाइसकेको रे । संविधान बन्ने तरखरमा रहेको देशको राजनीति अस्थिर नै रहेछ । केहि बर्षअघि राजदरबारभित्र नै राजपरिवारको हत्या भएको रे । बाहिर सुनिदा त शान्तिपूर्ण देश नेपाल सुनेको थिए । सबै भ्रम ।
काठमाडौंको बसन्तपुर, ठमेल, दरबारमार्ग घुमेपछि ललितपुर र भक्तपुर पनि घुमे । सम्पदा भने भएको देश रहेछ तर जोगाउन को आउँछ भनेर कुरेर बसेको जस्तो देखिने । घुम्दै गर्दा विदेश जान पासपोर्ट बनाउन लामो युवाहरुको लाइन लागेको पनि देखियो । त्यही ठमेल नजिक । देश बनाउने युवा, देश छोड्न नै हतारमा थिए ।
बेलुका कहाँ बस्ने भन्ने सोच्दै थिए । इन्डियाबाट हरिविलासले ठमेलकै एक होटलमा बास मिलाइदिएको रहेछ । रविन भन्नेसँग कुरा भएपछि होटलको ठेगाना पत्ता लाग्यो । ठमेलको रंगिन रातमा केहिबेर मन डुलाइयो । साइकल डोराएर हिड्दा एउटा थर्ड सेक्सले समाउन खोजेर धन्न फसाद । उम्केर होटलमा पुगे । भोलीको यात्रा कता गर्ने भन्ने सोचले कतिखेर निदाएछु । पत्तै पाइन ।


पुनश्च: पुस्कर शाह अन्य देशबाट विश्व साइकल यात्रा गर्दै नेपाल आएको भए के लेख्थे होला भनेर ब्लगरले कल्पना गरेको यात्रा संस्मरण । :)

No comments:

Post a Comment