Pages

Sunday, November 8, 2015

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल र याहुलाई टक्कर दिने परियोजना तयार पारे।
सन् २००९ मा उनले सगुनडटकम नामबाट सुरु गरे– सर्च इन्जिन। सुरु भएको दुई महिनामै उनले सोचेजस्तो सफलता पनि पाए। भिजिटर संख्या ह्वात्तै बढ्यो। बढी भिजिटर भएर सर्भरले कामै नगर्ने अवस्था पनि आयो। ६ महिना पुग्दानपुग्दै उनलाई गुगल र याहु कम्पनीबाट सोधखोजसमेत भयो। उनी झन् हौसिए। मनमनै रमाए। अब सोचेको सफलता टाढा छैन।


अमेरिकाको भर्जिनियाबाट मंगलबार फोनमा नागरिकसँग कुराकानी गर्दै गिरीले भने, 'गाउँमा रेडियो बिगारेर प्रविधिसँग अभ्यस्त भएको थिएँ, अमेरिकामा प्रविधिका 'भेटेरान' कम्पनीले आफ्नोबारे जानकारी लिँदा कसको मन फुरुंग नहोला। 'एकपटक लामो सास फेरेँ अनि अनेकन सपना साँचेँ,' उनले भने।

गुगलबाट तत्कालीन डाइरेक्टर अफ बिजनेसले फोन नै गरेर गुगलबाट के अपेक्षा छ भनेर प्रश्न गरेको गिरी बताउँछन्। एउटा स्टार्टअप कम्पनीलाई सबैभन्दा पहिला आवश्यक हुने फाइनान्सको कुरा थियो। मैले चार मिलियनको विज्ञापन सम्झौता गर्न गुगललाई आग्रह गरेँ।

गुगलमात्र होइन, याहुले पनि चासो देखायो। सगुन र याहुबीच पनि सम्बन्ध सुरु भयो। सगुनमा याहुको विज्ञापन देखाउने सम्झौता भएपछि उनी झन् फुरुंग भए। सगुनको साइट खोल्दा याहुको विज्ञापन देखाएबापत याहुले ८० प्रतिशत दिने भयो।
...

उनी अर्थशास्त्रमा पिएचडी गर्न चाहन्थे तर भइदिए कम्प्युटर इन्जिनियर। संखुवासभाको आँखीभुइँमा जन्मेका गिरीको नेपालदेखि अमेरिका र अमेरिकादेखि नेपाल यात्राको कहानी फरक–फरक छ। २०४३ सालमा पहिलोपटक गाउँबाट काठमाडौं छिरेका गिरीले रत्नराज्य क्याम्पसमा आइए र बिएसम्मको अध्ययन गरेका थिए। जब मास्टर्स अध्ययन गर्न कीर्तिपुरमा धाउँदै थिए, उनलाई अमेरिकामोहले समात्यो। त्यसपछि सन् १९९४ मा उनी अमेरिका हान्निए।

नेपालमा छँदा आइए र बिए नेपाली र अर्थशास्त्र अध्ययन गरेका लोहनी खासमा अर्थशास्त्रमा विद्यावारिधि गर्न चाहन्थे। नेपालको स्थापित अर्थशास्त्री हुन चाहन्थे। सपना सधैँ आफैँले देखेको लयमा बग्दैन। उनको सपना अर्काे पनि थियो– प्रविधि।

सानो छँदा रेडियो बिगारेर आफैँ मर्मत गर्ने उनी त्यसैताका प्रविधिमा अभ्यस्त भएका थिए। काठमाडौं आएपछि पुतलीसडकको गौतम कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटरसँग पहिलो साक्षात्कार गरेका उनी नेपाली र अर्थशास्त्रको पढाइ छाडेर अमेरिकामा कम्प्युटर साइन्ससँग नजिक हुन पुगे।

टेलिफोनमा नागरिकसँग गफिँदै गिरीले भने, 'मैले सानोमा अर्थशास्त्रमा पिएचडी गर्ने सोच राखेको थिएँ तर जब कम्प्युटर छोएँ, मेरो सोचाइ परिवर्तन भयो।'

त्यही सोचाइले जन्मेको हो– सगुनडटकम। खासमा उनलाई याहु र गुगल सर्च इन्जिनको विशेषताले ध्यान तानिरहेको थियो। 'न्युज सर्च गर्दा ग्रुप देखाउने तर वेब सर्च गर्दा १० वटा सिंगल लिंक आउने भएपछि उनले वेब पनि गु्रपमा किन नआएको भन्दै अध्ययन र अनुसन्धान गर्न थाले र त्यसको महँगो प्रविधि एलएटी र एसभिडी प्रविधिबारे थाहा पाए।

उनी अहिलेको सर्च इन्जिनभन्दा छिटो र खोजेको कन्टेन्ट तत्काल पाउन सकिने सर्च इन्जिन बनाउन चाहन्थे। त्यसका लागि भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका कम्प्युटर साइन्सका प्रोफेसर निला›ी चटर्जीसमक्ष पुगेर पत्ता लगाएको बताउँछन्। त्यही सूत्र प्रयोग गरेर नयाँ सर्च इन्जिन सुरु भएको थियो– २८ जनवरी, २००९ मा।

सर्च इन्जिन बनाउँदाताका नै उनी रातदिन घोरिइरहन्थेे। गिरी भन्छन्, 'म कयौं रात सुतेको पनि थिइन। 'याहु र गुगलले साझेदारी देखाइरहेको अवस्थामा थप सफलता कसरी मिल्छ भन्दै म रिसर्चमा लागेको थिएँ,' उनले भने।

'सन् २००६ देखि रिसर्च गरेर अनेकौँ योजना बनाई यस क्षेत्रमा प्रवेश गरेको हो,' उनले भने। 'योबाहेक अरु विकल्प नै छैन भनेर यसमा काम अगाडि बढ्यो।' सर्च इन्चिन सुरु गर्दा २ लाख ८० हजार डलर खर्च भइसकेको थियो। गुगलसँग ४ मिलियनको सम्झौता गर्ने कुरा भयो तर पछि सम्झौता नगर्ने भन्यो।

त्यो बेला आर्थिक मन्दीको अवस्था थियो। गुगलले आर्थिक मन्दीको कारण देखाएर सम्झौता गरेन, उनले भने। गुगलले दोस्रोपटक फोन गरेर आर्थिक मन्दीका कारण सम्झौता नगर्ने बताए पनि अरु के सहयोग गर्न सकिन्छ भन्दै प्रश्न गरेपछि उनी खिन्नचाँहि भएनन्।

याहुसँग एक सातापछि सम्झौतामा हस्ताक्षर हुँदै थियो। 'कनेक्टिकट भेन्चर क्यापिटल फर्मले २५ प्रतिशत सेयरसहित ४० लाख डलर लगानीको सम्झौता गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर २००९ देखि नै सुरु भएको विश्व आर्थिक मन्दीको कारण देखाएर याहु पनि पछि हट्यो,' उनले भने।

खर्च बढ्दै थियो, आम्दानी बढिरहेको थिएन, बाहिरबाट लगानी पनि भएन। महिनाको ४० लाख भिजिटर रहेको सर्च इन्जिन १० महिनामा आर्थिक अभावका कारण बन्द भयो। सफलताको नजिक पुगेर पनि हार व्यहोरेको त्यो क्षणले उनलाई निराश त बनायो तर हरेस खाएनन्। उनको पहिलो इनिङ यहीँ सकियो।

...

अमरुवा मावि संखुवासभाबाट एसएलसी उत्तीर्ण गिरी अमेरिकाको जर्ज मेसन विश्वविद्यालयमा कम्प्युटर साइन्स पढेर अहिले सोसल नेटवर्कमा फरक धारणासहित उपस्थित भएका छन्।

सर्च इन्जिनमा हार व्यहोर्नुपरेपछि उनी अब कसरी तंग्रिने भन्नेबारे सोच्दै थिए। सोसल नेटवर्कमा मान्छेको आकर्षण बढिरहेको थियो। ठीक यहीबेला उनलाई अर्को 'आइडिया' फुर्योए।

मिसिगनको एन्ड्रयु युनिभर्सिटीबाट कम्प्युटर प्रोगामिङ, जर्ज मेसन युनिभर्सिटीबाट सिस्को र माइक्रोसफ्ट वर्ड तथा स्ट्यान्डफोर्ड युनिभर्सिटीबाट वायरलेस सिस्टममा मास्टर्स गरेका गिरीले सोसल नेटवर्कमा केही गर्ने सोच राखे। सोसल नेटवर्ककै जमानामा बग्रेल्ती आएका अनेक नेटवर्कको भिडमा फरक हुन जरुरी नै थियो। त्यसैले सगुनडटकमलाई सर्च इन्जिनबाट सोसल नेटवर्कमा रुपान्तरण गर्दै फेरि उदाए।

सगुनडटकममा खाता खोल्नेबित्तिकै कम्पनीले ५ डलर राखिदिने र त्यसपछि साथीलाई रिक्वेस्ट पठाउँदा केही सेन्ट थपिँदै जाने नयाँ योजना उनले बनाए। मान्छेहरु घन्टौं सामाजिक सञ्जालमा बसेर समय खर्चिरहेको अवस्थामा उनले सगुनमा नयाँ विशेषता थपिरहेका थिए।

त्यसैको परिणाम अहिले एक वर्षको अवधिमा दुई लाखभन्दा बढी प्रयोगकर्ता सगुनले पाइसकेको छ। गिरी भन्छन्, 'अरु सोसल नेटवर्क पनि छन्, यो इजी जब होइन। यसमा पनि समस्या थुप्रै छन् तर यसमा हामी फेलियर हुँदैनौं।'

'नेपाली त्यसमाथि पनि गाउँबाट आएर सिलिकन भ्यालीमा प्रतिस्पर्धा गर्न चुनौती छ, विश्वका ठूला कम्पनी छन्, तिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ। उनीहरुसँग सबै छ। हामीसँग केही पनि छैन तर हामी स्पष्ट योजनाका साथ आइरहेका छौं, त्यसैले त दुई लाख बढी सदस्य पाइसकेका छौं,' उनले भने।

अमेरिका, भारत र नेपालमा एकैपटक ब्रान्डिङ गर्दै अगाडि बढेको सगुनले यी तीनै देशमा आफ्नो सम्पर्क कार्यालयसमेत राखिसकेको छ। सुरुमा ५ करोड रुपैयाँबाट लगानी गरेको सगुनले लगानी बढाउँदै लगेको छ। अमेरिकामा फुलटाइम काम गर्ने १० जना इन्जिनियर छन्। भारतबाट कम्पनीका लागि आवश्यक सफ्टवयर निर्माण भइरहेको छ।

सगुनमा अहिले सबै व्यक्तिगतरूपमा लगानी भइरहेको छ। पेन्टागनमै रहेका व्यक्तिले यसमा लगानी गरेको गिरी बताउँछन्। 'रियल स्टेट, रेस्टुरेन्ट व्यवसायीलगायतले यसमा साझेदारी गरेका छन्,' उनले भने। 'अमेरिकाको सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनले पनि कम्पनीलाई प्रमाणित गरिसकेको छ, त्यसैले लगानीका लागि अन्य साझेदार अझै बढ्छन्,' उनले भने।

'सुरुमा नै हामीले आम्दानीलाई ध्यान दिएका छैनौं, सुरुमा त यसको प्रवर्द्धनकै काम हुन्छ। हामी पनि यसको विश्वव्यापी प्रवर्द्धनमा लागेका छौं, जब १२ मिलियन प्रयोगकर्ता पुग्छन् अनि हामी आम्दानीका लागि सोच्छौं,' उनले भने, 'अहिले नै सगुनमा विज्ञापनका लागि अफर आइसकेको छ, हामीले १२ मिलियन प्रयोगकर्ता कुरेका छौं।'

सगुन सामाजिक सञ्जाल भए पनि इ–कमर्सलाई फोकस गरेको उनले बताए। अमेरिकाको टार्गेट, सिएस, अमेजनजस्ता इकमर्स गर्ने कम्पनीसँग साझेदारी गर्दै अगाडि बढ्ने उनले जानकारी दिए।

गिरी विद्यार्थीको रूपमा अमेरिका प्रवेश गरेका थिए। कलेजमा पढ्दाताका फि तिर्ने पैसा जुटायन इन्डियन रेस्टुरेन्टमा काम गरे। 'मलाई आफू ६ वर्ष हुँदादेखिको याद आउँछ, त्यो बेला पहाडमा भेडाबाख्रा चराउने र घाँस काट्नेबाहेक विकल्प थिएन,' उनले भने, 'पढ्ने, स्कुल जाने भन्ने सोच नै थिएन तैपनि आफ्नै प्रयासले गाउँदेखि काठमाडौं र काठमाडौंदेखि अमेरिकासम्मको यात्रा तय गरेँ। अहिले यहीँबाट नेपाल र नेपालीलाई सगुन दिन पाउँदा खुसी छु।'

'पेन्टागनमा जागिर खानु धेरैको सपना हुन्छ, म त्यहाँको जागिर छाडेर अगाडि बढेँ, केहीले मलाई पागल भने तर मेरो सोच फरक थियो,' उनले भने।

अहिलेको सर्च इन्जिनका जायन्टले के गरे होलान् र जुन गिरीले ६ वर्षअघि गरेका थिए। गिरी विश्वास गर्छन्– जहाँ घाम छ, त्यहाँ मान्छेले सोचेको कुरा पूरा हुन्छ। फरक यत्ति हो, कसैलाई ५० वर्ष लाग्ला, कसैलाई सय वर्ष तर सुरुवात आजैबाट गर्नुपर्छ।

सर्च इन्जिनको असफलतापछि उनले नयाँ सपना देखे। जागिर छोडेर २०१३ मा भारत गए र सपना पूरा गराउनतिर लागे।

अनि उनले आफ्नो टिम बनाए। उसको लक्ष्य एउटा संसार बनाउने थियो, जहाँ सकारात्मक कुराले ठाउँ पाओस्। जहाँ जीवनको केही अर्थ होस् र जहाँ सम्बन्ध बनोस् जीवनभरका लागि।

कुनै ठूलो सहयोगविना, गिरीले अहिले सगुन पाएका छन् र दुई लाख बढी सदस्य पनि। उनको साथमा छन् भारतबाट पुगेका १० जना प्रखर लिडर।

सर्च इन्जिनको अध्याय सकिएपछि उनले गुगलमा कन्टेन खोज्नेभन्दा फेसबुकमा कन्टेन्ट सेयर गर्ने संख्या ३०० मिलियन बढी रहेको थाहा पाए। र, एउटै प्लेटफर्ममा सबै कुरा अटाउन सकिने सोसल नेटवर्कको अध्ययनमा लागे।

सगुनमा फेसबुक, टि्वटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामलगायत म्यासेजिङ साइटको विशेषता रहेको छ। यो साइटमा परिवारका सदस्य तथा साथीहरुसँग फोटो तथा सूचना आदानप्रदान गर्न सकिन्छ। सबैभन्दा राम्रो सुविधा यसमा गोप्य डाटा तथा सूचना स्टोर गरेर राख्न सकिन्छ।

सगुनमा सेक्रेट र अकेजन एप्लिकेसनसमेत छ। जसमा प्रयोगकर्ताले तस्बिरमार्फत व्यक्तिगत क्षण एक अर्काेमा साटासाट गर्न सकिने गिरी बताउँछन्। अनि सगुनलाई सोसल नेटवर्कमा अनुवाद गरेपछि लगानीका लागि थुप्रै कम्पनीलाई आग्रह गरे। सबैले योजना राम्रो भएको भने तर लगानी गरेनन्। त्यसपछि उनी आफ्नै समुदायमा फर्के। केही रकम जम्मा पारे, त्यसपछि भर्चुअल पारिवारिक सदस्य बढाउनमा लागे। ट्रार्गेटमा राखे नेपाल र भारत।

आफ्नैबाट सुरु गर्दा सदस्य संख्या बढ्दै गयो। उनले मार्क जुगरवर्गलाई पछ्याएका थिए। मार्क फेसबुकलाई पनि आफ्नै हावर्ड विश्वविद्यालयको साथीमाझ पपुलर बनाएर अगाडि बढेका थिए। गिरीले नेपालीलाई लक्षित गरे। गत फागुनमा विश्वव्यापी सञ्चालनको घोषणा गरे। सगुनले ब्रान्डिङ गर्न मनीषा कोइरालालाई ब्रान्ड एम्बेसडर बनायो। यसले नेपाल र भारतमा भिजिटर ह्वात्तै बढायो।

नेपाल र भारतबाट सदस्य बढाउँदै उनले अमेरिकासम्म पुर्या ए। अहिले एसियाली देशमा पनि सदस्य संख्या बढ्दै छ। एलेक्साका अनुसार नेपालबाट ८०.१ प्रतिशत, भारतबाट ७ प्रतिशत र अमेरिकाबाट २.८ प्रतिशत भिजिटर संख्या छ।

सगुनमा खाता खोल्दा, साथी बनाउँदा, गोप्य म्यासेज पठाउँदा तथा अन्य गतिविधि पिग्गी बैंकमा ५ डलर जम्मा हुने गिरीले बताए। प्रयोगकर्ताले पाउने यो रकम सगुनको कार्डमार्फत स्थानीय रिटेल पसलमा सपिङ गर्ने सकिने उनले जानकारी दिए। 'सगुनमा आउने विज्ञापनलाई कम्पनीले नराखी अहिले प्रयोगकर्तालाई दिएका हौं,' उनले भने।

No comments:

Post a Comment