Pages

Wednesday, February 8, 2017

ठिंग उभिएकी सुरभी


चार पटक । म चार पटक प्रेममा परेँ । फोर टाइम्स एन्ड ओभर ।

पहिलो पटक ।

सहर शून्य थियो, बत्ती बलेको थिएन । अँध्यारोले पूरै सहर खाएको थियो । र, अँध्यारोले निलेको सहरको एक छेउ सोह्रखुट्टेमा थिएँ म ।


म कहिल्यै रोकिने ठाउँ होइन यो । पहिलो पटक, म यो ठाउँमा रोकिएँ र पहिलो पटक प्रेममा परेँ ।

म मोटरसाइकलमा थिएँ । झ्याप्प ब्रेक लगाएँ । भर्खर थोरै ओरालो झरेको थिएँ, सानो घुम्तीमा ह्यान्डल मोडेको थिएँ । सडकको किनारमा थिएँ । अगाडिबाट अरु गाडी बेतोडले गइरहेका थिए, पछाडिका गाडीहरूले चर्को हर्न बजाइरहेका थिए । मानौँ, उनीहरू सबैलाई हतार थियो । त्यही हतारोमा म चुपचाप रोकिएको थिएँ ।

यो म शुक्रबारबाहेक प्रत्येक दिन हिँड्ने बाटो हो । यसरी नै मोटरसाइकलमा बत्तिँदा म कहिल्यै यहाँ रोकिएको थिइनँ, रोकिनु परेको पनि थिएन ।

पहिलो पटक र त्यही पहिलो पटकमै सबै कुरा चेन्ज भयो ।

मैले अगाडि हेरेँ । एउटा घरको भेन्टिलेसनबाट मधुर प्रकाश आइरहेको थियो । अत्यन्त मलिनो तर नीलो । त्यसले टपक्क मेरो आँखा टिप्यो ।

मैले त्यहाँबाट आँखा हटाउन खोजेँ । नजिकै देखेँ– एउटा आकृति ।

कर्ली कपाल, ठूला आँखा । देखिएको र मैले ठम्याएको यही हो । मैले आँखा जुधाउनै सकिनँ, अर्कोतिर हेरिहालेँ । खोइ, किन हेरिनँ तर म त्यसरी केटी भनेर लजाउने मान्छे पनि होइन । डरले पो हो कि ?

तर, मन उतै जुध्न थालिहाल्यो । हो, पहिलो नजरमै म प्रेममा परेँ– लभ इन फस्र्ट साइट ।

निकै बेरपछि म अघि बढेँ । कोठामा पुगेपछि पनि मनमा प्रश्न उब्जिरह्यो– म किन त्यहाँ रोकिएँ ? के पहिलो नजरमा प्रेम सम्भव छ ?

पहिलो प्रश्नको उत्तर मसँग थिएन । दोस्रो प्रश्नको उत्तरमा मसँग आफ्नै लागि मुस्कान थियो ।

समय अघि बढ्यो ।

सहरमा साँझ झन्झन् मादक बन्न थाल्यो । चोकचोकमा मसालहरू देखिए । मानिसहरू अधिकार र पहिचानका लागि आन्दोलनमा होमिए । आफ्ना सबै मागहरू दस्तावेजमा नै हुनुपर्छ भन्ने चर्काे आवाज देशभर नै फैलियो । व्यवस्था, नेतृत्व, सपना सबै नयाँ भए । सपनाकै कारोबार हुन थाल्यो ।

मैले मेरो एकमात्र बाइक बेचेँ । तर, त्यसको स्मृति झन्झन् गाढा हुन थाल्यो । मानौँ, त्यो बदलिँदो सहरको पिँधमा भएको ढुंगामा खोपिएको छ ।

बागलुङमा आमालाई बाइक किन्न पैसा माग्दा भनेको थिएँ– मलाई सजिलो हुन्छ, यामाहाको फेजर बाइक हो ।
आमाले नै रंग सुझाउनुभयो– नीलो । अब त्यो नीलो बाइक मसँग थिएन, थियो त केबल सम्झना– कहिले नगरकोट पुगेको, कहिले गोदावरी हुत्तिएको र त्यही मोडमा रोकिएको । बाइकको पछाडि को–को बसे, कहिलेसम्म बसे, बाइक बेचेपछि पो याद आउन थाल्यो । द बाइक ब्लूज ।

बाइक खरिद–बिक्रीमा जुन रकमको अन्तर थियो, त्यसले मेरो मनलाई छियाछिया पारेको थियो । २ लाख २५ हजारमा खरिद गरेको बाइक जम्मा १ लाखमा बिक्री भयो ।

संघर्षका दिनहरू चलिरहेकै थिए । लाख त्यही संघर्षमा कहिले घरभाडामा मिसियो, कहिले वाइवाइ चाउचाउमा । तर, बाइक बेचेपछि छियाछिया परेको मुटुको अन्तस्करणमा जन्मिएको एउटा प्रेम पनि थियो, जसले मलाई उभिने साहस दिएको थियो ।

त्यतिका दिनमा शायद मैले त्यो प्रेम बिर्सिइसकेको हुन्थेँ । तर, दोस्रो पटक ।

हो, दोस्रो पटक नदेखेको भए ।

म ठीक त्यही ठाउँमा रोकिएँ, जहाँ मैले त्यसअघि बाइकमा ब्रेक लगाएको थिएँ । बाइक बेचिसकेपछि म हिँडेरै अफिस जाने आउने गर्न थालेको थिएँ । बाइकमा अफिस जानुभन्दा बढी रमाइलो हिँड्नुमा थियो । हिँड्दाहिँड्दै बाटोमा कहिलेकाहीँ ‘जक्सन’मा एकछिन रोकिन पाइन्थ्यो । र, चियाका चुस्कीमा भविष्यका कुरा गर्न पाइन्थ्यो ।

अफिसबाट कोठामा आउँदा दुइटा जक्सन पर्छन्, सुन्धारा र ठमेल । यी दुई ठाउँ मेरा लागि प्रिय बनिसकेका थिए । घरतिरबाट कोही आउँदा सुन्धारामै भेट हुन्छ । सुन्धारा होटलको हब भएको छ । कोही पासपोर्ट बनाउन आउँथे, कोही कलेज भर्ना हुन । कोही विदेश उड्न आउँथे । भेट हुने थलो बनेको थियो सुन्धारा । सुन्धारामै अफिस, सुन्धारामै बास पनि भयो ।

ठमेलले मेरो जिन्दगीका कैयौं महत्वपूर्ण जिन्दगी खाइदिएको छ । त्यो जिन्दगी धेरै रंगीन भएर बित्यो । नशा बार, इलाइट बार, गामवेशी दोहोरी साँझ, पोखरा दोहोरी साँझमा कति उफ्रियो कति ? किन्नर किन्नरीसँगको श्लील–अश्लील संवाद गर्दै समय पनि घचेटियो । डान्सबारका भित्तामा केटीलाई टाँसेर अधर नजिक पु¥याउने कैयौं असफल प्रयास पनि भए । आफैंलाई इमरान हासमी सोचियो धेरै पटक ।

खैर, अब त्यो जोस रहेन । जोस नरहे पनि रंग भने बाँकी नै थियो । र, यो रंग भरिदिने पनि उही कर्ली कपाल थियो ।

सुन्धारा र ठमेलपछि मलाई अब सोह्रखुट्टे प्रिय लाग्न थालेको थियो । सोह्रखुट्टेको ओहोरदोहोरमा मैले सीधै नजर जुधाउन नसके पनि साँझपख मलाई कसैले कुरिरहेको हुन्थ्यो । मैले सधैँ ‘आज त आँट गरेर नजर जुधाउँछु’ भन्छु तर जब त्यो ठाउँ आउँछ, नजर जुधाउन सक्दिनँ । झुकिहाल्छ । यो ओहोरदोहोर उनलाई याद गर्न थालेपछिको दोस्रो थियो ।

त, दोस्रो पटक त्यहाँ रोकिँदा पनि गाडीहरू त्यसरी नै रफ्तारमा गुडेका थिए । साँघुरो गल्लीमा गाडी, ठेला, साइकल, मान्छेहरू । पूरै पृथ्वी यतिमात्र जस्तै । यसपटक ती गाडीको हर्न झन् तिखो थियो । म रोकिएलगत्तै पछाडिबाट कसैले हर्न बजायो । यो ठ्याक्कै मैले बेचिसकेको बाइकको आवाज जस्तै थियो ।

म पछाडि फर्किएँ, नभन्दै त्यहाँ बाइक थियो । निस्पट्ट अँध्यारो छाइसकेको थिएन । तर, त्यो हर्न बजाउने बाइकले हेडलाइट बालेको थियो । निकै चहकिलो । मेरो आँखा खायो । म फेरि अगाडि फर्किएँ ।

ठीक त्यही बेला मेरो आँखा फेरि त्यही भ्यान्टिलेसनमा परे, जहाँबाट आइरहेको थियो, नीलो प्रकाश । त्यो मधुरो थियो, शीतल थियो । बाइकको हेडलाइटको जस्तो तिखो थिएन । तर, कसोकसो मेरा आँखा फेरि त्यही कर्ली कपालमा रोकिए । म झसंग भएँ ।
निभ्नै लागिसकेको थियो कि मेरो मनको प्रेम, फेरि ब्युँतियो ।

यसपटक पनि मैले आँखा जुधाउन सकिनँ । कर्ली कपालमा आँखा परेकै क्षण मैले चुपचाप शीर निहु¥याएँ र अगाडि बढेँ ।
कुनै कारणबिना दोस्रो पटक कर्ली कपाल अब मेरो मनमा ‘कर्ल’ हुन थाल्यो । त्यो कपाल बिस्तारै बढ्दै थियो र प्रत्येक पटक मेरो मनमा त्यसले चस्स घोच्थ्यो । र, मुटुको त्यो चस्सलाई म मुस्कानमा परिणत गरिदिन्थेँ । शायद, यही नै हो मायाको शक्ति– द पावर अफ लभ ।

मलाई लाग्न थाल्यो, अब समय रोकिन थालिसकेको छ । समयसँग अब जानका लागि कुनै ठाउँ छैन । दुई संयोगमै मलाई जीवनप्रतिको आशा ह्वात्तै बढ्न थालिसकेको थियो । त्यो केवल संयोग थियो तर मनमा त्यसले नमेटिने छाप छोडिसकेको थियो ।

अब त कतिसम्म हुन थालेको थियो भने त्यो कर्ली कपालमात्र मेरो कल्पनामा आउँथ्यो ।

बाटोमा कसैको लामो कपाल देखे, म त्यही कर्ली कपाल सोच्थेँ ।

बाटोमा कसैको थाइकट, कसैको कालो, कसैको खैरो कपाल देखे, म त्यही कर्ली कपाल सोच्थेँ ।

तर, बाटोमा कहिल्यै देखिनँ, त्यो कर्ली कपाल ।

एकातिर म त्यो कर्ली कपालसँगको मोह छुटाउन चाहन्थेँ । मलाई डर थियो, त्यत्ति कर्ली कपालकै कारणमात्र म प्रेममा पर्नु हुँदैन । अथवा, संयोगले मात्र पनि मलाई प्रेममा पार्नु हुँदैन । आफैंलाई सम्झाउन थालेँ– नो लभ विथ कर्ली कपाल ।

त्यही दिनपछि त हो, मैले त्यो बाटो हिँड्न छोडिदिएको । म आफूलाई प्रेमबाट टाढा राख्न चाहन्थेँ, अलि टाढा ।

र, फेरि समय चल्यो, चलिरह्यो ।

एकरात म साथीहरूसँग ठमेल गएँ । त्यो दोहोरी साँझ थियो । निकै बेरपछि हामी अर्को बारमा गयौँ । अब त्यहाँ मादकतामात्र

थिएन, त्यसमा सुन्दरीहरूको सौन्दर्यको ककटेल पनि थियो । हामीलाई तिनैमध्ये दुईले सर्भ गरिरहेका थिए ।

मैले यत्तिकै भनिदिएँ– सुरभी ।

ठीक यही बेला हो, म झसंग भएको । मैले मनमनै आफैंलाई भनेँ– रङ नेम ड्युड ।

मलाई थाहा छैन, किन यो नाम भनेँ मैले ।

त्यहाँबाट हामी मध्यरातमा निस्कियौँ । म त्यही बाटो हिँड्दै कोठातिर लम्किएँ ।

र, ठीक त्यही ठाउँमा आएपछि मैले टाउको उठाएँ । यसअघिजस्तो त्यहाँबाट मधुरो प्रकाश आएको थिएन, कुनै आकृतिको कल्पना पनि मेरो मनमा आउन सकेन । न त मादकताले लठ्ठ मेरा आँखाले कुनै आकृति देखे, न देखियो कर्ली कपाल । लर्बराएका आँखा सटरमा दुइटा साइनबोर्ड झुन्डिएको ठाउँमा ठोकिए । एउटामा थियो, ‘युनिक ब्युटीपार्लर’ र अर्काेमा थियो ‘स्टाइल फेसनवेयर’ ।
“मिडनाइट ड्युड,” मैले आफैंलाई भनेँ, “सुरभी इज अ स्लिप ।”

मलाई छ्याङ्ग भयो । पहिलो पटक मलाई थाहा भयो– मेरो अवचेतनाले त्यही कर्ली कपाल सोचिरहेको रहेछ, उसका लागि नै बनाएको रहेछ नाम– सुरभी ।

मैले पहिला पनि देख्ने तर नबोल्ने कलेजको केटीको नाम सुनयना राखिदिएको थिएँ । खासमा उसको नाम श्रेया रहेछ । त्यस्तै अर्काे एउटा केटीको नाम शवनम राखिदिएको थिएँ । उसको नाम दीपा रहेछ । ऊ अहिले मेरो मिल्ने साथीमध्ये एक हो । खासमा मैले केटीहरूको नाम ‘स’ बाटै राख्नुको कुनै कारण छैन तर मलाई मनपर्छ ।

सुरभी । वाह ! क्या नाम छ । पछि सुन्तली पो हुने हो कि !!

जेसुकै होस् । नाममा के नै छ र ?

भोलिपल्ट बिहान मलाई ग्लानी भयो, दुवै आफ्नो वाचा तोडेकाले र कर्ली कपाललाई नाम दिएकाले । मलाई पछुतो लाग्यो, त्यही ठाउँमा उभिएकाले र उसलाई हेर्न खोजेकाले ।

त्यो दिन म अफिसबाट फर्किँदा रत्नपार्कबाट माइक्रो समातेँ ।  ठमेल कटेपछि ठीक त्यही मोडमा माइक्रो रोकियो । मैले झ्यालबाट बाहिर हेरेँ– अगाडि लामो ट्राफिक जाम रहेछ ।

ठ्याक्कै त्यही बेला मेरो आँखामा त्यही झ्यालबाट निस्किएको प्रकाश पर्‍यो । यसपटक त्यहाँ कर्ली कपालमात्र देखिएको थिएन । म महसुस गर्न सक्थेँ, सुरभी कुनै काम गरिरहेकी छे । मधुरो प्रकाशमा उसको चाल पनि मधुरो नै देखिएजस्तो लाग्यो । उसको छाती पुक्क उठेको थियो र मैले कल्पना गरिरहेको थिएँ– उसको ओठ झन् मादक हुनुपर्छ ।

मलाई त्यहाँबाटै बोलाउन मन भयो ।

हो, यो तेस्रो पटक मैले उसलाई भेट्न चाहेँ, उसलाई बोलाउन चाहेँ । म अब एकोहोरो उसलाई हेरिरहेको थिएँ । म निश्चित थिएँ– उसका र मेरा आँखा जुध्न अहिले सक्दैनन्, माइक्रोको झ्यालबाट त्यो एंगल नै मिल्दैन ।

अनि फेरि आफैंलाई भनेँ– जुधिहाले पनि के, त्यसमा प्रेमको नै भाका हुनेछ, प्रेम नै भरिएको हुनेछ ।

आफूलाई यस्तो भने पनि मैले उसको छातीमा आएको कर्ली कपाल देखेपछि आँखा चिम्लिएको थिएँ, आँखा खोल्दा म निकै तल चोकमा पुगिसकेको थिएँ ।

त्यो रात म निदाउन सकिनँ, त्यो रात मैले मनमा अनेक कुरा खेलाएँ । अब मसँग कर्ली कपालमात्र होइन, उसको नाम पनि थियो– सुरभी । मसँग कर्ली कपालमात्र होइन, उसको छातीको पनि प्रष्ट चित्र थियो ।

तर, फेरि मनमा थियो– होइन, यो प्रेम हुनै सक्दैन, यो त आशक्तिमात्र हो ।

त्यही दिनपछि फेरि मैले अर्को बाटो रोजेँ, मनलाई शान्त पार्न खोजिरहेँ ।

अब समय छिटोछिटो दौडिन थाल्यो । सहरमा परिवर्तन व्यापक छिटो हुन थाल्यो । लाग्थ्यो, मानौँ अब सेकेन्ड नै मिलिसेकेन्डजस्तो बेतोड दौडिरहेको छ, कुनै स्टपवाचजस्तो ।

सहरमा अग्ला भवन बन्न थाले । चोकहरूमा नयाँ–नयाँ शालिक ठडिन थाले । लामो समय बिग्रेर बसेको घण्टाघरको घडी नयाँ फेरियो । भवनबाहिरको पेन्टमा कोट गरियो, अर्को रंग लगाइयो ।

तर, मेरो जिन्दगीको लेपन भने सुरभीले लगाएकी थिइन्, सुुनौलो लेपन ।

यो चौथो पटक हो म प्रेममा परेको । हतार–हतार अफिसमा मैले साथीलाई भनेँ, “मलाई त्यहाँसम्म ड्रप गरिदेऊ न प्लिज ।”
साथी मलाई छोडेर दाहिने मोडियो । उसलाई पनि त घर जान हतारो थियो । मनले भनेको थियो– आज तैले भेट्नैपर्छ, भन्नैपर्छ ।

म सुरभीको कर्ली कपाल देखिएको ठाउँलाई देब्रे पारेर अगाडि गएँ । र, देब्रे मोडिएँ । पछाडि झ्याल देखिने त्यो पुरानो घर अगाडिबाट पनि त्यस्तै पुरानो थियो । फिक्का रंग उडेको, वर्षौं रंगरोगन नगरिएको जस्तो । देशमा आएको परिवर्तनले कुनै असर नगरेको जस्तो, नयाँ व्यवस्थाले कुनै फरक नपारेको जस्तो ।

त्यसो त, सुरभीको कर्ली कपाललाई पनि कहाँ असर गरेको थियो र यी सब परिवर्तनले ? मेरो जीवनको परिवर्तनले, मेरो बाइक गुमाउनुको पीडाले । संयोग थियो, चार पटक उसलाई मैले देख्दा ऊ ठ्याक्कै एकै ठाउँमा थिई, त्यसरी नै उभिएकी । आखिर माया भनेको नै यही संयोग त हो । भन्छन् नि– लभ इज अ कोइन्सिडेन्स ।

त्यो दिन घरको अलि वरैबाट मैले हेरेँ । त्यहाँबाट त त्यसअघि मैले कहिल्यै हेरेको थिइनँ । मैले जे देखेँ, त्यसले मलाई झन् अचम्ममा पारिदियो, भूकम्पले कम्पन दिएझैँ भयो ।

हेर्दा देखियो मधुर प्रकाश र अग्ली केटी । अझ अगाडि बढेँ । नजिकै तर बाटोको अर्काे किनारा पुगेँ । डराइनँ, हेरेँ, देखेँ तर झस्केँ । त्यही कर्ली कपाल, त्यही अग्ली केटी । फेन्सी पसल र ब्युटीपार्लरको साँध बरन्डामा पाइन्ट र टिसर्ट भिराएर ठड्याइएकी । मूर्तिवत ठिंग उभिएकी । न जीवन, न इन्द्रियचेत नै ।

एकपटक आँखा हटाएर वरपर हेरें । आफूलाई चिमोटें । म बिल्कुल होशमा थिएँ । अनि फरक्क फर्किएँ । त्यही कर्ली कपाल, त्यही आँखा, उस्तै पुक्क परेको छाती ।

स्टाइल फेसनवेयरबाट एउटा अधवैंशे आयो सुरभीलाई चाप्प समातेर उठायो र भित्र लग्यो । अनि सटर तान्यो ।

अधवैंशे ताल्चा झुन्ड्याएर हिँडेको घण्टौंसम्म म त्यहीँ टोलाइरहें 

No comments:

Post a Comment