Pages

Sunday, October 23, 2016

मुदिर : वैदेशिक रोजगारमाथि केन्द्रित उपन्यास

भनिन्छ, अहिलेको बजार निर्दयी छ । तर, के पनि सत्य हो भने बजारमा अहिले सबैभन्दा धेरै र पहिले आँसु बिक्री भइरहेको छ । कम्तीमा पनि नेपाली साहित्यका लागि यो प्रमाणित सत्य मान्न सकिन्छ । यस्तो किन पनि भने अहिले साहित्यमा दु:ख र करुणामाथि लेखिएका पुस्तकको संख्या बढ्दो छ । यही ‘ट्रेन्ड’मा थपिएको छ उपन्यास– मुदिर ।
अहिले आप्रवासी कामदारको हक र अधिकारबारे विश्वभर बहस भइरहेका छन् । वैदेशिक रोजगारीले अर्थतन्त्र, समाज र संस्कृतिमा पारेको प्रभावबारे छलफल भइरहेका छन् । यीसँगै रेमिट्यान्टसको मुद्दा पनि बलियो भएर आएको छ । नेपाल पनि यी मुद्दा र विषयबाट अछुत रहन सकेको छैन । वैदेशिक रोजगारीको एउटा पाटो रेमिट्यान्स भए पनि विदेशमा काम गर्न पुगेका कामदारका समस्या आफ्नै ठाउँमा छन् । यिनै विषयमा केन्द्रित युवाहरूको कथा हो– मुदिर । र, अरबी भाषामा मुदिरको अर्थ हुन्छ– मालिक ।

पूर्वी नेपालको एउटा युवा काठमाडौंमा बस्दाबस्दै विदेश जाने योजना बनाउँछ । गाउँको साहुुसँग ऋण काढेर ऊ कतार पुग्छ । यसरी काम गर्न कतार पुुगेपछिको संघर्ष र नेपाल आउँदा–जाँदाका प्रसंगलाई लेखक मीनराज वसन्तले कथामा बुनेका छन् ।
लेखक आफैँ पनि वैदेशिक रोजगारीबाट फर्किएकाले हुन सक्छ, उपन्यासमा कामदारको पीडालाई सरल रूपमा उतारिएको छ । उपन्यासको परिवेश र पात्रलाई न्याय भएको छ ।
वसन्तले कतार बस्दा भेटिएका एक युवाको कथालाई मुदिरमा उतारेको बताएका छन् । कतार बस्दा लेखकले उपन्यास लेख्ने सोचले यस्तो पात्रको खोजी गरेका हुन्छन्, जसले संघर्षमा जीवन बिताएको होस्, दु:ख पाएको होस् । उपन्यास लेख्ने योजना बनाउँदा लेखकले पात्रको दु:ख र संवेदना बिकाउन चाहेको देखिन्छ । खाडी बस्ने अधिकांश युवाले संघर्ष, पीडा र दु:ख नै पाएका हुन्छन् भन्ने कुराले उपन्यास लेखनलाई गाइड गरेको हुन सक्छ ।
तर, उपन्यासका कमजोरी पनि सहजै पहिचान गर्न सकिन्छ । जस्तो, चरित्र निर्माणमा लेखकको मिहिनेत पुगेको छैन । उपन्यासको पात्र डम्बरको चित्रण पनि मिलेको छैन । एउटै पात्र कतै केही नजानेको गँवारका रूपमा प्रस्तुत भएको छ त कतै ऊ जान्नेसुन्ने भएको छ । कतिसम्म भने ऊ अंग्रेजीमा लेखेको कुरा पनि स्पष्टसँग बुझ्छ ।
उपन्यासको अर्को कमजोरी भनेको पात्रहरूले बोल्ने भाषा हो । पात्रका रूपमा वसन्तले पूर्वी नेपालको युवा छाने पनि उसको बोलीचालीमाथि न्याय गर्न सकेका छैनन् । पूर्वको पात्र पश्चिमेली टोनमा देखाउँदा उपन्यासको परिपक्वता खड्कन्छ । यस्तो हुनुको कारण हुनसक्छ– कतारमै भेटिएको कुनै पात्रमाथि उपन्यास लेख्न सुरु गर्नु र ऊ नेपाल आएपछिको सन्दर्भमा ‘फलो’ नगरिनु । त्यसैले, उपन्यासका लागि ओखलढुंगा प्लट बनाइए पनि त्यसमा न्याय हुन सकेको छैन । यी कारणले पनि उपन्यास लेखनमा अध्ययन र अनुसन्धानको कमी प्रस्ट देखिन्छ ।
नेपाली लेखकले जुनसुकै विषयवस्तुमा पुस्तक लेखे पनि राजनीतिलाई अनावश्यक रूपमा घुसाउने गरेका छन् । तर, माओवादी द्वन्द्व चरम अवस्थामा रहेका वेला तथा दोस्रो जनआन्दोलनको पूर्वसन्ध्याबाट उपन्यासको थालनी भए पनि लेखकले कुनै पनि ठाउँमा राजनीति घुसाएका छैनन् । तथापि, थोरै भए पनि उपन्यासमा लेखकले कतारको जीवनशैली, संस्कार, परम्परा र नेपालको रहनसहनलाई जोडेका छन् । यसले विविध जीवनशैलीलाई एउटै पुस्तकमा उनेको छ ।
उपन्यासको एउटा सबल पक्ष के भने यसमा पात्रहरूको भीड छैन । सहायक पात्रलाई लम्बेतान व्याख्या गरिएको छैन । यतिसम्म कि नेपालबाट सँगै कतार गएका मुख्य पात्रका दुई साथीलाई पनि कथाले बीचमै छाडिदिएको छ ।
तर, उपन्यासमा एउटै कुरा धेरै ठाउँमा भने दोहोरिएका छन् । चक्रपथमा गुड्ने बस उपन्यासमा पनि घुमि नै रहन्छ । डम्बर कतारबाट बिदामा नेपाल आउँछ, पुन: फर्कन्छ । त्यसपछि उपन्यासमा उही शैलीमा पुरानै कथा दोहोर्‍याइएको छ । यसले पाठकलाई स्वाद दिादैन । कतार पुगेर पछुुताएको मूल पात्र डम्बर नेपाल फर्केर आफूले गर्न सक्ने काम गर्दैन, बरु पुन: कतार नै फर्कन्छ । यसले के सन्देश दिन्छ भने जति दु:ख पाए पनि विदेश नै अन्तिम विकल्प हो । तर, पात्रले गर्ने क्रियाकलापमाथि न्यायचाहिँ भएको छैन, बिदामा विवाह गर्न आएको डम्बरको कथा उपन्यासले मागे पनि लेखिएको छैन ।
उपन्यासको अर्को समस्या भनेको भाषिक कमजोरी हो । राई तथा अरबी शब्दको प्रचुर प्रयोगले उपन्यासको पठन बीचबीचमा रोकिन्छ । उदाहरणका लागि ‘तावातामी’ शब्दलाई लिन सकिन्छ । उपन्यासको अन्त्यमा यसको अर्थ त उल्लेख गरिएको छ तर यो कुन भाषाबाट लिइएको हो भन्ने प्रस्ट्याइएको छैन । यस्तो गर्न सकेको भए उपन्यास पाठकलाई पक्कै न्याय हुने थियो ।
२ सय ५६ पृष्ठको उपन्यासको सिलसिला तथा परिच्छेद संरचनामा पनि प्रशस्त समस्या छन् । विदेशमा कस्तो दु:ख पाइन्छ, विदेश जानुुअघि के गर्नुपर्छ, कत्तिको संघर्ष गर्नुपर्छ भन्ने विषयमा भने पुस्तकले भरपूर जानकारी दिन्छ । तर, यसमा पनि न्याय भएको छैन । डम्बरलाई कुनै म्यानपावर कम्पनीमा उपस्थित नभई, अन्तर्वार्ता नदिई विदेश पुर्‍याइएको छ, जुन हाम्रो समाजको कथासँग मेल खादैँन । यसले द्विविधा बढाउँछ ।
नेपालबाट दैनिक १५ सय युवा बिदेसिन्छन् । यो पुस्तक ती कामदारका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकाल्ने हाते पुस्तकभन्दा पनि उपयोगी हुन सक्छ । त्यसैले पनि यो उपन्यास विदेशमा रहेका नेपाली कामदारका लागि कोसेली हो । नेपालमा बस्नेका लागि पठनीय खुराक ।
(http://www.enayapatrika.com/2016/08/84934)

No comments:

Post a Comment