Pages

Tuesday, October 22, 2013

विनोद प्रधानसँग ३ घण्टा

‘मलाई डिएसएलआरसँग डर लाग्छ’ बलिउड सिनेमाट्रोग्राफर बिनोद प्रधानले मंगलबार कुमारी हलमा भनिरहँदा सबैभन्दा बढि डिएसएलआरबाट मुभि खिच्ने तन्नेरी पुस्ता हलभरी थिए । भर्खर डिजिटलमा बामे सराईको अवस्थामा रहेको नेपाली सिनेमामा अलि अघि डिएसएलआरको पनि प्रयोग हुन्थ्यो यद्यपी अझै केहीले यसैको प्रयोग गर्दैछन् । प्रधानले डिएसएलआर प्रयोग ठिक कि बेठिक भनेनन् बरु डिजिटल ज्ञान हुनुपर्ने बताउँदै आफुलाई भने डिएसएलआरबाट डर लाग्ने बताए ।


प्रधान जो बलिउडमा एकपछि अर्काे सुपरहिट चलचित्रमा क्यामेरा चलाउँदै उक्लिरहेका छन्, उनैलाई एकादेशले मंगलबार काठमाडौं बोलाएको थियो । ‘पेन्टिङ वीथ क्यामेरा, विनोद प्रधान ’ नामक अन्तरक्रिया कार्यक्रममा प्रधानले आफु कसरी बलिउडको सिनेमाट्राग्राफर भए भन्ने कथा मात्र सुनाएनन्, क्यामेराको केही व्याकरण समेत सिकाए पनि ।
दार्जिलिङको कालिम्पोङमा जन्मेका नेपालीमुलका भारतिय प्रधानले करिब ४ सय जना तन्नेरीलाई फ्रेमको सिरिज खिच्ने तरिका बताए । रिलबाट पूर्णरुपमा डिजिटल बनेको नेपाली सिनेमामा क्यामेरा मुभमेण्टको खड्किलो अभाव भैरहेको समयमा प्रधानले आफ्ना केही चलचित्रको विभिन्न सिनमार्फत एंगल र लाइटको परिभाषा दिए ।
 विनोद प्रधानसँग प्रकटकुमार ।
आफ्नो बाबुको फोटो स्टुडियोबाट क्यामेरामा लगाव राखेका प्रधानले शुरुमा बाबुबाटै नै बक्स क्यामेरा पाएको र पछि आफ्नो इच्छाका कारण सिनेमाट्रोग्राफी  पढेको बताउँदै संघर्षरत अवस्थाबाट नै यो स्थानमा आएको बताए ।
प्रधानले सफल र चर्चित सिनेमा १९४२ अ लब स्टोरी, रंग दे बसन्ती, देबदास, मुन्ना भाइ एमविविएस, र भर्खर रिलिज भएको बायोपिक सिनेमा भाग मिल्खा भागलगायत २ दर्जनभन्दा बढि सिनेमा खिचेका छन् । इन्टरनेशनल इण्डियन फिल्म एकेडमी, फिल्मफेयर, स्क्रिन विक्ली, जि सिने अवार्ड समेत प्राप्त गरेका प्रधानले फिल्म निर्देशक प्रेम सागरको सागर आर्टमार्फत एस्सिटेन्ट काम गरेर डेब्यू गरेको बताए  ।
सपना, तृष्णा, लाहुरे, साइनो, कुसुमेरुमाललगायत नेपाली चलचित्रलाई पनि क्यामेरामा उतारेका प्रधानलाई फेरी नेपाली चलचित्रमा काम कसरी सकिन्छ भन्ने प्रश्नमा उनले काम गर्ने इच्छा रहेको र धेरै साथीहरुले अफर गरेको बताएको भने पनि नेपालमा आएर काम गर्दा महँगो पर्ने र बजेट समस्या हुने समेत धारणा राखे ।
करिब ३ घण्टाको २ सेसनमा पहिलो सेसन सहजकर्ता र साउण्ड सिष्टमका कारण खल्लो समेत भएको थियो । साउण्ड सिष्टमको समस्याका कारण प्र्रष्ट नबुझिने र सहजकर्ताले प्रश्न गर्दा भूमिकासहित विगत कुरा सोध्दा केही खल्लोपन देखिएको हो । दोस्रो सेसनमा प्रधानले आफुले खिचेको फिल्मका केही क्लिप्समार्फत क्यामेरा खिचाईको भाव बुझाएका थिए ।
उनले १९४२ अ लब स्टोरीको बम्बे युनिभर्सिटीमा खिचिएको रुठ ना जाए गितमा क्यामेरा मुभमेण्टलाई उदाहरण देखाउँदै खिच्ने कौशल बताए, देवदासकोमा प्रयोग भएको ४० वटा जेनेरटरका विषयमा बोल्दै प्रधानले बेरी पियामा प्रकाश मिश्रणको कथा सुनाए, देवदासमा नै प्रयोग भएको पानीको शितलाई प्रकाशका माध्यममार्फत कसरी उतार्न सकिन्छ भनेर सुत्र पनि दिए । रंगदे बसन्तीको सेपिया, जम्प सिन र डे फर नाइटदेखी दिल्ली सिक्सको भिएफएक्स ग्राफिक्सको कथा भन्दा बेला बेला अडिटोरियममा तालीको पर्रा छुट्थ्यो ।
बलिउडका महँगा डिओपीमा पर्ने प्रधानलाई ट्रकका ट्रक लाइट चाहिन्छ, यही प्रश्न हलमा गरियो उनले अनुहारमा व्यावसायिकता देखाउँदै स्विकार गरे अनि भने क्यामेरा चलाउन कम्प्रमाइज गर्दिन् ।
फिल्म मेकिङ पढ्दै गरेका र तन्नेरी पुस्ताले भरिएको हलमा विनोदको अनुभव र किस्सा फलदायी भएको थियो । उनले नेपाल आफ्ना घर जस्तै लाग्ने बताउँदै समय समयमा आएर अनुभव साट्ने वाचा समेत गरे ।





No comments:

Post a Comment