Pages

Monday, March 24, 2014

उहिलेको पोखरा, अहिलेको पोखरा । (उल्टो विकासले ल्याएको समृद्धि)

पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर ।
विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई दशकपछिमात्र त्यहाँ मोटर बाटो पुग्यो । २०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पोखराको आर्थिक र जनसांख्यिक विकास अद्भूत रूपमा बढ्यो ।

पुरानो पोखरा बजार  । तस्विरःगुगल
२०२७ सालमा बाटो आए पनि पोखरामा पहिलो मोटर आएको २०१२ सालमै हो । त्यसबेला महेन्द्रदल बटालियनले एउटा जिप ल्याएको थियो, जसलाई ९ नम्बर ढ्वाङ भनेर नामांकित गरिएको थियो । पोखराका पुराना मान्छेमा अहिले पनि पुरानो जिपलाई ९ नम्बर ढ्वाङ भन्ने चलन कायमै छ ।
२०१७ मा चैतन्यजंग राणाले ट्रम्फ नामको मोटरसाइकल पोखरामा भिœयाएको पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखेको जानकारीमा छ । निजी रूपमा पहिलो गाडी चढ्ने व्यवसायी सुशीलकुमार गोशली हुन् । उनी भन्छन्, “गाडी चढ्ने रहरले २०२२ मा पोखरासम्म ल्याउँदा धेरै ठाउँमा बोकाउनु प¥यो । त्यसपछि व्यवसायी अमृतप्रसाद शेरचन, गणेशबहादुर श्रेष्ठले गाडी भित्राए । २०३४ मा १ सय ८० नम्बरको एम्बासडर गाडी ९ हजारमा किनेको श्रेष्ठ बताउँछन् । पछि २०३६ मा ५२ हजारमा ल्यान्डरोभर र हायास गाडी पनि किनेको उनको सम्झनामा छ ।
यहाँ विकासको गतिले ४० को दशकदेखि बाटो समाएको इतिहासमा दख्खल राख्ने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखे बताउँछन् । “४० को दशकअघि विकासका प्रारूप देखिए पनि गति लिन थालेको २०४० पछि हो,” उनी भन्छन्, “जब खुला अर्थनीति आयो, त्यसपछि पोखराले एक फड्को मा¥यो ।”
विकास कहिलेदेखि सुरु भयो भन्ने पनि पोखरेलीका आ–आफ्नै धारणा छन् । कसैलाई २००६ तिर प्लेन देखेर विकास भयोजस्तो लाग्यो भने कसैलाई २०२७ सालमा मोटरबाटो आएपछि । तर, यहाँका प्रख्यात उद्योगपति गणेशबहादुर श्रेष्ठलाई भने बिजुली बलेपछि विकास आयोजस्तो लागेको थियो । पोखरामा २०२४ मा फेवा पावरहाउसको माध्यमबाट व्यवस्थित रूपमा बिजुली बलेको थियो ।
अहिलेको पोखरा बजार । तस्विरः प्रशान्त लामिछाने ।
“बिजुली बलेपछि विकासको महसुस भएको जस्तो लागेको थियो,” श्रेष्ठ भन्छन्, “२०३१ सालमा टेलिफोनको प्रयोगले झनै सुविधा भयो । ५० रुपैयाँ डिपोजिट राखेपछि फोन पाएका थयौं ।” अहिले पोखरा र आसपासमा दर्जनभन्दा बढि हाइड्रोपावर निर्माण भइरहेका छन् ।
पहिलोको कुरा गर्दा धेरै पहिलो कुरा सम्झनामा राखेर बसेको छ पोखरा । पहिलोपटक २००४ मा रेडियो भिœयाउने चन्द्रबहादुर भाजीदेखि पहिलो मेडिकल डाक्टर बसन्तबहादुर बाटाजु, पहिलो बीए पास गर्ने यदुनाथ अधिकारी, पहिलो महिला ट्रेकिङ व्यवसायी इन्दिरा बरालसम्मको किस्सा युवा पुस्तालाई रमाइलो लाग्छ । पोखराको पहिलो होटलका रूपमा १९६८ तिर ‘होटल लेकसाइड’ खुलेको थियो भने काठमाडौंको पहिलो लगानीको रूपमा खुलेको थियो ‘होटल क्रिस्टल’, २०२१ सालमा ।
पोखराको शिक्षामा योगदान दिने पहिलो परिवार पराजुली खलक रहेको पालिखे बताउँछन् । उनीहरूले १९९० सालमा विन्ध्यवासिनीमा संस्कृत विद्यापीठ चलाएर शिक्षालाई अझ फराकिलो दायरामा पु¥याए । यसले शैक्षिक इतिहासमा फड्को मारेको उनको भनाइ छ । २००४ मा पहिलो पटक बाटुलेचौरमा आधार स्कुल खुल्यो । २०१७ मा पृथ्वीनारायण क्याम्पस, २०२१ मा राष्ट्रिय मावि खुले । २०४६ मा वनविज्ञान कलेज, २०५० मा मणिपाल कलेज, सन् १९९९ मा नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज खुले । २०५४ मा पोखरा विश्वविद्यालय खुल्यो । अहिले त शैक्षिक ‘हब’कै रूपमा पनि विकास भइसकेको छ पोखरा । माउन्ट अन्नपूर्ण यहाँ खुलेको पहिलो (सन् १९७५) बोर्डिङ हो । अहिले पोखरामा ३ सय निजी विद्यालय छन् ।
पोखराको पहिलो परिचय भने पर्यटनबाटै हुन्छ । अहिले अन्तर्राष्ट्रिय रूपमै परिचित पोखरामा ७९ वर्षअघि जापानीज पर्यटक इकाई कावागोची आएका थिए । तिब्बत जान हिँडेका कावागोची पोखराको पहिलो विदेशी पर्यटक मानिन्छन् ।
अन्नपूर्ण हिमाल आरोहण गर्ने माउरिस हर्जाेगले पनि पोखरालाई अन्तर्राष्ट्रिय रूपमा चिनाए । अहिले नेपाल आउनेमध्ये ४० प्रतिशत पर्यटक सोझै पोखरा जान्छन् । यहाँको पर्यटनमा ७० अर्बभन्दा बढी लगानी भइसकेको पर्यटन व्यवसायी बताउँछन् । अहिले पोखरामा पर्यटकलक्षित होटलको संख्या ४ सयभन्दा बढी छ ।
पर्यटन हबको रूपमा विकासित पोखरामा पछिल्लो पटक स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, जलविद्युत्, बैंकिङलगायत क्षेत्रमा लगानी बढिरहेको छ । अहिले लगानीको सम्भावना देखिएका यी क्षेत्र आधा दशकअघि नै सुरु भएका थिए ।
आधुनिक शिक्षालाई पनि टेगो दिइरहेको पोखरामा मेडिकल, इन्जिनियरिङ, वनविज्ञान, होटल म्यानेजमेन्ट कलेजमा लगानी बढिरहेको छ । यी क्षेत्रमा अहिले ३ अर्बभन्दा बढी लगानी भएको छ । “शिक्षामा पोखरा पहिलेदेखि नै समृद्ध थियो, एउटा कालखण्डमा शिक्षा नपाए कास्की जानू भन्ने भनाइ नै थियो,” कास्कीका बहुआयामिक विषयमा लेख्दै आएका कवि तीर्थ श्रेष्ठ भन्छन्, “पोखरा उपत्यकामा शिक्षाको सानो सानो केन्द्र बनाएर अध्ययन र अध्यापन गराउने चलन थियो । विसं १९५८ सालमा संगठित विद्यालय थियो । राजकीय संस्कृत प्रधान पाठशाला भन्ने विद्यालयमा गुरुको काम गरेर पढ्ने चेला थिए । पण्डितहरूले पुस्तकालय बनाए, जहाँ २ हजार पुस्तक थिए ।”
स्वास्थ्य क्षेत्रमा पोखरेलीले सहज सुविधा पाए । २०१८ सालमा भारतीय सरकारको सहयोगमा सोल्डर्स बोर्ड अस्पताल खुलेको थियो । त्यस्तै, २०२२ सालमा राष्ट्रसंघअन्तर्गत साइनिङ अस्पताल खुलेको श्रेष्ठ बताउँछन् । यसले स्वास्थ्य सुविधामा ठूलो सहयोग पु¥याएको उनको भनाइ छ । पहिले २०१४ सालमा स्वास्थ्य चौकी थियो । त्यसमा पहिलो पटक कम्पाउन्डर गणेशलाल रञ्जित रहेको पालिखे बताउँछन् ।
तालैताल र नदीहरूको किनारामा रहेको पोखरामा पानी पिउन भने कि सेती नदी कि त कुवाको भर थियो । अरु सुविधा थपिँदै गए पनि पोखरेलीले लामो समयसम्म पानीको समस्या खेपे । पृथ्वीनारायण क्याम्पसका संस्थापक जोर्ज जोनकी धर्मपत्नी डा. एलियामा जोनले आफूहरू बगरमा बसे पनि तत्कालीन अवस्थामा पानी लिन भने फेवातालसम्म पुग्ने गरेको सम्झिन्छिन् ।
पोखरामा पानीको समस्या चुलिएपछि बबरशमशेरले आफ्ना दिवंगत छोरा बालशमशेरको सम्झनामा पहिलोपटक विसं. १९८७ सालमा खानेपानीको योजना ल्याए र १२ वटा कलधारा निर्माण गरे । त्यो धाराको डिजाइन पनि बेलायतीबाटै भएको स्थानीय बताउँछन् । तीमध्ये एउटा धाराको भग्नावषेश तेर्सापट्टीमा अझै छ ।
पोखरामा जंगबहादुर आएपछि फेवातालमा लिफ्ट जडान गरी सिँचाइ गर्ने प्रविधि सुरु भएको थियो । सन् १९५० मा विजयपुर सिँचाइ आयोजना भयो । पञ्चाब हरियाणाको मोडलमा बनाउने योजना भने पूरा भएन् । २०१४ सालमा पहिलोपटक पोखरामा खानेपानी योजना सुरु भएको थियो ।
पोखरामा आफू २००८ सालमा आउँदा पाटन र धेरै चौतारा रहेको वरिष्ठ कलाकार दुर्गाप्रसाद बराल (बात्सायन) बताउँछन् । “जताततै बगैंचा थिए, हरियाली थियो । राति सुत्दा पनि सेतीको आवाज सुनिन्थ्यो । प्राकृतिक रूपमा यहाँको सुन्दरता बयान गरीसाध्य थिएन ।” पोखरामा पहिलो पटक चित्र कोर्र्ने बरालले काठमाडौंबाट रंग, ब्रस, सिसाकलम ल्याएर २०२८ सालमा नेपाल ललितकलाको शाखा खोली चित्रकलाको प्रशिक्षण पनि चलाएका थिए ।
“पोखरामा घरेलु उद्योग पहिलेदेखि नै थिए । स्थानीय कामी समुदायले निर्माण गरेका आकर्षक भाँडा खुब बिक्री हुन्थे,” कवि श्रेष्ठ भन्छन्, “उद्यमशीलताका लागि पोखराले नयाँ–नयाँ उद्योग पनि पायो ।” २००८ सालमा पोखरा उद्योग वाणिज्य संघ स्थापनाका लागि पहिलो बैठक बसेको थियो भने २०११ सालमा संघले विधिवत् पदाधिकारी पायो । संघका संस्थापक अध्यक्ष अमृतप्रसाद शेरचन हुन् । २०१८ सालमा सरदार हंशराज सिंहले पोखरामा सलाई फ्याक्ट्री खोलेका थिए । २०१८ सालतिरै अमृतप्रसाद शेरचन र प्रेमराज मुल्मीले हिमालय उड वक्र्स नाममा फर्निचर उद्योग खोले । “२००८ सालअघि पाल्पाली ढाका टोपीको उद्योग थियो । यो उद्योगका टोपी लोकप्रिय थिए,” उद्योगी श्रेष्ठले भने ।
२०२१ सालमा पोखरा औद्योगिक क्षेत्र घोषणा भयो । २०३३ सालमा क्षेत्रभित्र ६ वटा भवन थिए– ‘ए’ मा तीन र ‘बी’मा तीन । भवन बनेपछि औद्योगिक क्षेत्रभित्र उद्योग सुरु हुन थाले र बिस्तारै उत्पादनमूलक उद्योग थपिए । गण्डकी नुडल्सले २०३३ असोजमा त्यहीँबाट उत्पादन सुरु ग¥यो । त्यसपछि १२ वटा उद्योग सुरु भएको श्रेष्ठ बताउँछन् । अहिले १ सय ५ वटा दर्ता भएकोमा ८४ वटा सञ्चालनमा र ५४ वटा राम्रोसँग चलिरहेको उनले बताए ।
पोखरालाई व्यवस्थित बनाउन २० को दशकमै योजना बनेको थियो । भूदेव राईले २०२२ मा अञ्चालाधीश हुँदा महेन्द्रपुलदेखि एयरपोर्टसम्मको सीधा बाटो खोलेको पालिखे बताउँछन् । व्यवस्थित हुने क्रममा त्यसपछिका अञ्चलाधीश शंकरराज पाठकले अलि आधुनिक योजना ल्याए । उपत्यका नगर बनाउने उनको योजना थियो । नयाँ सडकको बाटो, पृथ्वीचोकदेखि बैदामको बाटो बन्यो । र, त्यसपछि योजनाकार पदमबहादुर क्षेत्रीले व्यवस्थित योजना बनाए । उनकै योजनाअनुसार एयरपोर्ट, औद्योगिक क्षेत्र, आवास, सरकारी कार्यालय कुन ठाउँमा कसरी राख्ने भन्ने योजना बन्यो ।
“पोखराले ठूलै संघर्ष गरेर त्यो बेला कुनै कुरा माग्नुपरेन र ल्याउनुपरेन,” कवी श्रेष्ठ भन्छन्, “विकासदेखि धेरै कुरा क्रमिक रूपमा पायौं तर अहिले अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलै आन्दोलन गर्नुपरेको छ । पोखराको विगत राम्रो थियो, अब भविष्य बनाउनका लागि केही गर्नुपर्छ, पहिला जति थियो, त्यसको तुलनामा अझ केही हुनुपर्ने हो तर भएको छैन ।”
पालिखे थप्छन्, “पोखरा अन्तर्राष्ट्रिय गन्तव्य बन्दैछ । पर्यटनको मात्र होइन, बहुआयामिक विकासको खाँचो छ पोखरालाई छ ।”

No comments:

Post a Comment