Pages

Thursday, March 17, 2011

क्रुर प्रकृतिप्रति फरक मत

प्रकृति यो नाम सुन्ने वित्तिकै मन आनन्दित हुन्छ कारण प्रकृतिसँग हामी रमिरहेका छौं । प्रकृतिकै यहि बातावरणमा हामी हुर्किरहेका छौं । स्वच्छ हावा निश्चल पानी खुला गगन हरियाली पाखापखेरा सुगन्धित माटो हामीले जानेको प्रकृति यिनै हुन् । अनेक रुपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रुपमा देखापर्ने शक्तिको रुपमा पनि प्रकृतिलाई लिने गरिन्छ त्यस्तै जगतको उत्पत्तीको कारणरुप पनि प्रकृतिलाई नै मानिन्छ । प्रकृतिलाई लिएर विभिन्न उपमा र विशेषण जोडेर धेरै नै चर्चा पनि भएको पाइन्छ । प्रकृतिको गुणगान गाउनेदेखी लिएर कवि र साहित्यकारका शब्दमा अनि संगीतकारको धुनदेखी लिएर गायकका मुखमा समेत प्रकृतिका विभिन्न रुपहरु झुण्डिएको पनि पाइएको छ । मनलाई आनन्दित पार्ने प्रकृति र यसका रुपहरुले मनलाई पनि क्रोध बनाउँछ कहिलेकाँही जब प्रकृति क्रुर हुन्छ अनि विनाश विपत्ति र दर्दनाक अवस्थाको सिर्जना हुन्छ । प्रकृतिकै फरक रुप हो क्रुरता जो मानवमनका लागि विचलन पैदा गर्छ ।

पछिल्लोपटक मात्र प्रकृतिको क्रुरता देखियो जापानमा शुक्रवार जापानमा आएको शताब्दीकै महाविपत्तीले जापानको केही प्रान्तहरु तहसनहस पारेको छ । ८।९ रेक्टर मापन गरिएको भुइँचालो जाँदा जापानमा सुनामी नै उठ्यो अहिले पनि जापानमा भुइँचालो र सुनामीको झट्का भैरहेको छ र यसपछिका अन्य विपत्तीहरु पनि जापानमा भैरहेको छ किनकी आइतवार रातीसम्म पनि जापानमा ज्वालामुखी भएको थियो । शुक्रवार जापानमा गएको भुइँचालो र त्यसले पारेको तहसनहस जसरी सुनामी जस्तै छिटो साचार माध्यममा आयो धेरैले जिव्रो टोके एकैछिन जापानजस्तो विश्वको तेश्रो आर्थिक विकास भएको मुलुकमा प्रकृतिको बर्बरताले त्यहाँका संरचनाहरुमा पुर्याएको विध्वंस र धेरै मानिसले आफ्नो ज्यान गुमाएको अवस्थामा संवेदना भएका मान्छेहरु अत्तालिनु स्वभाविक नै हो । जापान एउटा विकसित मुलुकका साथसाथै भुकम्पको हिसाबले उच्च जोखिममा रहेको देश पनि हो । भुकम्पबाट बच्न जापानले आफ्नो प्रविधीको प्रयोग नगरेको पनि होइन तर महाविपत्तीमा प्रविधीले पनि थेक्न सकेन । सर्तकता र पूर्व सुरक्षाका हिसाबले माहिर मानिने जापानमा भएको विपत्तीमा अहिले हजारौं मानिसको ज्यान गैसकेको छ भने हजारौं मानिस नै सम्पर्कविहिन अवस्थामा रहेका छन् । जापानमा १ सय ४० बर्षपछिको शक्तिशाली भुकम्प जाँदा धेरै भौतिक संरचना ध्वस्त भएका छन् । भुकम्पपछि प्रशान्त महासागरमा आएको सुनामीले अझ बढि नोक्सान पुराएको छ जापानमा १० मिटर अग्लो सुनामीले अकल्पनिय रुपमा हवाईजहाज गाडी र घरहरु बगाउँदा टेलिभिजन हेरेका दर्शक स्तब्ध बनेका थिए । भौगर्भिक अवस्थितीले गर्दा जापानमा समयसमयमा भुकम्प गैरहन्छ । जापानीहरुका लागि यस्ता आपत विपत नौला भने होइनन् किनकी जापान भुकम्पको उच्च जोखिममा रहेको देश हो र त्यहाँ सानाठुला भुकम्प गैरहेको हुन्छ । भूकम्पको विध्वंशबाट जोगिन जापानले पूर्वतयारी राम्रोसँग गर्दछ पूर्वतयारीको हिसाबले अन्य मुलुक भन्दा अगाडी रहेको जापानमा पनि महाविपत्ती आईलाग्दा ठुलो जनधनको क्षती भएको छ । भुकम्पले गर्दा नै परमाणु केन्द्र विष्फोट हुँदा घातक परमाणुको विकिरणको जोखिमा पनि रहेका छन् जापानीजहरु । विश्वमा विनाशकारी धेरै भूकम्पहरु गएका छन् जसका कारण लाखौंले ज्यान गुमाएका छन् भने भौतिक क्षतीको कुनै लेखाजोखा नै छैन् । हामीले पछिल्लो पटक मात्र हाइटी र जापानको अवस्था देखिसकेका छौं त्यस बाहेक छिमेकी मुलुक भारत र चिनमा पनि भूकम्पले धेरै क्षती पुराएको छ भने नेपालमा पनि नब्बे साल र २०४५ सालको भूकम्पको बहस बेला बेलामा हुने गर्दछ ।
विपत्ती बाजा बजाएर आउदैन यो भनाई भनाई मात्र होइन यथार्थ पनि हो किनकी विश्वमा गएका ठुला विपत्तीहरुको सामना गर्न कसैले सकेका छैनन् । विपत्तीमा सर्तकता र सुरक्षा अपनाइयो भने क्षती न्यूनिकरण गर्न भने सकिन्छ जुन जापानले पनि प्रयोग गर्दे आएको छ । विपत्ती हुने थाहा पाएपछि शुक्रवार छोटो समयमा ७० हजार नागरिकलाई सुरक्षित स्थानमा लगिएको थियो । त्यसैले विपत्ती र सर्तकताको विषयमा जापानबाट नेपालले केही पाठ सिक्नु जरुरी छ किनकी जोखिम न्यूनिकरण गर्न लागि पहल र उपाय भने सोच्नै पर्दछ । नेपाल पनि भूकम्पकिय हिसाबले उच्च जोखिमा रहेको छ । यहाँ पनि कुनै पनि बेला ठुलो विपत्ती आउन सक्दछ । विपत्ती नआओस् हाम्रो कामना तर कामना गर्दैमा विपत्ती नआउने होइन त्यसैले विपत्तीबाट बच्न केही उपाय अपनाउन जरुरी छ । दैवी प्रकोपलाई रोक्न त कसैले सक्दैन तर पनि त्यसबाट हुने क्षती न्यूनिकरणका लागि पहल भने गर्न सकिन्छ । नेपालको भौगोलिक बनावट हेर्दा पनि यहाँ ससाना भूक्षय देखी लिएर ठुलो भुकम्पहरु गएको छ । जापानजस्तो मुलुकले त ठुलो क्षति सामना गर्नु पर्यो भने नेपालजस्तो विकाशोन्मुख देशको अवस्था के होला जति वेला जापानमा जस्तो भूकम्प आउँछ । नेपालमा सुनामीको डर त छैन किनकी यहाँ कुनै समुन्द्र छैन तर पनि नेपाल एक भूकम्पीय दृष्टिले उच्च जोखिममा छ । प्राकृतिक प्रकोपपछि के गर्ने र यसअघि गर्नुपर्ने सामान्य अवस्थाका विषयमा पनि सरकारले आफ्ना नागरिकलाई जागरुक बनाएको अवस्था छैन । जनचेतना उद्धार राहतको पूर्वतयारी स्वयंसेवकको परिचालन र अवस्थाको हिसाबले पनि नेपाल कमजोर अवस्थामा छ त्यसैले यस विषयमा ध्यान दिइएन भने नेपालले ठूलो नोक्सानी बेहोर्नुपर्दछ । नेपालमा भवन बनाउँदा अझैपनि भूकम्प प्रतिरोधक बनाएको पाइदैन हुन त अझ सम्म राष्ट्रिय भवन संहिता लागू हुन सकेको छैन । संहिता जारी गरेको १० बर्षभन्दा बढि हुँदासम्म पनि कार्यान्वयन गर्न नसक्ने सरकारले अरु के नै गर्लार प्राकृतिक प्रकोपबाट बच्न । सरकारले न्यूनतम ध्यान दिनुपर्ने कुरा पनि दिन सकेको छैन यसपट्टी जापानमा भूकम्प जाँदा संयोग नै मान्नुपर्दछ नेपालका विभिन्न क्षेत्रमा पनि हल्का भूकम्पको महशुश भएको थियो । भूकम्प आइहाल्यो भने त्यसपछि पनि उद्धार र राहत नपाएर नेपालमा धेरै नोक्सानी हुने अवस्था देखिन्छ यस विषयमा पनि सोच्नैपर्ने कुरा हो ।
अब गर्मी मौसम शुरु भएको छ । यो सिजनमा हावाहुरी र आगलागीबाट धेरै धनजनको क्षति हुन्छ तर सरकारले जनचेतनासम्म फैलाउन सकेको छैन । गरिबी मुलुक भएकोले महाविपत्ती पछि तत्काल नागरिकले राहत र उद्धार पाउँछन् भन्ने विषयमा पनि सोच्नुपर्ने अवस्था छ त्यसैले अहिलेदेखी नै ध्यान दिने हो भने जोखिम न्यूनिकरणमा सहयोग पुग्न सक्छ । प्राकृतिक विपत्तीको भविष्यबाणी गर्न सकिदैन र माथी भनेजस्तै विपत्ती बाजा बजाएर पनि आउँदैन त्यस्ौले सधै चनाखोसतर्क र पूर्वतयारीका साथ बस्नु नै बेस हुन्छ । अन्त्यमा जापानमा भएको महाविपत्तीमा परेका नागरिकहरुप्रति प्रार्थना गरौं हुनत विपत्तीले प्रार्थना पनि सुन्दैन तर पनि आत्मबल पैदा गर्छ । प्रकृतिको यो रुप अन्य देशले देख्न र भोग्न नपरोस् कामना अनि क्रुर प्रकृतिप्रति मेरो सँधै फरक मत

No comments:

Post a Comment