Pages

Friday, March 25, 2011

थापाकाजी, डाक्टर साहेव र माओवादी



राजनितीमा पार्टी(संस्था)नै हावी हुनुपर्छ पार्टीभन्दा माथी उठेर व्यक्ति हावी भयो भने व्यक्तिगत चर्चा चुलिदै जान्छ र पार्टीका समान हैसियत वा तलमाथीकालाई हलचल पैदा हुन सक्छ तर पनि यो सम्भव छैन । कसैले राजनिती आफ्नै लागि गर्छन कसैले जनता र देशका लागि त कसैले केवल पार्टीका लागि मात्र । वास्तवमा जनता र देशका लागि राजनिती गर्नेलाई सबैको साथ मिल्दछ । र त्यही साथबाट शक्ति मिल्दछ । उसो त राजनितीक संस्थाले कुनै पनि समाज तथा राष्ट्रमा शक्तिको अभ्यास गरिरहेको हुन्छ । यहि शक्तिको प्रभावबाट समाजका प्रत्येक सदस्य राजनितीबाट प्रभावित हुन्छन् त्यसैले भन्ने गरिन्छ कुनैपनि व्यक्ति राजनितीबाट अलग रहन सक्दैन । सामाजिक प्राणीको उपमा पाएको मान्छे धार्मिक आर्थिक सांस्कृतिकसँगै राजनितीको रुपरेखासँग पनि नजिकिदै गएको छ । समाज सुधारकको पथसँगै राजनितीले नियमकानून मूल्यमान्यता तथा अधिकारको बाँडफाँड अनि यसलाई कार्यान्वयन गर्दछ र यसैमाथीका कतिपय कुरालाई निर्देशित र नियन्त्रण पनि यिनै कुराको अभ्यास हुँदाहुँदै राजनितीभित्र पस्ने एउटा संस्कार छ स्वार्थ घातप्रतिघात र संघर्ष अन्तरसंघर्ष जसले गर्दा राजनितीलाई दुषित बनाइदिन्छ र अहिलेको पुस्ताले भन्ने गरेको व्याख्या बन्न जान्छ राजनिती फोहोरी खेल ।
नेपालमा अहिले ठूलो शक्तिको रुपमा उदाइरहेको राजनितीक संस्था एकिकृत नेकपा माओवादीभित्र पनि अन्तरसंघर्ष र आन्तरिकसंघर्षले पार्टी र पार्टीइत्तरका सर्वसाधरणलाई ध्यान खिचिरहेको छ । माओवादीभित्रको बहुचर्चित दुई लाइन संघर्ष छताछुल्ल भएर सतहमा आइरहँदा पार्टीभित्र र बाहिर लोकपि्रय भैरहेका नेतालाई कसरी प्रहार हुन्छ भन्ने पनि सतहमा आइपुगेको छ । माओवादीमा पछिल्लोपटक आन्तरिक संघर्षको सिकार बनिरहेका छन् माओवादी कै उपाध्यक्ष डा। बाबुराम भट्टराई । जसको पछिल्लो उदारहण हो भट्टराईप्रति गत साता गोरखामा भएको अवरोध र पार्टीभित्रबाटै असहयोग । हुनत भट्टराई पछिल्लो पटक मात्र होइन माओवादीको २०५२ सालपछिको विधिवत जनयुद्ध र त्यसपूर्व अन्य कम्युनिष्ट पार्टीहरुसँगै संयुक्त जनमोर्चामा रहँदा पनि उनीमाथी घात प्रतिघात र प्रहार भएको इतिहासले देखाउँछ । पहिलो आम निर्वाचनमा चुनाव लडेर प्रतिनिधी सभा र राष्ट्रियसभामा केही सिट जितेको संयुक्त जनमोर्चा आन्तरिक कारणले नै मध्यावधी निर्वाचनमा आएर फुट्यो । डा। बाबुराम भट्टराईको विचार स्विकार नगरी निराजन गोविन्द बैद्य समुह अलग भएर निर्वाचनमा सहभागी भयो र निर्वाचनमा सबै क्षेत्रबाट पराजित । भट्टराईको नेतृत्वमा गठित मोर्चाले निर्वाचन बहिष्कार गर्यो । बहिष्कारको योजना र कारण भट्टराईले प्रस्तुत गर्दा उनीमाथी आरोप र प्रहार त्यतिवेला पनि भएको पाइएको छ । नेपालमा सबैभन्दा बढि विवादीत र फुटको सिकार कम्युनिष्ट पार्टी भएको छ अनि साझा रुपमा अगाडी बढेका लोकपि्रय नेतालाई घात प्रहार पनि कम्युनिष्ट पार्टीभित्र नै भएको देखिन्छ । अन्य पार्टीमा पनि संघर्ष नभएको होइन अनि समान अस्तित्व भएका नेताविच प्रतिस्पर्धा पनि तर माओवादीमा जुन पछिल्लो पटक गोरखामा भट्टराईप्रति अवरोध र प्रहार भयो त्यो एक किसिमको राजनितीक जीवन समाप्त गर्ने खालको रुपमा देखिएको छ । भट्टराई आफ्नो बौद्धिकता र व्यक्तित्वले माओवादीमा भन्दा बढि अन्य पार्टीमा लोकपि्रय र सर्वसाधारणको रुचाइएको व्यक्ति हुन थालेपछि माओवादीकै संस्थापन समुहले उनलाई विभिन्न आरोप र लााछना लगाइएको छ । माओवादीका ऐतिहासिक बैठकदेखी लिएर पछिल्लोपटकको पालुङटारको विस्तारित बैठकमा आइपुग्दा उनीमाथी संस्थापन पक्षले सौतेलो व्यवहार गरेको स्पष्ट हुन्छ । भट्टराईले भारतपरस्त र अवसरवादीको आरोप संस्थापनपक्षबाट खेपिरहँदा पछिल्लो पटकको प्रधानमन्त्री निर्वाचनमा उनको नाम जुन रुपमा अगाडी आयो यसले संस्थापन पक्षलाई उच्च ज्वरो आएको देखिन्छ यिनै तिक्ततालाई मेट्न नसक्दा उनको आफ्नै गृहजिल्ला गोरखामा उनीमाथी अवरोधको प्रयास भयो । गोरखाको जिल्ला परिषदमा प्रमुख अतिथी बनेर आउँदा पार्टीभित्रकै संस्थापन पक्षले उनलाई अभद्र व्यवहार गरे । कस्तो अचम्म आफ्नै गृहजिल्लामा उच्च तहका नेतालाई सामान्य कार्यक्रममा अवरोध । कार्यक्रममा भट्टराईले भावुक भएर भनेको मन्तव्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय साचारमाध्यममा स्थान पायो । भटटराईले कार्यक्रममा भनेका थिए देशमा केही राम्रो काम गर्दा गल्ति हुन्छ भने भीमसेन थापा जस्तो सेरिएर मर्न तयार छु । आफ्नै पार्टीका संस्थापन पक्षका कार्यकर्ताबाट कार्यक्रममा आउन रोकेपछि भटटराईको मन्तव्यमा रोषसँगै भावुकता पोखिएको थियो । जनताका लागि काम गर्दा यदि जनतामाझ जान नदिने षडयन्त्र हुन्छ भने म भिमसेन थापा बन्न तयार छु उनले भनेका थिए । भिमसेन थापा लोकपि्रय हुँदै गएपछि उनले विश्वास गरेको दरबारले उनलाई जेल हालेर जनतामाझ जान रोकेको कुरा भट्टराईले स्मरण गर्दे गोरखामा पनि मलाई एमाले काग्रेसले बढि रुचाउन थालेपछि आफ्नै पार्टीले जनतामा जान अवरोध गरेको आशय व्यक्त गरे । भारदारहरुबीचको गुटवन्दी र दरबारियाको षड्यन्त्रमा परेर थापा जेल परेका थिए अनेकौं यातना सहेका थापाले आत्मसम्मानमा ठेस पुगेको महशुश गर्दे िवं।सं। १८९६ मा आत्महत्या गरेका थिए । थापाको त्यसबेला विरोध गर्ने पाण्डे र बस्नयातहरु रहेका थिए । आफुले विश्वास गरेको दरवार र भारदारहरुको गुटको सिकार भएका थापालाई कारुणिक रुपमा माओवादी नेता भट्टराईले सम्झदा पाण्डे र बस्न्यात जस्तै पक्कै उनको दिमागमा प्रचण्ड र मोहन बैद्यको अनुहार नाचेको हुनुपर्छ ।
नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूती भिमसेन थापा र नेपालका राजनितीमा उदाँउदै गरेका माओवादी नेता डा। बाबुराम भटटराईविच तुलना गर्नुभन्दा पनि बाबुरामले भिमसेनलाई गोरखामा स्मरण गरेको प्रसङ्गको रुपरेखा खोजिन थालिएको छ । भिमसेन थापालाई पनि तत्कालिन समयमा विभिन्न आरोप र लााछना लगाइएको थियो । राष्ट्रिय स्वाभिमान जातिय गौरव सम्प्रभुताको संरक्षण गर्ने राष्ट्रिय विभूतिलाई अझै पनि स्वाधीनता र राष्ट्रियतको विरोधी ठान्छन् केही अल्पज्ञानीहरु । विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरुद्ध लड्न एशियाली जनएकताको आह्वान गर्ने थापा निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए । पूर्खाहरुले सुरु गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए । सेनाको आधुनिकीकरण राहदानी प्रथाको सुरुआत अनेर्काे सामाजिक सुधार र विकास निर्माणको कार्य गरेका थापालाई नबुझ्ने मानिसले अझै पनि आरोप लगाएका छन् त्यसैले गोरखामा नै जन्मेका थापालाई अर्काे गोर्खाली भट्टराईले गोरखामा गएर नै सम्झनु संयोग भन्दा पनि उनको मन्तव्यले उनलाई काम गर्दा हुने पीडाबोध गराएको हुनुपर्छ । अंग्रजलाई एसियाबाट लखेटेर नेपालको मात्र नभएर छिमेकी राज्यको पनि संरक्षण गर्नुपर्छ भन्ने एसिया नेता थापालाई देशद्रोहीको आरोप अझै अल्पज्ञानीहरुले लगाउँछन् त भट्टराईलाई भारतपरस्त र अवसरवादी किन नभनुन ।
डा। बाबुराम भटटराईलाई जनयुद्धताका राखेका विचार र माओवादी शान्तिप्रकि्रयामा आइसकेपछि व्यक्त भएका भावलाई माओवादीले जहिले पनि दोहोरो अर्थमा बुझ्ने काम भएको छ जसले गर्दा मुलुकको आशालाग्दा नेतालाई राजनितीक जीवन समाप्त गरेर मानसिक तनाव दिने सुरमा माओवादीकै नेताहरु लाग्दा यसले पार्टीलाई पनि फाइदा पुग्दैन भन्ने त सोच्नुपर्ने हो । वास्तवमा नेता बन्न धेरै गुण आवश्यक पर्छ ती धेरै गुणहरु मध्ये बाबुरामसँग प्राय गुणहरु छन् । उनी अर्थमन्त्री हुँदा मुलुकको राजश्वको लागि गरेको प्रयास र आर्थिक नीतिको कुरा केही बाहेक धेरैलाई राम्रो लाग्यो र उनको प्रसंशक पनि त्यसै बेलादेखी बढे । अध्ययनशिल र बौद्धिक नेताको रुपमा लिइने भट्टराईलाई माओवादीले जति उपेक्षा गर्दे गएको छ उनको शुभचिन्तक पनि बढ्दै गएका छन् र उनको सम्मान पनि बढ्दै गएको छ । नॆता बन्नलाई अनुयायीहरु हुन जरुरी छ भटटराईका अनुयायीहरु दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले मुलुक र जनताका लागि ढुक्क भै अगाडी बढ डा। भट्टराई तिम्रा पछाडी सच्चा जनता हुनेछन् भलै माओवादी कार्यकर्ता नभए पनि र अन्त्यमा आशा गरौं यो मुलुकमा जनता र देशका लागि काम गर्ने नेता राजनितीक विचलनमा आई मर्न तयार गरेको भाषण दोस्रो पटक सुन्न नपरोस् ।

No comments:

Post a Comment