Pages

Monday, February 17, 2014

सुध्रिए ट्राफिक प्रहरी, सुध्रिएनौं हामी (अडियो–भिडियो–फोटोसहित)

सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए। 
यसरी समातिएका सबैलाई ट्राफिक जनचेतनाका विषयमा प्रवचन दिए र सुनाए, ट्राफिक नियम उल्लंघन गर्दा हुने जरिवाना, सजाय र दुर्घटनाका विषयहरु। तर, अन्तिममा ट्राफिक प्रहरीले उल्टै नियम मिच्‍ने सवारी चालकलाई 'नमस्कार ! आइन्दा गल्ती नगर्नुस्' भन्दै छोडिदियो पनि। 

 यस्तै घटना भयो गएको शनिबार। म स्कुटरमा थिएँ। कान्तिपथमा ट्राफिकले चेकजाँच गरिरहेका बेला प्रहरीका अगाडि ब्रेक लगाउन कर लाग्यो। ट्राफिक प्रहरी नजिक आएर 'सर कहाँबाट आउनु भएको ?' भन्दै प्रश्न गरे। मैले भने, 'अफिसबाट।' उनले मुखै नजिक आउर फेरि सोधे, 'कहाँ जान लाग्नुभएको हो ?' 'नयाँ बजार,' मैले भनेँ। मुख नजिकै आएर प्रश्न गर्नुको उनको उद्देश्य थियो - मैले मापसे (मादक पदार्थ सेवन)गरेर स्कुटर चलाएको छु कि छैन? हाँस्दै उनले सोधे, 'मापसे त गर्नु भएको छैन नि!' मैले 'छैन छैन' भनेपछि उनले 'हुन्छ जानुहोस्' भने। यी दुई घटनाबाट बदलिएको ट्राफिक प्रहरीको व्यवहारलाई नजिकबाट अनुभव गरेँ मैले। अचेल बहुसंख्यक ट्राफिक प्रहरीहरु मापसे होस् या लाइसेन्स विलबुक चेक गर्दा शिष्ट र नरम भएर बोल्न थालेका छन्। मैलेजस्तै धेरैले यस्तै अनुभव गरेका होलान्। ट्राफिकले गर्ने हरेक प्रकारको चेक सवारी चालककै सुरक्षाका लागि हुन्छ। (Watch Video) तर, हामी सवारी चालक जहिले ट्राफिकलाई छल्न खोजिरहेका हुन्छौं। एउटा यस्तै घटनाको प्रत्यक्षदर्शी बनेको थिएँ। स्थान हो नक्साल। ट्राफिक प्रहरीले 'चेक' गरिरहँदा एकजना मोटरसाइकल चालक नरोकी हुँइकिए। हत्तारिए ! अलि परको मोडमै उनी लडे। ट्राफिक प्रहरी नै गएर ती चालकलाई उठायो। 'किन भागेको ?' उनको जवाफ थियो, 'लाइसेन्स थिएन।' रमाइलो के थियो भने लाइसेन्स नबोकेवापत उसले २ सय रुपियाँ जरिवाना तिरे पुग्थ्यो। 'भाग्दा तिमीलाई चोट लाग्यो। अनि बाइक पनि बिग्रियो,' ट्राफिकले सम्झाए। युवकले 'सरी' त भने तर ट्राफिकले जरिवानाका लागि रसिद भने काटिहाले। सोमबार विहान केशरमहल अगाडि ट्राफिक निरीक्षक सीताराम हाछेथुलगायतले नियम मिच्‍ने चालकलाई नियन्त्रणमा लिँदा सबैको आक्रोश पोखिएको देखिन्थ्यो। 'बाटो नै यस्तो छ', 'चिह्न नै प्रष्ट छैन', 'हाम्रोमात्र दोष छ?' भन्दै कराउँदै थिए। सीताराम भन्दै थिए, 'हतार नगर्नुस् न। गल्ती हुँदा ज्यान नै जान्छ। धुम ३ को हिरो को हो? ऐश्वर्याको छोरा छ कि छोरी ? सबैलाई थाहा हुन्छ। फिल्म हलमा ३ घण्टा कफी र पपकर्न खाएर फिल्म हेर्ने फुर्सद तपाईहरुसँग छ तर ५ मिनेट सडकमा धैर्यता गर्नुहुँदैन। तपाईहरुलाई सडकमा सधै हतार हुन्छ। त्यसैले आफ्नो र अर्काको ज्यानको माया गरेर हिड्नुस्। ट्राफिक नियम पालना गर्नुस्।' उनले चेतनामुलक ब्रोसर पनि बाडिरहेका थिए। (Listen Audio) तर, ट्राफिक प्रहरीको व्यवहार पहिले यस्तै थिएन। गुनासो पनि उत्तिकै हुन्थ्यो। तर, अचेल ट्राफिकहरु विनम्र छन्। सवारी चालकको सुरक्षाका लागि खटिरहेका पनि छन्। तर, पनि हामी सुध्रेका छैनौं। प्रहरी सुध्रिए, हामीमा चेतना आएकै छैन। जसरी पनि ट्राफिकलाई छल्ने, भाग्‍ने र उम्कने हतारमा हुन्छौं, हामी। हाम्रै सुरक्षाका लागि खटिएका ट्राफिकलाई गाली गर्दै भाग्‍नुलाई पुरुषार्थ ठान्छौं। परिणाम सडक दुर्घटनामा मर्नेको संख्या बढेको बढ्यैं। प्रहरीबाट भागिरहेका हामी आफ्नै लोभलाग्दो जोवनबाट त भागिरहेका छैनौ? प्रहरीलाई छक्याउँदा हामीले आफैँलाई त छक्याएका छैनौं? अब अरुलाई छक्याउने नाममा आफैलाई छक्याउन छोड्दिम न।
यसमा पनि हेर्नुस् ।  http://www.nagariknews.com/blog/story/13841

No comments:

Post a Comment