Pages

Monday, February 24, 2014

तानदेखि केबुलकारसम्म

२०२१ सालमा हेटौंडामा डिजेल प्लान्ट परियोजनामा ३० लाखजति घाटा खाएपछि धैर्य नगरेको भए लक्ष्मणबाबु श्रेष्ठ शायदै स्थापित हुन्थे होला । ४ हजार ५ सय किलोवाटको हेटौंडा डिजेल प्लान्टको टेन्डर परे पनि काममा असफल भएका उनी त्यसको पूर्ति गर्न कयौं बिघा जग्गा बेचेर व्यवसायमा अडिएका थिए । त्यही धैर्यले उनलाई व्यवसायमा स्थापित गरायो ।
गोरखामा जन्मिएर चितवनबाट निर्माण व्यवसायमा हात हालेका ७८ वर्षीय श्रेष्ठको फागुन १ मा  उपचार क्रममै भारतमा निधन भयो । उनको अनुपस्थितिमा यतिखेर परिवारमात्र शोकमग्न छैन, उनीसँग जोडिएका सबै शोकमा छन् । स्थापित र सफल व्यवसायीको अनुपस्थितमा कयौंले अभिभावकमात्र गुमाएनन्, निजी क्षेत्रले साझेदारसमेत गुमाएको छ ।

निर्माण व्यवसायबाट व्यापार सुरु गरेका श्रेष्ठले मनकामना दर्शन, सगरमाथा पावर, नेपाल रोपवे सिस्टम, आरबी इन्टरप्राइजेज, चितवन मिल्कलगायत विभिन्न कम्पनीलाई स्थापित गराइदिए । निर्माण र पूर्वाधारमा समर्पित उनले १४ वर्षको कलिलो उमेरमै आफूलाई उद्यमशीलतामा धकेलेका थिए ।
‘लक्ष्मण सानै उमेरदेखि तेजिलो र फूर्तिलो थियो,’ ८६ वर्षीय माइला दाजु चुडानाराण (किसनबाबु) ले सम्झिए, ‘१४ वर्षकै उमेरमा घरेलु तान लिएर कपडा बुन्ने व्यवसायमा हात होलेको भाइले अन्तिम समयसम्म पनि व्यवसायमै सक्रिय रह्यो ।’
२०१६ सालमा विद्यार्थी जीवनमै चितवनको यज्ञपुरी कृषि भवनको टेन्डर हालेर व्यवसायमा लागेका श्रेष्ठले मुलकका विभिन्न ठाउँमा विभिन्न परियोजनामा काम गरेका थिए । यज्ञपुरीको टेन्डरपछि भरतपुरमा १५÷१६ वटा कार्यालयका भवन निर्माण गरेका श्रेष्ठले २०२१ सालमा हेटौंडामा डिजेल प्लान्टमा ठूलो घाटा खाए । कयौं बिघा जग्गा बेचेर आफूलाई सम्हालेका उनले बीचमा के गर्ने भन्ने योजना बनाइरहेका थिए ।
‘हेटौंडाको डिजेल प्लान्टमा सफल नभएपछि उसले राजनीति गर्ने इच्छा राखेको थियो,’ दाजु चुडानारायण सम्झिन्छन्, ‘२०२६ सालमा पञ्चायतको प्रभावमा परेको थियो ।’ गोरखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रताप शाहले पञ्चायतको राजनीतिमा भाइलाई ल्याउन खोज्दा आफूले रोकेको चुडानारायण बताउँछन् ।
‘राजनीति गर्ने जोश देखाइरहेका बेला मैले विष्णुप्रताप शाहलाई राजनीतिमा नधकेल भन्दै रोकेँ । त्यसपछि भाइलाई पनि आगोले पोल्यो भने आगोमै सेक्नुपर्छ भन्दै सम्झाएँ । ठेक्कापट्टामा घाटा खाएर बसेको भाइलाई अनुभवबाट सिक्नुपर्ने भन्दै ठेक्कामै फर्किन सुझाव दिएँ,’ उनी भन्छन्, ‘भाइले पनि मेरो कुरा मानेर राजनीतिबाट पछि हट्यो र २०२६ सालमा पोखराको फेवाताल बाँधको काममा हात हाल्यो ।’
भारत बम्बईको एक कम्पनी भागेपछि पोखरा फेवाताल बाँधका लागि पुनः टेन्डर आह्वान भएको थियो । सरकारले समयमा काम सकेपछि थप ५ लाख दिने र समयमा सकेन भने १० लाख जरिवानासहित सजाय दिने सर्तमा पनि लक्ष्मणबाबुले साहस लिएर बाँधको काम गरेका थिए । ‘बाँधको काम समयमा पूरा भयो र सफलतापूर्वक काम गरेकोले थप ५ लाख पनि पायौं । त्यसपछि उसमा उत्साह र ऊर्जा थपिएको हो,’ चुडानारायण भन्छन् । 
पोखराबाट उत्साह थपिएपछि लक्ष्मणबाबुले त्यहीँ नै कामलाई केन्द्रित गरे । पोखराको राष्ट्र बैंकको भवन, गण्डकी अस्पताल भवन पनि उनले नै सफलतापूर्वक पूरा गरेपछि २०२२ सालमा चितवन कोइको अवधारणालाई २०३३ सालमा दर्ता गर्दै व्यवसायलाई झन् अगाडि बढाए ।
निर्माण व्यवसायमा अवसर खोज्दै हिँडिरहेका श्रेष्ठले चितवनमा सिचाइँको टेन्डर हालेपछि त्यो परियोजना पूरा गरे । त्यस्तै नारायणीको पानी पर्सा पु¥याउने परियोजनामा पनि सफल भएपछि सबै क्षेत्रबाट सम्मान र कदर हुन थाल्यो ।

पढ्न र लेख्न धेरै मन पराउने लक्ष्मणबाबु काठमाडौंकोे जुद्धोदय हाइस्कुलदेखि एसएलसी दिन बनारस पुगेका थिए । उनले त्रिचन्द्रबाट उच्च शिक्षा लिए । आफू पढ्दै गर्दा त्रिचन्द्रको एकजना मास्टरलाई गोरखामा रहेको शक्ति स्कुलमा पढाउन लगेको दाजु चुडानारायण सम्झिन्छन् ।
विभिन्न कोणबाट समाजसेवामा जोडिएका श्रेष्ठले आफ्ना कामदार र विपन्न परिवारलाई असाध्यै माया गर्थे । पूर्वमन्त्री तथा लक्ष्मणबाबुसँग २००८ सालदेखि संगत गरेका विश्वबन्धु थापा लक्ष्मणबाबु उदार हृदय भएको बताउँछन् । ‘सबैलाई सहयोग गर्ने, मिलनसार र सबैको भलो चिताउने सच्चा व्यक्तिमध्ये उनी एक थिए,’ थापा सम्झिन्छन्, ‘मसँग उनका दाजुले जागिर खुवाउन ल्याएका बेला मैले उनलाई जागिर खुवाउने होइन अझै पढ्न लगाउनू र व्यवसायमा नै प्रवेश गराउनू भनेको थिएा । जागिर खाएको भए हाकिमसम्म हुन्थे होला तर, आज धेरैको अभिभावका रूपमा चिनिए ।’
व्यवसायमा थुप्रैका लागि प्रेरणादायी बनेका लक्ष्मणबाबुलाई सम्झादै शोकपुस्तिकामा काँग्रेस युवा नेता तथा सभासद गगन थापा लेख्छन्, ‘नेपालका एक सम्मानित उद्योगपति एवं कैयन नययुवकहरूका निम्ति प्रेरणाका स्रोत आदरणीय लक्ष्मणबाबु श्रेष्ठको स्वर्गारोहण भएको यो दुःखद घडीमा मृत आत्माको शान्तिको कामना गर्छु ।’
श्रेष्ठको सपनाः व्यवसाय विस्तार
लक्ष्मणबाबु र केबुलकार पर्यायवाची बनिसकेका छन् । नेपालमा केबुलकार भिœयाउने श्रेष्ठले व्यवसायलाई फैलाउँदै लगिरहेका थिए । तर, उनको परिचय केबुलकारमा मात्र अडिएर बसेन । ‘बुबाले निर्माण र पूर्वाधारमा पछिसम्म काम गर्नु भनेको देशप्रतिको मायाले पनि हो,’ २०३२ सालदेखि लक्ष्मणबाबुलाई व्यवसायमा साथ दिएका जेठा छोरा राजुबाबु श्रेष्ठ भन्छन्, ‘उहाँले सिचाइँ, खानेपानी, अस्पताल, होटल, हाइड्रोपावरलगायत क्षेत्रमा हात हाल्नुभयो । देश बन्न पूर्वाधार बन्नुपर्छ भन्ने सोचेर व्यवसायलाई सामाजिक कामसँग जोड्नुभयो ।’

२०३९ सालमा निर्माणसम्बन्धी मेसिनरी सामान बिक्री गर्ने आरबी इन्टरप्राइजेज सुरु गरेका लक्ष्मणबाबुले चितवन कोई कम्पनीमार्फत फेवा बा“ध, चितवन सिचाइँ आयोजना, गण्डकी अञ्चल अस्पताल, विजयपुर–बेगनास सिचाइँ आयोजना, नारायणी सिचाइँ आयोजना, पूmलबारी होटल, हेटौंडा डिजेल प्लान्ट, मणिपाल मेडिकल कलेज, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (आन्तरिक टर्मिनल) लगायतका सयौं परियोजना सम्पन्न गरेका थिए । अहिले चितवन कोई समूहअन्तर्गत चितवन मिल्क, मनकामना दर्शन प्रालि, नेपाल रोपवे प्रालि, चितवन कन्स्ट्रक्सन, सगरमाथा पावर, नेपाल रोपवे सिस्टम, आरबी इन्टरप्राइजेजलगायतका संस्था सञ्चालनमा छन् ।

त्यस्तै बैकिङ तथा वित्तीय कारोबारमा पनि यो समूह अगाडि बढिसकेको छ । प्रारम्भिक १ अर्ब रुपैयाा चुक्ता पुँजीमा सञ्चालित मनकामना डेभलपमेन्ट बैक चितवन कोई समूह र थप चार सेयर सदस्यले संयुक्त रूपमा सञ्चालन गरेका छन् । साथै, यो समूहअन्र्तगत  मनकामन डेभलपर्स प्रालिमार्फत रियल स्टेट व्यवसायका साथै चीनको सिनो हाइड्रो कर्पोरेसनको सहकार्यमा सगरमाथा पावर कम्पनीले ५० मेगावाटको माथिल्लो मस्र्याङदी विद्युत आयोजना सञ्चालन भइरहेको छ । 

चितवन कोईले पोखराको लेकसाइडबाट विश्व शान्ति स्तूपासम्म, दोलखाको कालिञ्चोक र भारतको सिक्किममा समेत केबुलकार सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ ।

‘बिरामी भएर घरबाट लाँदा फर्केर आउँछु भनेका थिए । देशका विभिन्न ठाउँमा व्यवसाय विस्तार गर्ने योजना छ भन्दै केही दिनअघि योजना पनि सुनाएका थिए । अब ती योजना र सपनालाई छोराहरुले साथ दिनुपर्छ,’ विश्वबन्धु भन्छन् ।
यसमा पनि http://nagariknews.com/economy/corporate-banking/story/14179

No comments:

Post a Comment