Pages

Friday, February 21, 2014

यसरी सुरु भयो सार्ककै पहिलो उत्पादन रारा चाउचाउ

‘आरएआरए रारा, मिठो भन्छन् सारा’ रेडियो जिंगलमा यो विज्ञापन नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो चाउचाउ सार्ककै पहिलो नुडल्स हो । ०३९ सालमा स्थापित हिमश्री नुडल्स उद्योगले उत्पादन गरेको रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगमा उस्तै छ ।
पोखरामा तिब्बती चाउचाउ (सिन्के) बनाएर खाने चलन भर्खर बढेको थियो । सिन्के चाउचाउ पोखरामा बनाएर बिक्री पनि सुरु हुन थाल्यो । तर, पोखरामा आउने बेलायतीले खाने चाउचाउ फरक थियो । पोखरामा आउने बेलायतीको संगतमा रहेका सूर्यबहादुर केसी त्यहीँबाट चाउचाउ उत्पादनको अवधारणा बनाएको बताउँछन् । “त्यो बेला फणिन्द्रमान श्रेष्ठसँग मिलेर रारा चाउचाउ उत्पादन भयो,” उनले भने ।
रारा उत्पादनका लागि श्रेष्ठको पनि उत्तिकै योगदान रहेको पोखराका पाका व्यवसायी गणेशबहादुर श्रेष्ठ बताउँछन् । दार्जिलिङका साहभक्त पोखरामा आएको बेला झिलिंगा रोटी बनाएको देखेर सिन्के चाउचाउ बनाउन सुरु गरेको श्रेष्ठले बताए । पछि ७ हजारमा चाइनिज मेसिन लिएर व्यावसायिक रूपमै सिन्के चाउचाउ पोखरामा उत्पादन भएको बताउँछन् उनी । “यो उत्पादन पोखरामा २० को दशकमा सुरु भएको हो,” श्रेष्ठले भने ।
सुर्यबहादुर केसीसँग लेखक केसीको निवास पोखरामा
रारा चाउचाउ उत्पादनमा सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठबाहेक कृष्णप्रसाद शेरचन, सुशीलकुमार गोसलीसहित ३० जनाको समूह थियो । अहिले उद्योग सूर्यबहादुर केसीले मात्र हेर्छन् ।
चाउचाउ उत्पादन भएपछि पनि यसलाई त्यतिखेर उपभोक्ताले सहजै स्विकारेको अवस्था थिएन । विस्तारै खाजाको रूपमा चाउचाउले बजार लियो र पछि खानाकै रूपमा पनि चाउचाउ खाने चलन बढेको केसी बताउँछन् । रारा चाउचाउ उत्पादन भएपछि मात्र भारतमा म्यागी चाउचाउले उत्पादन थालेको केसीले बताए ।
राराले पोखरा र देशका विभिन्न सहरमा चाउचाउ पु¥याउन थालेपछि म्यागीले पनि पोखरामा चाउचाउ भित्र्याएको उनी बताउँछन् । “त्यसबेला हाम्रो बजार रणनीति आक्रमक थिएन,” उनले भने, “बुटवल, काठमाडौं, धरान, विराटनगरलगायतका सहरमा वितरक राखेर सानो–सानो परिमाणमा चाउचाउ पठाउँथ्यौं ।”
विभिन्न ठाउँमा निःशुल्क खुवाउँदै, सिकाउँदै र बानी बसाल्दै चाउचाउ बिक्री गर्न थालेको र पछि प्लेट र कचौरा पनि निःशुल्क दिँदै चाउचाउको प्रवद्र्धन गरेको उनले बताए । चाउचाउलाई स्थापित गर्न धेरै मेहनत गरेको उनी बताउँछन् ।

“नेपालमा धानपछि गहुँको उत्पादन हुन्छ । नेपालको गहुँको प्रयोग गरेर गुणस्तर खाजाको रूपमा हामीले चाउचाउलाई बजार प्रवेश गरायौं । पछि चाउचाउको बजार नेपालभरि भयो अहिले त आधा दर्जनभन्दा बढी चाउचाउका उद्योग छन् । तिनले राज्यलाई अर्बौं कर तिरेका छन्,” उनले भने, “चाउचाउ उद्योगबाट मात्र भ्याट र ट्याक्स गरेर सरकारलाई ७ अर्ब राजस्व जान्छ ।”
रारा चाउचाउले सबैभन्दा बढी ०४५ सालदेखि ठूलो बजार लिएको थियो । “सुरुमा आठ घण्टामा २५ हजार पिस निस्कने चाउचाउ त्यतिखेर बेच्न पनि गाह्रो थियो । पछि पिकअप लिएपछि उत्पादन पनि बढायौं,” उनले भने ।
केसीका अनुसार ७० लाखको लगानीमा उद्योग सुरु भएको हो । “अहिले ४० करोडभन्दा बढी लगानी छ,” उनले भने । रारा चाउचाउले सफलता पाएपछि उद्योगले ०४९ सालमा दोस्रो उत्पादन आहा चाउचाउलाई बजारमा भित्र्याएको थियो । अहिले हिमश्रीको उत्पादन रारा र आहाबाहेक फेवा, ओहो, रूपा, एवन पनि छन् । रारा चाउचाउ उत्पादन भएको पाँच वर्षपछि वाइवाई चाउचाउ बजारमा आएको हो । र, त्यसपछि एमएम चाउचाउ आएको केसीले बताए ।
रारा चाउचाउ उत्पादन भएर बजार विस्तार भएपछि मुलुकका धेरै औद्योगिक घराना र समूह किन्न आएको केसी बताउँछन् । “धेरै ठाउँबाट धेरै अफर आयो तर हामीले दिएनौं,” उनले भने, “भारतको म्यागी चाउचाउको समूहले पनि हाम्रो उत्पादनको उद्योग खरिदका लागि पोखरामै आएर प्रस्ताव ग¥यो । धेरै सेयर मागेकाले हाम्रो अस्तित्व नै समाप्त हुन्छ भनेर दिएनौं । अहिले हामी निरन्तर उत्पादनमा छौं । मुलुकका कतिपय ठाउँमा अझै पनि रारा चाउचाउकै वर्चस्व छ । प्रतिस्पर्धी बजार भए पनि धेरै उपभोक्ताले हाम्रो उत्पादनलाई मन पराइदिएका छन् । यसमा हामी सन्तुष्ट छौं,” केसीले भने । रारा चाउचाउका लागि चौधरी ग्रुपले समेत प्रस्ताव गरेको थियो ।
ह्वाइट नुडल्समा रारा चाउचाउ अझै पनि अगाडि छ । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा रारा चाउचाउको मागमा अझै पनि कुनै कमी छैन । “पर्यटकले पनि रारा चाउचाउ नै मन पराउँछन्,” केसीले भने ।
पोखरामा खुलेका गण्डकी, एभरेष्ट र हिमश्री गाभिएर ०४७ सालमा हिमश्री उद्योग बन्यो । त्यसपछि हिमश्री उद्योगले आफ्ना उत्पादनमा झन् ध्यान दिएर बजार विस्तारमा लाग्यो । उद्योगले विभिन्न सामाजिक काममा पनि योगदान पुराएको छ । पोखराकै ठूलो फुटबल प्रतियोगितामा उद्योगले ठूलै साथ दिएको छ । पोखरामा हुने आहा रारा गोल्डकपका लागि १० वर्षसम्म कम्पनीले हरेक वर्ष १ करोड २० लाख प्रायोजन गर्ने गर्छ ।

No comments:

Post a Comment