Pages

Friday, February 14, 2014

स्वयम र श्रेयाको प्रेम कथा ।

‘दाई, तपाईसँग ११ को किताब छ,’ उसले पहिलो पटक मसँग बोल्दै प्रश्न गरी । भर्खर ११ को परिक्षा दिएर बसेको म, मैले देखिरहेको तर नबोलेको युवतीले प्रश्न गरेपछि अप्ठ्यारो मानी मानी अँ छ तर रिजल्ट नै आएको छैन भने । ‘मिल्छ भने दिनु न,’ उसको आग्रहले नरम बनायो मलाई, मैले हुन्छ म हेर्छु भनिहाले । उसले मेरो उत्तर खस्न नपाउँदै पुस्तक लिन म तपाईको घरमा आउँछु नि भनी । नाम उसको श्रेया ।



पहिलो औपचारिकभित्रको अनौपचारिक बार्तालाप थियो त्यो । म भर्खर बेनीबाट बागलुङ आएको १ बर्षजति भएको थियो । बेनीमा पढ्दा मलाई एकजना युवतीले पछ्याउने र हेरिरहने अवस्थामा म सोचमग्न भैरहेको थिए । बागलुङ आएपछि उसँग कहिलेकाँही फोनमा कुराकानी हुने गरेको थियो । मैले एकदिन कम्प्युटरमा उसको जन्मदिनको कार्ड डिजाइन गरिरहेको बेला, श्रेया आफैले त्यो कार्ड डिजाइन गर्न सहयोग गरेकी थिइन ।
बेनीको युवतीको नाम सुनयना थियो । सुनयनाले मसँग नजिक हुन हरसम्भव प्रयास गरेको अवस्थामा म एसएलसी सकेर बेनीबाट बागलुङ जानुपरेको थियो । त्यसैले उसले मलाई मन पराई या पराइन त्यो रहस्य नै बन्यो । तर, लाग्थ्यो फोन गरिरहने, गिफ्ट पठाइरहने र म कालिपुलबाट स्नुकर खेलेर आउँदा उसले त्यही बाटो पर्ने उसको घरको झ्यालबाट मैनबत्ती बालेर हेरिरहने अवस्थाले मलाई रोमाञ्चित र जिज्ञासु बनाएको थियो । बागलुङ आएपछि करिब करिब टाढा जस्तै भइयो ।
साँच्चै एकदिन राजविन दाइ जसले मलाई माया गरेर भाइ भएपनि साथी जस्तै बनाउनुभएको थियो । उसँग नै श्रेया मेरो घरमा आई, संयोग पनि कस्तो घरमा कोही थिएनन् । कालो चिया बनाएर दिए मैले । उसले चियामा नुन धेरै भएछ भने पछि झस्के तर ठट्टा रहेछ । खासै ठट्टा गर्ने बानी छ जस्तो लागेको थिएन मलाई श्रेयाको तर उसको त्यो ठट्यौली बानीले आकर्षित गरायो । नजिक बनायो । साथी बनियो । भन्नुपर्दा, बागलुङ आएपछिको मेरो नजिकको पहिलो केटी साथी । अरु केटी साथी नभएको होइन घर नै बागलुङमा भएपछि मेरो बाल्यकाल बागलुङमा नै बितेको थियो । केही समय पढ्नका लागि बेनी गएको थिएँ म । पछि फेरी फर्केर बागलुङ नै आएँ । त्यसैले सानैका केही साथी र पछि बन्दै गरेको साथीहरु थपिदै थिए । त्यसैमा नजिक भएर थपिइकी थिइ, श्रेया ।
श्रेयाले पुस्तकहरु लगेर गै । उसले पुस्तक मात्र कहाँ लगी र । अलिकती मेरो मन पनि लगि । अलिकती मुटु पनि लगी । उसको र मेरो घर मुस्किलले १२ मिनेटको फरकमा थिए होला तर पनि अब कहिले भेट हुन्छ भन्ने लाग्यो मलाई । म राजविन दाईको घरमा जान्थे । त्यहाँ कम्प्युटर थियो । हामीले मिलेर एउटा पत्रिका निकालेका थियौं । आर्टिकल, न्यूज त्यही बनाउने काम हुन्थे । श्रेयाको घर पनि उसकै घर अगाडी थियो । त्यसैले उससँग भेट हुन्थ्यो ।
श्रेया, राजविन दाईकोमा आईरहने गर्थी, आर्टिकल पढ्नमा र लेख्नमा पनि उसको रुचि थियो तर उ अँग्रेजीमा मन पराउँथी । ‘ए, तपाई’ । यसपाली उसले दाई भनिन । मैले मौका छोपिहाले, स्वयम, मेरो नाम । स्वयम भन्दा हुन्छ । ए । म श्रेया हैं । यहाँ आएर बल्ल परिचय भयो ।
श्रेयाको बानीव्योहोरा, चालचलनले मलाई लोभ्याइराखेको थियो । उसँगको आकर्षण बढ्यो या प्रेम भयो । म जान्दिन थिए तर उसँग नजिक हुन, कुरा गर्न भने मन लागिरहन्थ्यो । श्रेयालाई मन पराउने मेरा साथीहरु पनि रहेछन् पछि थाहा भयो । रविन, शैलेन्द्र उनीहरुको छुट्टाछुट्टै भेटमा श्रेयाको कुरा गरेका मैले सुने पनि । तर, रविन र शैलेन्द्रसँग श्रेयाको भेट भएको थिएन् । म दोधारमा परेको थिए । मैले अब के गर्ने ?
श्रेया अमृत बोर्डिङमा ११ मा पढ्थी म आदर्श बोर्डिङ १२ मा । विहानको ६ बजे हामी धवलागिरि चोकमा भेट हुन्थ्यौं । योजनाअनुसार होइन । दुबैको कलेज जाने बाटोमा त्यो क्रस चोक थियो । टाइमिङ मिल्थ्यो या मिलायौं थाहा भएन् तर त्यस्तो भेट नियमित हुन थाल्यो । कहिलेकाही पहिलो पिरियड हापेर कफी खाने क्रम पनि बढ्न थाल्यो । कफी खाने मेरो बानी अभ्यस्त भएको त्यही बेलादेखी नै हो । मैले कलेजबाट उसको कलेजमा फोन गर्ने, कुरा गर्ने क्रम पनि बढि नै रह्यो ।
श्रेयाप्रति रविन अलि सिरियस हुन थाल्यो । उसले मलाई नै फोन गर्ने लगायो । मैले फोन पनि गरे । भने पनि । तर, श्रेया उ प्रति इच्छुक भइन् । कारण । भेटेको थिइन । र, भेट्ने इच्छा पनि गरिन् । श्रेयाले बरु मलाई नै ग्रिन सिंग्नल दिन थाली ।
पुसको महिना चिसो त थियो नै । निशान मम रेष्टुरेण्ट जहाँ मैले उसलाई बोलाए । ऊ आइ पनि । मैले भूमिका बाँध्न नखोजी भनिदिए । ‘मलाई तिमीप्रति प्रेम भएजस्तो छ, होइन, प्रेम नै गर्न थालेछु ।’ उसले मैले सोचेको छैन, अहिले सम्म साथी नै सम्झेको छु भनेर बाहिरी । म यो जवाफ मेरो पक्षमा थियो थिएन, भेउ पाइन् । ममा ज्यादा खुल्दुली पनि भएन । किनकी उ नरिसाइ गएकी थिइ । अर्काे महिना माघ ११ गते हामी एउटा क्लबको भेलामा हिमाल होटलमा थियौं । मैले मेरो सवालको जवाफ खोइ भने । ऊ लजाई, भ¥याङ ओर्लि । म एकछिन ट्वाँ नै परे । अलि तल गएर भित्तामा मैले रोके । के हो ? भन न । ‘भन्नुपर्छ र तर मलाई धेरै थाहा छैन’ भनेपछि प्रेमको शुरुआत भएको आभास मिल्यो ।
त्यस यताका दिन हामी भेट्ने, सांगितिक, साहित्यिक कार्यक्रममा जाने साथीहरुको जन्मदिनमा जाने क्रम बढ्यो तर बागलुङ सानो ठाउँ भएकाले प्रेमकै लागि डेटिङ गरिएन् । बेला बेलामा उसले मलाई हाम्रो कास्ट नमिल्ने कुरा सम्झाउँथी । म पनि झस्किन्थे । नेवार र बाहुन । ओहो सम्भव छैन । मलाई लागिरहन्थ्यो । तर, हामी दुबैले विवाहको बारेमा सोचेका थिएनौं । मेरो परिवारमा अन्तरजातिय दाइपछि बर्जित नै थियो । परिवार चाहन्थ्यो बाहुन केटी नै । प्रेममा द्धन्द्धात्मक दृश्य नाच्न थाल्यो । फिल्मको पर्दामा देखिएजस्तै ।
यो विचमा हामी एक अर्काेको घरमा आउने जाने । परिवारसँग नजिक हुने क्रम पनि भयो । मैले १२ को परिक्षा नदिएपछि अर्काे बर्ष सँगै १२ को परिक्षा दिइयो । पास पनि भइयो । अब विविएस पढ्ने क्रममा संगै भइयो । महेन्द्र बहुमुखी क्याम्पस । हाम्रो यात्राको नयाँ विन्दु । विहानको विविएसको पढाईले हाम्रो प्रेमलाई प्रगाढ बनाउन थुप्रै सहयोग गर्यो भन्नुपर्छ । साथीहरु अनिता, कमला, आभा, डोलेन्द्र चिया खान संगै हुन्थ्यौं । हामी एउटै बेञ्चमा बस्ने गथ्र्याैं ।
श्रेयाले मलाई पर्ने सबै दुखमा प्रेमिकाको रुपमा साथ दिइनै रही । मेरो जीवनमा घटेका ठूला ठूला घटनामा उसले साथ नछोडेपछि म उसको सबैभन्दा ठूलो फ्यान बने । विविएस सकेर म काठमाडौं आउँदा उ बागलुङको वित्तिय संस्थामा काम गर्थी । यता मैले काठमाडौंमा पत्रकारिताको नयाँ अध्याय शुरु गरेको थिए ।
प्रेममा परेको १० बर्ष पुरा भएको थियो । मेरो घरमा पनि विवाहको लागि कुरा हुने, उसलाई पनि केटाहरु माग्न आउने क्रम बढ्न थाल्यो । मैले घरमा कुरा राखे तर सम्भव भएन् । आमाको इच्छालाई मैले कसरी इन्कार गर्ने सक्थे । मेरो सबथोक । आमा नै । तर, मैले श्रेयालाई धोका दिन पनि सक्दिन थिए । मैले आमालाई पटक पटक भनिरहे आमाले पटकपटक इन्कार गर्नुभयो । मैले रुदै आमालाई भन्दा आमाले रुदै हुन्न समेत भन्नुभयो । मैले धेरैपटक भनेपछि तिम्रो इच्छा गर म केही महिनाको लागि इण्डिया जाँदै छु भन्नु भयो ।
श्रेया, को सरुवा भयो काठमाडौं । अब उ काठमाडौं आउने भई । उ बाहिर कोठामा बस्ने, म बाहिर कोठामा बस्ने । कसरी ? प्रश्न जन्मदै । तनाब बढ्दै गयो । उसको काठमाडौं आगमन भयो । केही दिन साथी अफियासँग बसेर अफिस जान थाली । तर, कहिलेसम्म यसरी ? एकदिन त एक हुनुछ । अनि निर्णय भयो माघ ११ गते । ११ बर्षपछि माघ ११ गते एक भयौं । उसको केही पारिवारिक सदस्य र केही मेरा पारिवारिक सदस्यको जमघटमा । आमालाई टेलिफोनमा जानकारी दियौं । अब उहाँको प्रतिक्षा छ, आएपछिको प्रतिक्रियाको लागि ।
क्रमश.....

No comments:

Post a Comment