Pages

Monday, October 17, 2016

कला कलेक्टर

दरबारमार्गको बाटोमा निकै रफ्तारमा गुडिरहेका हुन्छन् गाडीहरू । हतारमै हुन्छन् मान्छेहरू । पछिल्लो समय त झन् दरबारमार्ग ‘ब्रान्डेडमार्ग’का रूपमा ‘डेभलप’ भइरहेको छ । यही ठाउँमा छ, नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य कार्यालय ।
तर, बैंकबाहिरबाट हतारिँदै हातमा क्यास र चेक बोकेर भित्र छिर्नेहरूमा अचानक त्यो हतारो हराउन थाल्छ । बैंकको भित्तामा रहेका पेन्टिङमा मान्छेको मन बहलाउन थालिहाल्छ । सायद, हतारमा मान्छेले पेन्टिङको गहन अर्थ बुझ्न थाल्छ ।
मानिसको हतारोपनलाई एकैछिन भए पनि अल्मल्याउन र काउन्टरको ‘टेलर’बाहिर भुलाउन मात्र बैंकका भित्तामा ती पेन्टिङ टाँगिएका होइनन् । यी त बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको सोखका उपज हुन् ।
बैंकलाई आवरणमा बैंकजस्तो होइन, आर्ट ग्यालरीजस्तो बनाइदिएको छ पाण्डेको सोखले । ‘टेलर’मा पुग्न पालो पर्खिरहेकाहरू ती पेन्टिङमा हेर्छन् र हराउँछन् एउटा छुट्टै संसारमा ।

त्यस्तो छुट्टै संसारमा बैंकका ‘ग्राहक’ पु-याउन पाण्डेको पेन्टिङप्रतिको ‘लहड’ प्रमुख कारक हो । यो लहड नभए पैसाको बिटाबिटैको कारोबार गर्ने बैंक पेन्टिङ ‘संग्रहालय’जस्तो देखिने थिएन ।
तर, पाण्डेको हिजो जन्मिएको सोखका कारण यस्तो भएको होइन । यसका लागि उनले जति समय दिएका छन्, त्योभन्दा धेरै ‘लगानी’ गरिसकेका छन् । र, समय र लगानीको यो सम्मिश्रण पाण्डेमा २० वर्षअघिबाट सुरु भएको हो ।
‘मलाई आर्ट्सले तानिहाल्छ,’ उनी भन्छन्, ‘२० वर्ष भइसक्यो, मैले यसरी पेन्टिङमा मन डुलाउन थालेको ।’
यो फरक पाटो हो, पाण्डेको २० वर्षे यो यात्राले उनको मन बुझाउन कति सहयोग गरेको छ ? केचाहिँ सत्य हो भने यसले नेपाली कलाकर्मीलाई चाहिँ राम्रो गरिरहेको छ । ‘अब मेरो सोख मेरो लागि मात्र भएन, कलाकारहरूलाई यसले सहयोग पनि गरिरहेको छ,’ उनी थप्छन् ।
अरू बैंकरको जस्तै पाण्डेको दैनिकी हो– बिहान घरबाट अफिस आउनु, साँझ बैंकबाट घर फर्किनु । तर, पाण्डेको जीवनका बाटोहरूमा अनेक मोड छन्, उनले त्यही एउटै बाटोलाई सधैँ आफ्नो रुट बनाएनन् ।
‘सिद्धार्थ आर्ट ग्यालरीमा आउन–जान थालेपछि…,’ उनी रोकिन्छन् र विगतमा फर्किन्छन्, ‘…मेरो मनमा क्यानभासमा पोतिएका रङहरू पोतिन थाले ।’ यो रङ उनको मनमा यति गाढा भएर रह्यो कि उनले मन भिजाएको पेन्टिङ किनेरै फर्किन थाले ।
बिस्तारै यो उनको ‘ह्याबिट’ बन्यो । कतिसम्म भने उनी विदेश सयर गर्दा पनि त्यहाँका आर्ट ग्यालरी पुग्न थाले, कलाबारे बुझ्न थाले । अनि त्यहीबीचमा बुझे, ‘अरू देशमा पेन्टिङको महत्व अतुलनीय छ, हाम्रोमा कला बुझ्न अझै बाँकी छ ।’
दरबारमार्गको त्यही कोलाहलबाट अघि बढ्दै केही दिनअघि म पाण्डेको कार्यालयमा पुगेको थिएँ । त्यहाँ शान्त थिए, पाण्डे र सशक्त अर्थ दिएर शान्तिभावमा झुन्डिइरहेका थिए भित्ताका पेन्टिङहरू ।
कुराकानी सुरु भयो । अब पाण्डे स्थिर भएनन् । उनी जुरुक्क उठे र पेन्टिङनजिकै पुगेर त्यसको महत्व दर्शाउन थाले । कोठाको मात्र होइन, पेन्टिङबारे कुरा गर्दै पाण्डे यति उत्साहित भए कि जुरुक्क उठेर बाहिर प्यासेजको पेन्टिङबारे बुझाउन त्यतै लागे ।
कलाको गहन अर्थसँग खेलिरहेका यी बैंकरलाई पैसाको महत्व झन् बढी थाहा हुँदो हो । पैसासँगको ‘उठबस’ गरिरहेका पाण्डेले पेन्टिङमा कति खर्च गरिरहेका छन् त ?
यो विषयमा पाण्डे बोल्न चाहँदैनन् । किन पनि भने उनलाई थाहा छ, पेन्टिङको मूल्य ‘अमूल्य’ हुन्छ । त्यसैले उनी भन्छन्, ‘मसँग पेन्टिङ पाँच सयभन्दा बढी छन्, तर तिनको मूल्यको मसँग ठ्याक्कै हिसाब छैन ।’
किनकि, मुक्तिसिंह थापाले ६ महिना लगाएर बनाएको पेन्टिङदेखि ७ वर्षसम्म लगाएर बनाइएको पेन्टिङसम्म थापाले भित्तामा झुन्ड्याएका छन् र दैनिक ती पेन्टिङसामुन्ने पुग्दा उनी विशेष अनुभूति ‘फिल’ गर्छन् ।
कलालाई पैसासँग तुलना गर्न चाहँदैनन् पाण्डे । ‘कला र पैसाको तुलना हुँदैन,’ उनी फ्याट्टै भन्छन्, मानौ, उनीसँग यसको रेडिमेड जवाफ छ, ‘मैले कुन पेन्टिङलाई कतिमा किने भन्ने कुरा कहिल्यै भन्दिनँ, सायद जीवनको अन्त्यसम्म पनि ।’
तर, अभिव्यक्त नगरे पनि पेन्टिङको खरिदसँग जोडिएका विशेष सम्झना उनको दिमागमा ताजै छन् । फरक के भने ती सम्झना शब्दमा अभिव्यक्त गर्न पाण्डेलाई ‘दबाब’ दिनुपर्छ । हाम्रो यो विशेष ‘अनुरोध’मा पनि उनी पग्लिए, मानौ कुनै क्यानभासमा पोतिन ठीक पारिएको रङ हुन् उनी ।
‘४० लाखसम्म खर्च गरेको छु,’ उनी अब यो मूल्यभन्दा झस्किन्छन्,, ‘त्यतिवेला फ्याट्टै किनियो, अहिले पनि त्यसले तरंगित पारिरहन्छ ।’ खासमा एक कलाकारले बनाएको यो पेन्टिङ जापानका एक व्यक्तिले किन्दै थिए । नेपालमा बनेको कला विदेशमा जाओस् भन्ने चाहेनन् पाण्डेले ।
‘मैले ती कलाकारलाई भनेँ– यो विदेशमा पठाउने होइन,’ उनलाई अहिले पनि त्यतिवेलाको घटना सम्झना छ, ‘एक जापानीले ६५ लाखमा त्यो किन्न लागेका रहेछन् । ती कलाकारलाई किस्ताबन्दीमा पेमेन्ट हुँदै थियो । मैले ४० लाख दिएँ, पेन्टिङ ल्याएँ ।’
झुन्डिन त त्यो पेन्टिङ एउटा भित्तामा झुन्डिएको छ, तर अहिले त्यहाँ पुग्दा पाण्डे आफूलाई भित्ताअगाडि भएको सोच्दैनन्, फरक संसारमा पुग्छन् ।
त्यसो त खरिद–बिक्रीमा चासो राख्ने भएको भए वा पेन्टिङको कारोबार गर्ने भएको भए पाण्डेले २ वर्षपछि त्यो पेन्टिङ २ करोडमा बेच्न सक्थे । तर, उनले यसमा चासो दिएनन् ।
‘कलाको पैसासँग तुलना हुँदैन र सोखलाई रकमले स्याटिसफाइ गर्न सक्दैन ।’
४० लाखको त्यो पेन्टिङ विशिष्ट भएर मात्र होइन, घरमा श्रीमतीसँग परेको ‘ठाकठुक’का कारण पनि पाण्डेको स्मरणमा आइरहन्छ ।
‘४० लाख तिरेर पेन्टिङ ?’
‘त्यति पैसाले घरमा कति थोक किन्न सकिन्थ्यो ?’
श्रीमतीका यस्ता प्रश्न त्यतिवेला पाण्डेको मस्तिष्कमा केही दिनसम्म घुमिरहे । तर, मनमा त्यही पेन्टिङले वास ग-यो, जुन उनले नकिनेको भए बिदेसिने थियो । त्यो पेन्टिङको छाप कति गहिरो थियो भने उनले दुई करोडको अफरलाई एकै झड्कामा इन्कार गरिदिएका थिए ।

तर, हचुवामा पेन्टिङ खरिद गर्दैनन् पाण्डे । एउटा पेन्टिङसँग इतिहास जोडिएको हुन्छ, समय जोडिएको हुन्छ । आफूले पैसा खर्चिनुअघि ती विषयमा सोधखोज गर्छन् उनी । ‘कतैबाट चोरेर कसैले ल्याएको पनि हुन सक्छ नि !,’ पाण्डे सचेत छन् ।
यसको अर्थ पाण्डे कलाकारको नाम हेरेर मात्र पेन्टिङ किन्छन् भन्ने पनि होइन । किनकि उनलाई कलाकारको नाम होइन, काम (पेन्टिङ) मन पर्छ ।
‘कला त कला नै हो, सबै सुन्दर हुन्छन्,’ उनी भन्छन्, ‘एउटा कला जसरी अमूर्त हुन्छ, त्यस्तै, एउटा कलाकारको नाम लिनु पनि अमूर्त कुरा हो ।’
त्यसैले, उनले कलाकारको नाम लिएनन् । लिनकै लागि उनलाई सबैभन्दा सजिलो थियो, अगाडिको पेन्टिङ हेर्नु र त्यहाँ भएको हस्ताक्षरबाट कलाकारको नाम भनिदिनु ।
‘सुरेन्द्र’ उनको अगाडि जुन पेन्टिङ थियो, त्यसमा भएको हस्ताक्षरको नामलाई भने पाण्डेले ।
तर, उनीसँग कलाकार सुरेन्द्रका बुबा र हजुरबुबाका पनि पेन्टिङ छन् । आनन्दमुनि, सिद्धीमुनिका पेन्टिङ पनि छन् ।
ढुंगा पिनेर, घोलेर रंग निकालेको त्यसमा सुनलाई पनि पिसेर मिश्रण गरेको चित्र देखाउँदै उनले भने, ‘ती पेन्टिङको रङ त एक हजार वर्षसम्म पनि जाँदैन, यसले मनमा पनि नमेटिने छाप बनाउँछ ।’
धेरै पुरानादेखि लिएर उनीसँग अहिले कार्यालय र घरमा लैनसिंह बाङ्देल, किरण मानन्धर, दुर्गा बराल, लक्ष्मण श्रेष्ठ, उमाशंकर, सुनिता राना, मनुजबाबु मिश्र, वासु शशि, योगनलगायतका पेन्टिङ छन् ।
र, छन् तीसँग जोडिएका रमाइला घटना पनि ।
एकपटक उनी मनुजबाबुको पुस्तक पढेर उनलाई भेट्न घरमै पुगे ।
मनुजबाबु भेट्न आउनेसँग खुलेर कुरा गर्छन् । पाण्डेसँग पनि गरे– बाबु खासमा को हौ ?
पाण्डेले बुबाको नाम (सरदार भीमबहादुर पाण्डे) जोडे र आफूलाई चिनाए । त्यसपछि बोलेनन्, मिश्र । सरासर भित्री कोठामा गए । एउटा प्याड लिएर बाहिर आए । त्यसमा एउटा पानामा थियो, पृथ्वीबहादुर पाण्डेका बुबाको चित्र । सँगै थियो, मनुजबाबु र पाण्डेका बुबाको हस्ताक्षर ।
त्यही दिन उनले त्यो चित्र ल्याए । र, कार्यकक्षमा राखे । त्यही चित्रसँग छ उनका बुबाको अर्को चित्र पनि । जुन एक चिनियाँ कलाकारले बनाएका हुन् । ‘त्यतिवेला बुबा चीनमा वाणिज्य सेक्रेटरी हुनुहुन्थ्यो,’ पाण्डे भन्छन् ।
पेन्टिङ किन्दाको अर्को घटना पनि उनी भुल्दैनन् ।
बिदा मनाउन उनी बर्मा पुगे । अरू घुमघाममा जस्तै त्यहाँ पनि पेन्टिङ वर्कसपमा पुगे । एक बर्मेली कलाकारको पेन्टिङले उनको मन जित्यो । पेन्टिङ प्याक भयो । पैसा तिर्न पाण्डेले कार्ड निकाले । तर, यही कुराले फसाद् पारिदियो । ती कलाकारले भने, ‘म कार्डबाट पेमेन्ट लिन्नँ ।’ पाण्डेसँग क्यास थिएन ।
उनी अलमलमा परे ।
पाण्डेको मन जित्ने पेन्टिङ बनाएका ती कलाकारले फेरि पाण्डेको मन जिते । उनले भने, ‘तपाईं गौतम बुद्धको देशबाट आएको मान्छे, अहिले लैजानू, नेपाल पुगेपछि पैसा पठाइदिए हुन्छ ।’
पाण्डे गद्गद् हुनुपर्ने दुई कारण भए– पेन्टिङ उनीसँगै नेपाल आउने भयो र ठूलै रकममा पनि बर्मेली कलाकारले उनलाई विश्वास गरिदिए।
नेपाल आउनेबित्तिकै पाण्डेले ती कलाकारलाई पैसा पठाए ।
त्यसैले बैंकर पाण्डे अब यही एउटा परिचयमा सीमित छैनन् । उनले कलालाई आत्मसात् गरेका छन् र त्यसलाई जीवनभर साथ दिन तयार छन् ।
के पाण्डेको मन बैंक र पेन्टिङमा मात्र सीमित छ त ?
‘होइन,’ उनी भन्छन्, ‘म सम्पदा संरक्षणमा पनि लागिरहेको छु ।’
काठमाडौं र आसपासको क्षेत्रमा कल्चरल हेरिटेजको रिस्टोरेसनमा उनी काम गरिरहेका छन् । यो अभियानमा उनलाई साथीहरूको मात्र होइन, श्रीमतीको पनि साथ छ । त्यसका लागि ‘काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट’ स्थापना नै भएको छ । यसको मुख्य उद्देश्य हो, हाम्रा सम्पदाको संरक्षण गर्नु, नयाँ पुस्तालाई यही अभियानमा सहभागी गराउनु र जनचेतना फैलाउनु ।
उनी सम्पदा संरक्षणमा किन चिन्तित छन् भने नेपालका बहुमूल्य यस्ता संरक्षण संस्था विदेशीले मात्र बनाइरहेका छन् ।
त्यसमाथि २०७२ साल वैशाख १२ गतेले यसमा लाग्न उनलाई बढी झकझक्याएको छ । ‘त्यो दिनको जस्तै अरू भूकम्प आए भने नेपालका सम्पदा बाँकी नै नरहने भए,’ उनी भन्छन्, ‘अब हामी नलागे को लाग्ने ?’ पाण्डेको टिमले अहिलेसम्म सानाठूला गरी ५६ सम्पदाका भवन बनाइसकेको छ ।
यसका लागि पाण्डे एक्लै पनि लागेका छैनन् । उनले प्रधानमन्त्रीलाई पनि भेटे, र प्रतिबद्धता जनाए, ‘म ५० वटा मन्दिर मर्मतसम्भार गर्न तयार छु ।’ त्यसका लािग कति पैसा लाग्छ भन्नेसँग पाण्डेलाई त्यति ठूलो सरोकार छैन ।
‘यो मन हो,’ उनी भन्छन्, ‘मनले चाह्यो भने मूल्यले ठूलो सरोकार राख्दैन । म युवा व्यवसायीसँग मिलेर यो काम गर्न तयार छु ।’
उनी लामो समय सरकारको रेस्पोन्स कुरिरहे । तर, सरकारले खासै चासो दिएन ।
‘के सरकारको बेवास्ताले पाण्डेको मन मा-यो ?’
‘छैन,’ उनी भन्छन्, ‘म काम गर्न तयार नै छु ।’
त्यसो त, पाण्डेको आर्ट कलेक्सन पनि नेपालीका लागि एउटा विशेष सम्पदा नै हो । यसका लागि पनि त उनले योजना बनाएका होलान् ?
‘हो, त्यसका लागि छाया सेन्टरमा म्युजियम राख्ने योजना बनाएको छु,’ उनी भन्छन्, ‘त्यो व्यावसायिक सेन्टर हो, तर त्यहाँ पेन्टिङकै लागि पाँच हजार स्वाक्यर फिट छुट्याइसकेको छु ।’
अब छाया सेन्टर एउटा क्यानभास हुनेछ, जहाँ पाण्डेको मनमा छाप छोडेका पेन्टिङमा फोकस्ड लाइटको ‘छाया’ पर्नेछ 
Via : (http://www.enayapatrika.com/2016/09/92108)
तस्बिर : ज्ञानेन्द्र कार्की

No comments:

Post a Comment