Pages

Wednesday, October 19, 2016

फुटबलसँग प्रेम गल्फसँग विवाह

आजभोलि उद्योगी-व्यवसायी प्रदीपकुमार श्रेष्ठ प्रत्येक पल नाफा-घाटाको हरहिसाब गरिरहेका हुन्छन् । नगरून् पनि किन, हरहिसाब नै उनको अभिन्न अंग हो । तर, श्रेष्ठलाई लाग्छ, यो धेरै पछि उनको शरीरमा पलाएको अंग हो । किनभने स्कुले जीवनमा श्रेष्ठ ‘कक्षामा सरले हिसाब पढाइरहँदा’ पनि अंकमा ध्यान दिन्थेनन् । उनी त फुटबल ग्राउन्डमा लङ सट र पेनाल्टी किकबारे सोचिरहेका हुन्थे ।
कापीमा अंकगणितका फमुर्ला लेखिरहँदा उनी सेन्ट्रल हाफका पास सम्झिरहन्थे । ‘मन हरर उडेर मैदान पुग्थ्यो,’ त्यो क्षण अहिले पनि सम्झन्छन् श्रेष्ठ, ‘अब त फुटबलको मैदान साँघुरो भएको छ, गल्फ कोर्समा मन रमाउन थालेको छ ।’पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठको खेलमैदान मात्र फराकिलो भएको होइन, व्यवसायमा पनि उनी झन्झन् फैलिँदै छन् । जसरी ‘फास्ट खेल’ फुटबलबाट उनको मन र समय अहिले ‘प्यासोनियट खेल’ गल्फमा रमाइरहेको छ, त्यसरी नै उनी व्यवसायमा पनि ‘लङ रेस’ सोचिरहेका छन् ।
‘अब झन् म व्यवसायको क्षेत्र बढाउँदै छु,’ छिट्टै होटेल व्यवसायमा पनि ‘इन्ट्री’ मार्न लागेका यी व्यवसायी भन्छन्, ‘अनि खेलमा पनि रमाउँदै छु ।’

खेलप्रतिको श्रेष्ठको लगाव अहिलेको होइन । उनले सानैदेखि फुटबल फलो गरे, सानैदेखि फुटबल मैदानमा आफ्नो मन भुलाए । बरु व्यवसायमा उनले धेरै पछि आफ्नो चासो ‘गार्नर’ गरे । खेलकुदमा उनको यस्तो चासो बढ्नुको एउटै कारण थियो, घरको खेलकुद प्रेम । यसको अर्थ के होइन भने उनको परिवार पहिलेदेखि व्यवसायमा थिएन । तर, घरकै व्यापारलाई स्कुले जीवनमा आफूमा समाहित गराएनन् श्रेष्ठले ।

काकाहरू पनि फुटबल खेल्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘सायद उहाँहरूबाट नै ममा खेलकुदको नशा लाग्यो, म फुटबल मैदानमा रमाउन थालेँ ।’ जहाँ मन रमाउँछ, त्यहाँ मानिसले पक्कै सफलता चुम्छ । फरक के भने यो सफलता कहिले छिटो हात पर्छ त कहिले यसको प्रतीक्षा लामो समय गर्नुपर्छ । जे होस्, जेले मानिसको मन जित्छ, त्यसले प्रभावचाहिँ लामै समय पार्छ ।
इलामको फिक्कलमा टालोको बल खेलेका श्रेष्ठमा पनि फुटबलले लामै समय राज ग-यो । कतिसम्म भने दार्जिलिङको भिक्टोरिया ब्वायज स्कुल पुग्दा पनि श्रेष्ठले मैदानमा ‘सेन्ट्रल हाफ’मा आफ्नो रोल छाडेनन् । बरु भलिबल, बास्केटबल र क्रिकेटमा पनि मन भुलाए । तर, फुटबल जति यी अरू खेलमा उनी लामो समय चलेनन् ।
यस्तो सायद किन पनि भयो होला भने उनले दार्जिलिङको सानो परिधिमै किन नहोस्, आफूलाई फुटबलरको सूचीमा उभ्याइसकेका थिए । ‘१९८७ मा त टोलीको उपकप्तान भएरै मैदानमा उत्रिएँ,’ उनी सम्झिन्छन्, ‘मैदानमा सफलताको सपना देख्न थालिसकेको थिएँ ।’
तर, श्रेष्ठले यस्तो सपना देखेर के गर्नु ? उनको परिवारले यसलाई सुरुमा पत्याउनै सकेन । ‘म दुब्लाएको भनेर कसैले घरमा सुनाइदिएछ,’ श्रेष्ठ हाँस्छन्, ‘बुवा म दुब्लाएको सुनेर भेट्न दार्जिलिङ नै आउनुभयो ।’
त्यसपछि मैदानमा दौडिइरहेको फिट शरीर लिएर उच्च शिक्षाका लागि उनी काठमाडौं आए । अमृत साइन्स कलेजमा आइएस्सी पढ्न चाहन्थे उनी । तर, नाम निकाल्न सफल भएनन् । यसले फेरि उनलाई दार्जिलिङ नै फर्कायो ।
फुटबलमा ‘सानोतिनो स्टार’ खेलाडी बनिसकेका श्रेष्ठका शैक्षिक प्रमाणपत्र भने त्यति उम्दा थिएनन् । त्यसैले पनि दार्जिलिङको नर्थ पोइन्ट कलेजले भर्ना लिन आनाकानी ग-यो । ‘कसोकसो मेरो खेलकुदको सर्टिफिकेट उनीहरूले देखेछन्,’ श्रेष्ठ लामो सास लिन्छन्, ‘त्यसपछि कलेजले भर्ना लिने भयो ।’
‘त्यसपछि के भयो ?’ श्रेष्ठको वाक्य नसकिँदै यो प्रश्न निस्कियो ।
‘कलेज व्यवस्थापनले मलाई भर्ना लिने भयो,’ उनले फ्याट्टै भने, ‘बरु खेलकुदमा पनि ध्यान दिनू भन्यो ।’
श्रेष्ठलाई ‘के खोज्छस् काना आँखा’ भनेजस्तै भयो ।
‘होस्टेलको समयभन्दा दुई महिनाअगाडि नै मैले होस्टेलमा बस्न पाउने भएँ,’ उनले भने, ‘कलेजले तिमी खेलकुदमा राम्रो रहेछौ, होस्टेलमा बस र खेल्न थाल भनेपछि म खुसीले झन्डै उफ्रिएँ ।’
फुटबलमा राम्रो भएकै कारण श्रेष्ठले कलेजमा भर्ना पाए ।
त्यसपछि फुटबलमा श्रेष्ठका ‘गोल्डेन डेज’ सुरु भए । उनी कलेजको फुटबल टोलीको कप्तान भए । दार्जिलिङमा कलेज भर्सेज कलेज र क्लब भर्सेज क्लबबीच बारम्बार खेल भइरहन्थे । त्यसका लागि उनले विशेष तयारी गर्न थाले ।
कलेज फुटबल टिमका महत्वपूर्ण सदस्य भइसकेका उनलाई कलेजले नै ट्रेनिङमा पठाउन थाल्यो । फुटबलर बन्ने सपनाका लागि मनमा ताप बढाउँदै लगेका श्रेष्ठ क्लोज क्याम्पमा रहेर खेल्न थाले, गर्मीको कुनै परवाह नगरी ।यो हुटहुटीसँगै श्रेष्ठलाई जिम्मेवारी पनि बढ्दो थियो । ‘जसोदा कप हुँदै थियो,’ उनी विगतमा फर्किन्छन्, ‘त्यो क्षेत्रकै चर्चित प्रतियोगिता भएकाले कलेजले भनेको थियो– प्रतिष्ठाका लागि पनि यो कप जित्नू ।’ तर, विडम्बना, उनको परीक्षा पनि चलिरहेको थियो । मन मैदानमा राखेर परीक्षा हलमा कसरी बसून् श्रेष्ठ ?
‘३ घन्टाको परीक्षामा पनि मैले २ घन्टामात्र हलमा बिताएँ,’ उनी भन्छन्, ‘त्यहाँबाट मैदानमा भन्दा स्पिडमा दौडिएर म मैदान पुगिसकेको थिएँ ।’
सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका श्रेष्ठले त्यो परीक्षापछि भएको खेलमा राम्रो गरे । दार्जिलिङका फुटबल क्लब उनीप्रति आकर्षित भए । र, कलेज पढ्दै गरेका श्रेष्ठलाई दार्जिलिङका क्लबले ‘थोरबहुत’ खर्च पनि दिए ।
त्यसपछि दार्जिलिङमा श्रेष्ठलाई फुटबल मैदानमा चिन्न थालियो– पिल्लर श्रेष्ठ ।

तर, श्रेष्ठमात्र एक थिएनन्, जो मैदानमा चर्चामा थिए । उनका भाइले पनि उनको जस्तै ‘हाइट’ बनाइसकेका थिए ।
‘ऊ माउन्ट अमन स्कुलको क्याप्टेन भएर खेल्थ्यो,’ यो सम्झनाले श्रेष्ठको मुहार उज्यालो पार्छ, ‘ऊ र म विपक्षी टिमको क्याप्टन भएर मैदानमा हात मिलाएर पनि खेलेका छौँ ।’
तर, दार्जिलिङमा ‘ग्रुम’ गर्दै गरेका फुटबलर श्रेष्ठले थप अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयलाई रोजे । मास्टर्स पढ्न काठमाडौं आएका श्रेष्ठले दार्जिलिङ छाडे, फुटबलको नशाले भने उनलाई छाडेन ।
‘सायद त्यतिवेला मेरो प्रेम नै फुटबलसँग थियो,’ उनी भन्छन्, ‘टियुमा पनि म फुटबल टिमको क्याप्टेन भएँ । त्यो क्रेजले थियो, त्यो लभले थियो ।’
काठमाडौंमा फुटबल मैदानमा दौडिँदा श्रेष्ठले दार्जिलिङमा आफूले प्रहार गरेका मात्र होइन, झापाको डाइनामिक क्लबका खेल पनि सम्झिरहे । ‘डाइनामिकबाट खेल्दा हामीले एक वर्षमै १२÷१४ वटा खेल पनि जितेका थियौँ,’ अहिले पनि उनी त्यो वर्ष सम्झिरहन्छन् ।
त्यसो त श्रेष्ठसँग विगतका यस्ता सफलताका कथा मात्र सम्झानामा छैनन् । फुटबल करिअरको ‘सेकेन्ड हाफ’ श्रेष्ठका लागि दुःखदायी छ।
केही अघिसम्मको उनको उज्यालो अनुहार अब अँध्यारो हुन्छ, ‘काठमाडौं आइसकेपछि मैले अञ्चलस्तरीय खेलहरू मेची, कोशी टिमबाट पनि खेलेँ । राष्ट्रिय टिमका लागि क्लोज क्याम्पसम्म पुगेँ । तर, पढाइ मेरो बाधा बन्यो, म होल्ड भएँ ।’
पढाइ मात्र होइन, परिवार पनि उनी फुटबलमा लागोस् भन्ने चाहन्नथ्यो । ‘अब त अति भयो,’ परिवारले दिएको दबाब उनी सम्झिन्छन्, ‘परिवार चाहन्थ्यो, मैले व्यवसायमा ध्यान दिऊँ ।’
‘यसको अर्को कारण, त्यतिवेलासम्म व्यावसायिक रूपमा फुटबलको विकास नहुनु पनि हो,’ उनी भन्छन्, ‘मनमा फुटबलर बन्छु भन्ने आत्मबल त थियो, तर फुटबलबाटै कमाउन सक्छु भन्ने मलाई पनि लागेको थिएन ।’
त्यतिवेलाको यही आत्मबल हुनुपर्छ, अहिले पनि समयसमयमा फुटबल ग्राउन्डको कल्पनामा हराउँछन् श्रेष्ठ ।
त्यसो त अहिले उनलाई यही कल्पनामा सीमित हुनुको विकल्प पनि छैन । ‘मेरो खुट्टा दुख्न थाल्यो,’ उनी भन्छन्, ‘अनि म स्क्वासतिर मोडिनुपर्ने भयो ।’
खेलकुद मैदानले मोड लिएको थियो, श्रेष्ठको जीवनमा । तर, यसमा पनि उनले सोचेजति गर्न पाएनन् । ‘त्यसो त राष्ट्रिय स्तरसम्म खेलेँ,’ अझै पनि उनको अनुहारमा पहिलेको उज्यालो फर्किएको छैन, ‘हात दुख्न थाल्यो र डाक्टरले पनि मलाई गल्फ खेल्नू भन्ने सुझाब दिनुभयो ।’
दाहिने हातमा देखिएको समस्याले उनलाई स्क्वास कोर्टबाट गल्फ कोर्ससम्मको यात्रा तय गराइदियो ।
तर, श्रेष्ठलाई त्यसअघि गल्फ खेल्छु भन्ने नै थिएन । ‘एक्सिडेन्ट’ले उनलाई गल्फ कोर्समा पु-याएको हो । ‘पहिले त एयरपोर्ट छेउमा गल्फ खेलिरहेका मान्छे देख्दै मलाई मूर्खहरू खेलिरहेका छन् जस्तो लाग्थ्यो,’ उनी भन्छन् ।
यस्तो नलागोस् पनि किन, फुटबलको स्मृति बोकेर हिँडिरहेका श्रेष्ठले गल्फ बललाई अत्यन्त सानो देख्थे ।
तर, मन सधै“ कहाँ ठूला कुरामा मात्र भुल्छ र ? मन पराउनुमा कहाँ सानो–ठूलोको कुरा हुन्छ र ? मन बसिसकेपछि आकारमा सानो नै किन नहोस्, पूरै विश्व अटाउने मन पनि अकुपाई हुन्छ ।
फुटबल अटाइरहेको श्रेष्ठको मनमा पनि त्यही भयो, गल्फ बलले त्यो मनलाई ओगट्यो ।
‘अहिले त म फुटबललाई प्रेम गरेर गल्फबललाई विवाह गरेको मान्छे हुँ किजस्तो लाग्छ,’ श्रेष्ठ आँखा चिम्लिन्छन्, मानौँ गल्फ र फुटबलको सम्झनामा उनी जीवनको प्रेम सम्झिरहेका छन्, ‘समय भयो कि अब त म पनि गल्फ कोर्समा दौडिइहाल्छु ।’

बिदाको दिन पनि परिवारलाई भन्दा गल्फ मैदानलाई समय दिइरहेका श्रेष्ठ कतिपय देश गल्फकै कारण पुगिसकेका छन् ।
‘यो त मेरो जीवनको अभिन्न अंग भइसक्यो,’ उनीसँग तर्क छ, ‘माछालाई पानीजस्तै प्रदीपकुमारलाई अब गल्फ चाहिन्छ, योविना त म बाँच्नै सक्दिनँ ।’
त्यसो त गल्फले नै प्रदीपकुमारलाई व्यावसायिक रूपमा पनि फाइदा पुर्‍याएको छ । ‘कतिपय बिजनेस डिल पनि गल्फकै कोर्समा हुन्छ,’ श्रेष्ठले भने ।
एकातिर बिजनेस डिल हुन्छ त अर्कोतिर अन्तर्राष्ट्रिय गल्फ टुर्नामेन्टमा उनको सहभागिता पनि हुन्छ । ‘बिजनेस’मा राम्रो स्कोर गरिरहेका श्रेष्ठले गल्फमा पनि २५ भन्दा बढी ट्रफी जितिसकेका छन् ।
त्यसैले, श्रेष्ठको परिचय उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षमा मात्र सीमित छैन । उनीसँग नेपाल गल्फको अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
व्यवसायको ‘टेन्सन’ले श्रेष्ठको अनुहारमा तनावका रेखा देखिनुपर्ने हो । तर, ५५ वर्षे श्रेष्ठ अहिले पनि योङ देखिन्छन् । ‘यसको राज पनि मेरो खेलप्रेम हो,’ उनी भन्छन्, ‘१० वर्षदेखि अहिलेसम्म म कुनै न कुनै खेलमा लागिरहेको छु ।’
सायद, श्रेष्ठ जीवनभर यही ‘योङनेस’ कायम राख्न चाहन्छन् । भन्छन्, ‘हिँड्न सक्ने वेलासम्म म गल्फ खेलिरहेको हुनेछु ।’

No comments:

Post a Comment