Pages

Monday, October 17, 2016

एकांगी ‘कहर’ (समिक्षा)

तनहुँको भागर गाउँकी शोभाले साउदी अरबमा मृत्युदण्ड पाएको ठीक २ वर्ष भयो । त्यतिबेला अनलाइन र पत्रपत्रिकामा उनीबारे अनेकन समाचारहरू आए । त्यसमा केही फिचरहरू समावेश थिए । त्यस्तै फिचरमा कारुणिक र दुःखका शब्द उनेर पत्रकार जनकराज सापकोटाले शोभाको घटनासहित अन्य ७ जनाको विषयलाई ‘कहर’मा उतारेका छन् ।
शोभाजस्ता थुप्रै प्रतिनिधि पात्रको नियति केलाइएको ‘कहर’ एक साताअघि काठमाडौंमा विमोचन भयो । विदेशमा रहेका नेपाली कामदारको अवस्था, नेपालको पारिवारिक विखण्डन, मृत्यु, घाइतेदेखि लिएर सामाजिक प्रभावलाई जिल्ला–जिल्ला पुगेर लेखिएको पुस्तक वैदेशिक रोजगारमा चासो राख्नेलाई उपयोगी छ । तर, एक पाटोका लागि मात्र । ‘कहर’ विशुद्ध वैदेशिक रोजगारीले पारेको नकारात्मक पाटोमा मात्र लेखिएको छ । यो पुस्तकमा वैदेशिक रोजगारीले पारेका सकारात्मक प्रभावलाई छोइएको छैन ।
सामाजिक विषयमा लेखिएको पुस्तक भए पनि शैली औपन्यासिक छ । प्रत्येक कथामा लेखकले आफ्ना कुरा समावेश गरेका छन् । कतै आफ्नो आत्मकथा त कतै सहर र गाउँको बायोग्राफी छ पुस्तकमा । पीडाहरू ओकल्दै गर्दा पानाको पुछारमा सन्दर्भ राखिएका तथ्य, तथ्यांक र नीतिगत कुराहरू पनि समावेश छन्, जसले पात्रहरूका विषयमा लेखिएका कुरालाई पुष्टि गर्दै जान्छन् । यो सबैभन्दा राम्रो पक्ष हो ।
शीर्षक ‘फ्लाइट नं. एमएच १७०’ मा लेखकले गोरखाका सुरेन्द्र अधिकारीको कथा उतारेका छन् । कतार उड्न लाग्दा भेटिएका एक पात्र नुुवाकोटका तामाङ युवासँग थोरै कुराकानी गरेको स्मरणमा उनी त्यही युवालाई सम्झँदै गोरखा पुगेका छन् । पुस्तकको पहिलो विषयमा जुन शैली छ, अन्तिमसम्म यही शैली छ । अर्थात्, एउटासँग भेट हुन्छ अनि लेखक तिनैको अनुहार सम्झेर अर्काे पात्रको चर्चा गर्छन् । मुख्य पात्रसँगै अरु भेटिएका पात्र (जसलाई मुख्य रूपमा उठान गर्न जरुरी छैन)लाई सामान्य रूपमा व्याख्या गरिएको छ । सामान्य रूपमै व्याख्या गर्दा पनि त्यसको भाव भने छर्लंग हुन्छ । यो शैलीका कारण कुनै¬–कुनै पाठमा कुन मुख्य पात्र हो, कुन सहायक भन्ने नै अन्योल हुन्छ । यस्तो खालको लेखनी हालै बजारमा आएका कथा र उपन्यासमा यथेष्ट देखिन्छ ।
पुस्तकलाई लामो गराउन सहायक पात्र, आफ्नो अनुभव र गाउँ परिवेशको बढी नै चर्चा पुस्तकमा छ । कुनै–कुनै ठाउँमा अनावश्यक कुरा पनि उल्लेख भएको पाइन्छ । जस्तोः पहिलो कथामा गोर्खाली फौजको वीरताको कथा र पृथ्वीनारायण शाहको विषय आवश्यक लाग्दैनन् ।
‘कुशकी शोभा’ शीर्षकमा लेखिएको वृतान्तमा ग्रामीण परिवेशकै बोलीचाली छ । हुन त लेखकले पहाड पस्दा त्यतैको र मधेस छिर्दा उतैको भाषा प्रयोग गरेका छन् । ‘कुशकी शोभा’मा शोभा कसरी साउदी अरब पुगिन्, त्यहाँ उनले के अपराध गरिन् र किन मृत्युदण्ड दिइयो भन्ने उल्लेख छ । शोभाको परिवारलाई भेट्न जाँदा बाटोमा एक वृद्ध दम्पतीलाई भेटेर कुराकानी गर्दा वैदेशिक रोजगारले उनीहरूको परिवारमा पारेको बज्रपात पनि समेटिएको छ ।
लेखकले खाडी मुलुकमा रहेका तिलकुमारीका चार छोरा उल्लेख गरे पनि मलेसियामा एकको मृत्यु भएको भनेका छन् । खाडी मुलुक र मलेसिया फरक–फरक हुन् । खाडी मुलुकभित्र मलेसिया पर्दैन । यही पाठको सन्दर्भमा लेखकले व्यक्तिगत रूपमा विदेश जानेलाई अनौपचारिकको रूपमा व्याख्या गरेका छन् । जबकि व्यक्तिगत रूपमा पनि श्रमस्वीकृति लिएर विदेश काम गर्न जान सकिन्छ ।
‘कुशकी शोभा’मा लेखकले मानव तस्करी कसरी हुन्छ भनेर प्रष्ट रूपमा उल्लेख गरेका छैनन् । उनको जीवन रक्षाका लागि भएका पहल र राष्ट्रपतिसम्म पुगेको विषय पनि अटेका छैनन् ।
कथा अगाडि बढ्दै जाँदा हजुरआमा र शोभाका छोराबीचको संवाद सबैभन्दा कारुणिक छ । यो पढ्दा आँखा रसाउँछ । शोभालाई फसाउने दलाललाई के भयो ? भन्ने विषयमा उल्लेख छैन ।
‘सुशीला दिदी’मा आमा हराएको छोराको कथामा उनीसँगै गएकी तामाङ दिदीसँग सोधपुछ गर्ने ठाउँ थियो । यसमा सुशीला दिदीको उमेर नखुलेको हुनाले पनि केही खल्लो हुन्छ । बुर्का लगाएको तस्बिर खिच्दैमा धर्म नै परिवर्तन गराइन्छ भन्ने आधार स्पष्ट छैन ।
‘कुशल मंगल छैन’मा कुशलको कथाबाट भन्दा इर्साद अन्सारीको कथाबाट अगाडि बढेको भए राम्रो हुने आधारहरू थिए । किनकि, कुशलले अन्सारीको हत्या गरेका थिए ।
‘ब्लड मनी’ वा अपराधपछि जेलमा रहेका कामदारको विषयमा भावनात्मक कुराहरू बढी उल्लेख छन् । जबकि अपराध देशमा होस् या देशको भूगोलबाहिर– अपराध र त्यसको प्रकृतिका साथै दण्डका विषयमा चर्चा आवश्यक नै हुन्छ । जेलमा नै रहेका कुशलको भविष्यमाथि प्रश्न गर्दै यो कथा टुंगाइएको छ । यसमा ‘ब्लड मनी’ आकर्षित हो या होइन, उल्लेख गरिएको छैन ।
‘अस्थिर मनहरू’ शीर्षकमा लेखकका धेरै कुरा छन् । आत्मकथा शैलीमा उनले स्कुलदेखि पछिसम्मका कुरालाई उठान गरेका छन् । त्यसमा बालमनोविज्ञानको पाटो प्रशंसनीय छ । धेरै विषयमा चर्चा गरे पनि यसमा गंगाबहादुरको कथा मूल रूपमा उठाइएको छ, जो विदेश हुँदा छोरीले नेपालमा आत्महत्या गर्छिन् ।
‘महावीरको घरमा महाविपत्ति’ले मधेसको गरिबी राम्रोसँग चित्रण गरेको छ । गाउँको विकास योजनाको अवस्थादेखि लिएर विकासमा हुने भ्रष्टाचारलाई लेखकले राम्रोसँग प्रस्तुत गरेका छन् । यसमा मूल पात्र को हो भन्नेमा भने अन्योल छ । श्रीमान् विदेश हुँदा श्रीमती परपुरुषसँग लागेको र त्यसपछिको अवस्था यसमा छ ।
‘भगवान नैह सुनैछै’मा दुई जनाको कथा मिसिएजस्तो भएर कतिखेर कसको कथा आउँछ भन्ने अलमल हुन्छ । घाइते दुई जनाको क्षतिपूर्ति के भयो र लेखकले गर्न सक्ने पहलका विषयमा उल्लेख भएको छैन ।
‘कफिन हिँड्ने बाटो’ रामेछापकी मनिकालाई सम्झँदै लेखकले बागलुङ हरिचौरकी कृृष्णाकुमारीका बारेमा लेखेका छन् । यसमा उनले आफ्नै कथा पनि समेटेका छन् । उनको साहिँला हजुरबाको विषयमा धेरै शब्द खर्च गर्दा कथा लामो भएको छ ।
‘नियति निरन्तर’मा उनले युवाहरूको अवस्था, विदेश जाने प्रचलन, बिदेसिएका नेपालीको तथ्यांक, रेमिट्यान्सका विषयमा अंकसहित व्याख्या गरेका छन् । २३८ पृष्ठ लामो पुस्तकमा यही शीर्षकमा तथ्यांकीय जानकारी धेरै छन् । र, पुस्तक यही शैलीमा हुनुपथ्र्याे, जसले नीतिगत कुरामा बढी जोड दिएर सुधारका विषयमा मानक कायम गर्न सक्थ्यो ।
आप्रवासन र वैदेशिक रोजगारीका विषयमा कलम चलाउनेका लागि यो पुस्तक नौलो लाग्दैन । लेखकले रेमिट्यान्सको योगदानलाई पनि त्यति महत्व दिएका छैनन् ।
पुस्तकको आशय हो– वैदेशिक रोजगारीमा जानु खतरा हो, दुःखदायी हो, यसले राम्रो गर्दैन र त्यसबाट आउने आम्दानी पनि दिगो हुँदैन ।
संसारभर आप्रवासन र कामको खोजीमा एक देशदेखि अर्काे देश जाने चलन छ । तर, नेपाली कामदार खाडी र मलेसिया गएको विषयलाई उठाएर वैदेशिक रोजगारले राम्रो गर्दैन भन्नु एकांकी कुरा हो । नेपाली कामदार युरोप, जापानलगायत मुलुक पुगेर गरेको कामका विषयमा कतै उल्लेख छैन । जबकि सरकारले १२८ मुलुक गएर काम गर्ने पाउने गरी खुला गरेको छ ।
लेखकले यसअघि नै शोध गरेर ‘रेमिट्यान्सले मधेसमा पारेको प्रभाव’ लेखिसकेको हुँदा ‘कहर’मा कम्तीमा रेमिट्यान्सको बहुआयामिक पक्ष उल्लेख गर्नुपथ्र्याे ।
सरकारले विभिन्न मुलुकसँग गर्न नसकेको श्रमसम्झौता र सरकारको अनुपस्थितिका विषयमा पुस्तक बोलेको छैन । पुस्तकले के दिशानिर्देश गर्छ भन्ने नै थाहा लाग्दैन । विदेशमा कामदार अलपत्र पर्दा, मृत्यु भएर अस्पतालमा हुँदा, अवैधानिक भएर जेलमा बस्दा सरकारले के गर्नुपर्छ, के भूमिका हुनुपर्छ भन्ने कुरामा पुस्तकले बोल्दैन ।
वैदेशिक रोजगारीमा गएर घरेलु महिला कामदारहरू गर्भवती भई नेपाल फर्कदा जन्मेका बच्चाहरूका कारुणिक कथा लेखनीका विषय हुन सक्थे तर त्यहाँसम्म पुगिएको छैन । घरेलु महिला कामदारको अवस्थाका विषयमा निकै कम बोलिएको छ । जबकि घरेलु महिला कामदारको विषयमा समस्या भएकै कारण लेखकले पुस्तक लेख्दै गर्दा सरकारले ६ देशमा जान प्रतिबन्ध लगाएको थियो ।
रेमिट्यान्सको योगदान के हो भन्ने कुरा हालै हामीले बेहोरेको भूकम्प र नाकाबन्दीका बेला थाहा भएकै हो । रेमिट्यान्सकै कारण हाम्रो अर्थतन्त्र संकुचन भएको थिएन । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर न्यून भए पनि अर्थतन्त्रलाई ठूलो असर गरेन । व्यापारघाटा साँघुरिँदै विदेशी विनिमय सञ्चिति बढेर १८ महिनासम्मको आयात धान्न सक्ने बलियो अवस्थामा पुगेको थियो । तरलता संकट भएन । त्यही रेमिट्यान्सले वस्तुको मूल्य ५ गुणा वृद्धि हुँदा सन्तुलन गरेको कुरालाई कसरी भुल्ने ? रेमिट्यान्सकै कारण रंगीन जस्तापाताले छाइएका घर, घरभित्रका टिभी, बोर्डिङ स्कुल, स्वास्थ्यमा पहुँचलाई त राम्रो भन्न सकिन्थ्यो !
पुस्तकसँगै वितरण गरिएको बुकमार्कमा उल्लेख गरिएको तथ्यांकले अन्योल सिर्जना गरेको छ । आर्थिक वर्ष ०७२÷७३ को जेठ मसान्तसम्म ११ लाख ५० हजार ६९८ नेपाली वैदेशिक रोजगारीमा गएको भनिएको छ । यो आर्थिक वर्षको जेठसम्ममा विदेश भएकाको तथ्यांक हो या सो अवधिमा नेपालबाट गएकाहरूको तथ्यांक भन्ने खुलेको छैन । ती जे भए पनि दुबै गलत तथ्यांक हुन् । जेठसम्म ३ लाख ८६ हजार ३१५ नेपालीले कामको सिलसिलामा देश छाडेका थिए । ०५० देखि ०७२÷७३ जेठसम्ममा ४१ लाख ९२ हजार ५१० नेपाली विदेश गएका थिए । सोही अवधिमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ७०४ मृतकका आफन्तलाई क्षतिपूर्ति र ११४ जना अंगभंग भएकालाई राहत दिएको तथ्यांक छ । तर, बुकमार्कमा ७५० को मृत्यु र १२० को अंगभंग भएको तथ्यांक राखिएको छ ।
लेखकको प्रस्तुति मन छुने खालको छ । उपन्यास पढ्ने पाठकले यो पुस्तक उपन्यासकै र कथा पढ्ने पाठकले कथाकै रूपमा लिन्छन् । जिल्ला–जिल्ला घुमेर, पहाडदेखि मधेस छिर्न ठूलो मेहनत चाहिन्छ । लेखकले यो पुस्तकमा असाध्यै धेरै मेहनत गरेका छन् । तर, पत्रकारिता गरिरहेका सापकोटाले सुधारका विषयमा के गर्न सकिन्थ्यो भन्ने नीतिगत विषयलाई बढी जोड दिएको भए राम्रो हुन्थ्यो ।
Via (http://baahrakhari.com/news-details/2589/2016-08-06)
 

No comments:

Post a Comment